कांग्रेस सुधार्ने सूत्र
लामो समय सत्ता सञ्चालनको अभ्यासमा सहभागी नेपाली कांग्रेस निर्वाचनबाटै प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ । पछिल्लो निर्वाचनको जनमत एकातर्फ वाम गठबन्धनको स्थिर सरकारको अपेक्षा हो भने अर्कोतर्फ कांग्रेसलाई सत्ताबाट विमुखीकरणको आशा पनि हो । जनमतले कांग्रेसको सत्तामा निरन्तरता नस्विकारेको स्पष्ट अभिव्यक्ति थियो त्यो । निर्वाचन परिणामलाई लिएर कांग्रेसभित्र अहिले भइरहेको बहस त्यसैले अपेक्षित नै हो । झन्डै एक महिनादेखि चलिरहेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा युवा नेता गगन थापालगायतले प्रस्तुत गरेको प्रस्तावलाई कांग्रेस पुनर्जागरणमा सकारात्मक थालनीका रूपमा लिन सकिन्छ ।
सात सालमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेसँगै नेपाली राजनीतिमा एक शक्तिका रूपमा कांग्रेस स्थापित भयो । नेपाली राजनीतिमा वैयक्तिक स्वतन्त्रता र प्रजातान्त्रिक विचारधाराको सदावहार पक्षधर हुनु उसको विशेषता हो । बिर्ता प्रथाको उन्मूलन गरेर भूमि स्वामित्वमा परिवर्तनसँगै उसले आर्थिक संरचनामा परिवर्तनको सुरुवात गरेको थियो । लामो समय दस्ताबेजहरूमा समाजवादी अर्थनीतिको वकालत गरे पनि बहुदल स्थापनासँगै आर्थिक उदारीकरण थालेर उसले आपूmलाई उदारवादी प्रजातान्त्रिक पार्टीको लस्करमा उभ्याएको थियो । वर्तमान नेपाली समाजका अर्थराजनीतिक विशेषता र जटिलताका कारक त्यसैले कांग्रेस नै हो । यस अर्थमा आजका सबैखाले आर्थिक परिणतिको जिम्मेवारमध्ये एक ऊ पनि हो ।
सशस्त्र संघर्षको सुुरुवात, त्यसको निराकरणमा असफल भूमिका र आन्तरिक कलहका कारण कांग्रेसको विकल्पको खोजीलाई प्रतिगमनविरोधी आन्दोलनले जोगाइदियो । प्रतिगमनविरोधी आन्दोलनमा गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसको अग्रसरताले उसलाई फेरि एकपटक शक्ति राजनीतिको एक धु्रव बनाइदियो । पुराना परिणतिहरूलाई नेपाली जनसमाजले एकपटक बिर्सिदियो र सम्मानजनक पुनः अभ्यासको मौका दियो । शान्ति प्रक्रियामा कांग्रेसको अग्रसरताको सम्मान त्यसैको उदाहरण थियो । दोस्रो संविधानसभामा उसले प्राप्त गरेको मत पनि कांग्रेसको नेतृत्वदायी अनुभवप्रतिको जनविश्वास थियो । त्यसलगत्तै भएको निर्वाचनमा कांग्रेसको अस्वाभाविक पराजयलाई वाम गठबन्धनको सहउत्पादन मान्नु कारकहरूको खोजी र निदानबाट भाग्ने असफल र अनुचित प्रयास मात्र हो ।
गगन थापा नेतृत्वमा प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, रामकृष्ण यादव र जीवन परियारले मंगलबार राखेको विशेष महाधिवेशन कांग्रेसकै सुधारका लागि आवश्यक छ । लामो इतिहाससँगै जटिलता हुन्छन् भन्ने यथार्थलाई कांग्रेसको वर्तमान नेतृत्वले बिर्सनु हुँदैन । यसै पनि प्रजातन्त्रको सदावहार पक्षधर कांग्रेसभित्र भने संरचनात्मक रूपमै लोकतान्त्रिक चरित्रमा कमी भएको आम टिप्पणी पूर्णतः गलत होइन । वैयक्तिक स्वतन्त्रता प्रजातन्त्रको पहिलो सर्त अवश्य हो, तर अन्तिम होइन ।
चियापसलमा विचार राख्न पाउने छुटले पार्टीलाई अद्यावधिक बनाउन सक्दैन । पार्टीमा आन्तरिक प्रजातन्त्रको अर्थ हो, सबै मतको सुनुवाइ, जायज मागको सम्बोधन र बहुमतको कदर । विडम्बना लामो इतिहास बोकेको कांग्रेसमा यी सबैको कमी देखिन्छ । इतिहासको पगरी बोकेर राजनीतिक रंगमञ्चमा विराजमान कांग्रेस जति गजक्क देखिन्छ, त्यति प्रभावकारी छैन । आफ्नो उल्लेखनीय इतिहासलाई सदाबहार बनाउने हो भने उसका निम्ति पुनर्संरचना मात्र अन्तिम र एउटै विकल्प हो । त्यसनिम्ति विशेष महाधिवेशन आवश्यक छ ।
सांगठनिक पुनर्संरचना मात्र पूर्ण निदान हुन सक्दैन । कांग्रेसको जीर्ण अवस्था उसको संरचनाको दोष मात्र होइन । पार्टीभित्र नयाँ नेतृत्व स्थापना र युवा नेतालाई अवसरको कमी छ । त्योभन्दा ठूलो कमी छ, विचारमा नयाँपनको । विभिन्न राजनीतिक मोडमा कांग्रेसले लिएका निर्णयको निर्मम आत्मसमीक्षा नगरी पार्टीको पुनर्संरचना हुन सक्दैन । निकट विगतमा उसले लिएका केही अडान विवादास्पद मात्र होइन, सच्याउन आवश्यक पनि छन् । विडम्बना, सिंगो देश संघीय संरचनामा जाँदा पनि कांग्रेसको संरचना अझै पुरानै अवस्थामा छ । यसले पनि उसको पुनर्संरचनामा ढिलाइ भइसकेको देखिन्छ । आफ्ना विगत निर्णयहरूको आत्मसमीक्षा, अवलम्बन गरिएका नीतिको पुनर्मूल्यांकन र पार्टी संरचनाको पुनर्रचना गर्ने गरी विशेष महाधिवेशन बोलाउनु नै कांग्रेसको पुनर्जीवनका लागि अत्यावश्यक छ ।