'गिरिजा कम्युनिस्ट थिए, बीपीले कांग्रेस बनाए'
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला कुनै बेला कम्युनिस्ट रहेको दाबी गरेका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाली कांग्रेसबाटै ५ पटक प्रधानमन्त्री बनेका गिरिजाको कम्युनिस्ट इतिहासबारे बोलेका हुन् ।
ओलीले गिरिजालई कम्युनिस्ट भनेको कार्यक्रम थियो, ललितपुरको सानेपामा आयोजित १९ औँ मनमोहन स्मृति दिवस । ओलीका अनुसार गिरिजा वि.सं. १९९९ देखि वि.सं. २००४ सालसम्म कम्युनिस्ट थिए ।
'मनमोहनको संगतबाट गिरिजा पाँच वर्षसम्म कम्युनिस्ट भएका थिए', मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै ओलीले भने, 'गैरकम्युनिस्टलाई पक्राउ गरेको भ्रममा पारेर दाजु बीपी कोइरालालाले गिरिजालाई कांग्रेसमा लगेका थिए ।'
ओलीले यसअघि पनि कांग्रेका संस्थापक नेताहरु कम्युनिस्ट भएको र हुन खोजेको बताउँदै आएका थिए । कांग्रेस चुनावमा पराजित भएपछि ओलीले बीपी र गणेशमान बाँचिरहेका भए एमालेमा आइसक्थे भन्दै ब्यंग्य गरेका थिए ।
ओलीले नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहनको योगदान अतुलनीय रहेको पनि बताए । 'कम्युनिस्ट पार्टी स्थापनाको सात वर्ष पहिले नै मनमोहन भारतको जेलमा बस्नु भएको थियो', ओलीले भने, 'मनमोहन कहिल्यै बिचलित हुनुभएन । उहाँ एक अविचलित आस्था र निरन्तरताको धरहरा हुनुहुन्थ्यो ।'
प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने पनि जिकिर गरे ।
केटाकेटीले नबुझेर ब्यानर च्याते
मनमोहन स्मृति दिवस कार्यक्रममा बोल्दै एमाले अध्यक्ष समेत रहेकमा ओलीले वैशाख ९ गते कम्युनिस्ट एकताका दिन राष्ट्रिय सभामा व्यान च्यात्ने कामलाई केटाकेटीपनको संज्ञा दिए ।
'कम्युनिस्ट एकता दिवसमा केटाकेटीहरुले नबुझेर ब्यानर च्याते । हामीले पनि उनीहरुलाई बुझाउन सकेनौँ', ओलीले भने, 'कम्युनिस्ट नेता तस्बिरसहितको ब्यानर च्यात्नु केटाकेटीपन हो, यसमा हाम्रो पनि कमजोरी रह्यो ।'
मञ्चको ब्यानर च्यात्नेहरुप्रति कटाक्ष गर्दै ओलीले पञ्चायतका बेलाको कम्युनिस्ट राजनीतिको स्मरण गराए ।
एकता चाँडै
प्रम ओलीले वामपन्थी पार्टीलाई एकै ठाउँ ल्याउने मनमोहन अधिकारीको सपना अब पुरा हुन लागेको दाबी गरे । 'एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा छिट्टै हुन्छ', उनले भने, 'यसो हुन सकेमा एउटै कम्युनिस्ट देख्ने मनमोहनको सपना पनि पुरा हुन्छ ।'