'प्रदेश २ संवेदनशील'

'प्रदेश २ संवेदनशील'

बारा : सिमरा गृहमन्त्री रामबहादुर थापाले प्रदेश २ संवेदनशील प्रदेश भएकाले आवश्यक सुरक्षा रणनीति बनाउन गृह मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

प्रदेश २ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बुधबार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री बादलले अन्य प्रदेशको तुलनामा यहाँको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले त्यसैअनुसार सुरक्षा योजना बनाउँदै अघि बढ्ने बताए । खुला सीमा, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या प्रदेश २ मा बढी देखिने गरेको भन्दै गृहमन्त्री थापाले सुरक्षा गोष्ठीको सुरुवात पनि यसै प्रदेशबाट गरिएको बताए । गोष्ठीले यहाँको अपराध नियन्त्रण, सुरक्षा र सेवा विषयमा महत्वपूर्ण कार्ययोजनासहित निष्कर्ष निकाल्ने बताए ।

‘यो गोष्ठी महाविद्यालय पनि हो, यहाँ हामी नयाँ परिवेशमा उत्पन्न भएका सुरक्षा विषयमा गहन छलफल गर्छौं र नयाँ कार्ययोजनासहित सुरक्षा रणनीतिको निष्कर्ष निकाल्छौं’, गृहमन्त्री थापाले भने, ‘जसबाट जनताको सुरक्षा र सेवालाई सहज बनाउन मद्दत गर्छ ।’

देशका सात वटै प्रदेशमा गरिने सुरक्षा गोष्ठीको सुरुवात प्रदेश २ बाट गर्नुमा राजनीतिक अस्थिरता एउटा कारण रहेको गृहमन्त्री थापाले बताए । यहाँ राजनीतिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री थापाले यसै गोष्ठीले त्यस विषयमा पनि छलफल गर्ने उल्लेख गरे । ‘राजनीतिक स्थायित्व पहिलो आवश्यकता हो, हामी त्यसलाई प्राथमिकतामा राखेर छलफल गर्छौं’, गृहमन्त्री थापाले भने ।

गृहमन्त्री थापाले देशको समग्र सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न र जनताले पाउने सेवालाई मध्यनजर गर्दै गृहमन्त्रालयले भर्खरै ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेको बताए । गृहमन्त्रालयमातहत रहेका सबै निकायलाई काम गर्न कार्ययोजनाले दिशानिर्देश गर्ने उनको भनाइ थियो । ‘हामीले ८२ बुँदे कार्ययोजना प्रतिपादन गरेका छौं’, यो कार्ययोजना देशभरका सुरक्षा र अन्य निकायलाई पठाउने तयारीमा छौं’, गृहमन्त्री थापाले भने, ‘कार्ययोजनाले देखाएको बाटोमा अघि बढ्न सकियो भने सामाजिक सुशासन कायम हुनेछ ।’

गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश निमित्त प्रमुख हरि फुँयाल, प्रदेश दुई आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललगायत सुरक्षा निकायका उच्च अधिकारी, आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलगायत उपस्थिति रहेको थियो ।

यसअघि सिमरा विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आयोजना गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री बादलले भूमिगत भएर तराईमा आपराधिक गतिविधि गर्न कसैले उन्मुक्ति नपाउने बताएका छन् ।

पछिल्लो समय तराईमा अपराधका घटना बढ्न थालेको भन्दै गृहमन्त्री बादलले यस विषयमा सरकार गम्भीर रहेको बताए । ‘भूमिगत समूहको नाममा अपराध गर्नेलाई मूलधारमा आउन आग्रह गर्छौं । सरकारको आग्रह नमाने हामी कडा रूपमा अघि बढ्छौं,’ उनले भने ।

गृहमन्त्री थापाले यातायात क्षेत्रको सेन्डिकेट हटाउने निर्णयबाट सरकार पछि नहट्ने पनि स्पष्ट पारेका छन् । सिमरा आएका गृहमन्त्री बादलले जितपुर–सिमरा उपमहानगरपालिका वडा नं ३ मा पाँच महिनाअघि भएको कृषक दम्पती हत्याको अनुसन्धान भइरहेको र त्यसमा सरकार गम्भीर रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.