कबिता: न उठ्यो धरहरा, न उठ्यौँ हामी
त्यो मद्यान्हको समय
म माथिको आकाश यसरी रिंगेथ्यो
मान्छेहरु जो जहाँ थिए
त्यहीँ चित्कार थियो, विलाप थियो
त्यो अचानकको त्रासदीले
बाँच्ने आशा गुमाएपछि
सम्झिनुपर्ने सप्पैलाई, सम्झेर एकैचोटि
ईश्वरको शरण परेका मान्छेहरु ।
हे भगवान ! त्यो समय कहिल्यै नदोहोरियोस्
त्यही कहाली लाग्दो समयका परिणाम थिए
हजारौं मान्छे निलिएका खबर
हाम्रो इतिहास, हाम्रो वैभव
हाम्रो सम्भता ठुन्किएर धुलिसात भएका खबर
यस्ता खबर मिनेट मिनेटमा दोहोरिइरहे
भत्किएका बस्तीवाट,आफन्तहरु दुर्गन्ध बनेर
नाकका पोरा हुँदै भित्रैसम्म सर्सराइरहे
बस्ती मसानघाट जस्तै बन्यो
समय मुर्दाशान्ति जस्तै बन्यो ।।
छानो छोडेर मान्छेहरु आकाशमुनि भेला भए
सुते एउटै सिरानीमा र खाए सँगै चाउचाउ र चिउरा
सडकमा गुड्ने सवारी होउन् वा आकाशमा उडने विमान
पीडा ओसारपसार गरेको देखिन्थे ।
घरिघरि घच्घचाइरहन्थ्यो भूँइचालोले
र पनि सम्हालिनु त थियो नै ।
उठनु त थियो नै, त्यो पीडाको पहाडबाट
त्यसैले
भेटेजति अवशेष खोजेर, पुरिएका आफन्तको
सामुहिक संस्कार गर्यौं,
शोक मनाउनेसम्म बाँकी नरहेकाहरुको लागि
दियो बाल्यौँ बसन्तपुरमा र कामना गर्यौं चीर शान्तिको ।
हिमाल पहाड झर्यो
तराई पहाड उक्ल्यो
देश आशोचमा परेको बेला, एउटै गाँठो परेर
प्रण गर्यौं ।
अझै अग्लो धरहरा उचाल्ने
तर समय बित्दै जाँदा
त्यो गाँठो पनि फुस्किँदै गयो ।
सरकार पनि सम्झेझैं गरेरै बिर्सिंदै गयो ।।
अहिले त्रिपालमुनिको संसार अध्याँरै छ
घर संसार गुमाएका अनाथको विचल्ली उस्तै छ
न उठ्यो धरहरा, न उठ्न सक्यौ हामी ।।
भिडियो कबिता