ग्यास उद्योग गुणस्तरको दायरामा आउन तयार
काठमाडौं : नेपालमा सञ्चालनमा रहेका देशभरका ग्यास उद्योग गुणस्तरको दायरामा आउन तयार भएका छन्। नेपालमा ५८ वटा ग्यास रिफिलिङ बोटलिङ प्लान्ट छन्। यी प्लान्टले खाना पकाउने एलपीजी ग्यासका सिलिन्डर भर्दै आएका छन्।
गुणस्तर तथा नापतौल विभागले उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसन’ मापदण्डअनुसार देशैभरका यस्ता बोटलिङ प्लान्टलाई दायरामा आउन कडाइ गरेको थियो। यो निर्देशनलाई ग्यास बोटलिङ प्लान्ट उद्यागीले अटेरी गरेपछि विभागले नेपाल गुणस्तर ५३३ प्रमाणपत्र नलिने उद्योगीको पीडीओ (प्रडक्ट डिलेभरी अडर) रोक्न आयल निगमलाई पत्राचार गरेको थियो। आयल निगमले पीडीओमा कडाइ गरेपछि र विभागले आफैले उद्योगमा पुगेर अनुगमन गरी उद्योग नै बन्द गर्ने अल्टिमेटम दिएपछि उद्योग मापदण्डको दायराभित्र आउन तयार भएका हुन्।
विभागका महानिर्देशक विश्ववावु पुडासैनीका अनुसार देशभर सञ्चालनमा रहेका ५८ वटै उद्योग नेपाल गुणस्तर ५३३ प्रमाणपत्र लिन आवेदन दिइसकेका छन्। ‘अटेरी गरेर एक वर्ष बसे पनि पछिल्लो समयमा उद्योगमै अनुगमन गरी पीडीओ रोक्का र उत्पादनमै रोक लगाएपछि सबै उद्योगी दायरामा आउन तयार भएका हुन्’, महानिर्देशक पुडासैनीले भने,‘नेपाल गुणस्तर लिन मापदण्डका आधारमा प्रक्रिया पूरा गरेका उद्योगलाई प्रमाणपत्र उपलब्ध गराउँछौं।’
नेपालमा ५८ वटा ग्यास रिफिलिङ बोटलिङ प्लान्ट छन्।
उनका अनुसार आवेदन दिएका मध्ये प्रक्रिया पूरा गरेका १५ वटा उद्योगलाई विभागले नेपाल गुणस्तर ५३३ को प्रमाणपत्र उपलब्ध गराउने तयारी अन्तिम चरणमा पु¥याएको छ। विभागका अनुसार ५८ वटा ग्यास उद्योगमध्ये हालसम्म सात वटा उद्योगले मात्रै गुणस्तरसम्बन्धी प्रमाणपत्र प्राप्त गरेका छन्। थप १५ वटा लिने क्रममा छन्। यसैगरी थप आठ वटा उद्योगको प्रमाणीकरण गर्ने काम सम्पन्न भएको छ। केही महिनाअघि वीरगन्जस्थित सुपर ग्यास उद्योगका भएको बिष्फोट र जनधनको क्षतिलाई हेर्दै विभागले गुणस्तर प्रमाणपत्र लिन उद्योगीलाई कडाइ गरेको हो।
ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ। गुणस्तरसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न विभागले उद्योगीको हकमा ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसन’ मापदण्ड कार्यान्वयनमा ल्याएको छ। विभागले गत वर्षको कात्तिक २९ गते राजपत्रमा प्रकाशित गरेर गत वर्षको माघ २९ गतेदेखि मापदण्ड पालनागर्न सम्पूर्ण ग्यास रिफिलिङ बोटलिङ प्लान्टलाई निर्देशन दिएको थियो। तर, मापदण्ड कार्यान्वयनमा आएको झण्डै एक वर्षपछि उद्योगी यो प्रमाणपत्र लिन सकारात्मक भएका हुन्।
गुणस्तर विभागले ग्यास भर्ने सिलिन्डर र उद्योगको पूर्वाधारसम्बन्धी आधार हेर्ने गरेको छ। गुणस्तर ऐनले तोकेअनुसार सिलिन्डर प्रयोग नभएको पाइए कारबाही हुन्छ। मापदण्डअनुसार सिलिन्डर बाक्लोपना हुनुपर्ने, फुटरिङ मजवुत हुनुपर्ने, नियमित रूपमा सिलिन्डरको हाइड्रोलिक टेस्ट भएको हुनुपर्ने र हाइड्रोलिक टेस्ट गर्ने उपकरणको अवस्था पूर्ण रूपमा सही हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी बोटलिङ प्लान्टमा काम गर्ने कामदार उपकरण सञ्चालनमा दक्षता प्राप्त गरेको हुनुपर्ने, सिलिन्डरमा सेफ्टी क्याप लगाएको हुनुपर्ने, सिलिन्डर कुच्चिएको र लेदो नजमेको हुनुपर्ने व्यवस्था मापदण्डमा छ।