निर्माण पूरा नहुँदै उद्घाटन गर्न हतार
भक्तपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण हुँदै गरेको भक्तपुरस्थित नेपाल व्यवसायिक प्रतिष्ठानको बिहीबार उद्घाटन गरेका छन्।
शिक्षामन्त्री पोखरेलले जर्मनस्थित सुलरहिल्फे फर नेपाल संस्थाको दुई करोड आर्थिक सहयोगमा भक्तपुर नगरपालिका १० नगान्चामा बन्दै गरेको एकेडेमीको भवन उद्घाटन गरेका हुन्।
भवन निर्माण गर्न युवा संरक्षणकर्मी रवीन्द्र पुरी अध्यक्ष रहेको आरपी फाउन्डेसनले करिब पाँच करोड मूल्य पर्ने एक रोपनी जग्गा उपलब्ध गराएको थियो।
सोही जग्गामा बनेको पाँचतले भवनको तल्लो चार तलाका प्रत्येक तलामा चारवटा कोठा छन्। तर बिहीबार भवन उद्घाटन गर्न तेस्रो तलामा दुई कोठामात्रै तयार गरिएका थिए। बाँकी कोठा अपूर्ण हुँदाहुँदै शिक्षामन्त्री पोखरेलले नेपालका लागि जर्मनका राजदूत रोलान्ड सोफरलाई साक्षी राखी भवन उद्घाटन गरेका छन्।
उद्घाटन गर्न तयार गरिएका दुई कोठामध्ये एउटा कक्षाकोठा र अर्को इलेक्ट्रिसियनतर्फको ल्याब छन्। बाँकी कोठामा हाउस वायरिङ, प्लास्टरलगायत फिनिसिङको कार्य भइरहेको छ। ह्वाङ्गै कोठामा झ्याल ढोकामा खापासमेत राखिएका छैनन्। भवनमा छाना छाउनै बाँकी छ।
भवन उद्घाटन गर्दै शिक्षामन्त्री पोखरेलले परम्परागत शिक्षाबाट माथि हुने विज्ञान र प्रविधिमा आधारित शिक्षामार्फत मात्रै देशलाई समृद्धिको बाटोतर्फ लान सकिने बताए।
संघीय शिक्षा नीति र अनिवार्य शिक्षा नीति निर्माणमा मन्त्रालय लागिपरेको उनको भनाइ थियो।
‘अहिलेको शिक्षामा ७ प्रतिशतमात्रै प्राविधिक छ, जुन धेरै कम हो’, शिक्षामन्त्री पोखरेलले भने, ‘अब यसलाई परिवर्तन गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिन्छौं।’
उनले देशभर रहेका स्थानीय तहको आवश्यकता र पहिचानको आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षाको प्रत्याभू ितगर्दै बेरोजगारी समस्या हल गरिने सुनाए।
नेपालका लागि जर्मनका राजदूत सोफरले नेपाल र जर्मनको सम्बन्ध जनस्तरसम्म पुग्नुको परिणाम व्यवसायिक तथा प्राविधिक तालिम दिने एकेडेमीको भवन निर्माण रहेको बताए।
२०७१ साल जेठ १६ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले शिलान्यास गरेको उक्त भवनको अहिले पनि निर्माण कार्य जारी रहेको छ।
भवन निर्माण गर्न सहयोग गर्ने जर्मनी संस्थाले सन् २०१८ भित्र उक्त भवन पूरा गर्ने बताएको छ। संस्थाका अध्यक्ष जोग बहरले उक्त भवनका कक्षा कोठाको लागि आवश्यक फर्निचर र पाँचौं तलामा सभाकक्ष निर्माण गर्न जर्मनमा रहेका विभिन्न रोटरी क्लवहरुले सहयोग गर्ने भएको जानकारी दिए।
आरपी फाउण्डेसनका अध्यक्ष पुरीले उक्त भवनमा आउँदो भाद्र महिनादेखि नै सीटीईभीटीको सम्बन्धनमा इलेक्ट्रिसियन, प्लम्बिङ र काष्ठकलाको तालिम सुरु गर्ने जानकारी दिए। प्रतिष्ठानबाट वार्षिक दुईसय जना युवाहरुलाई व्यवसायिक तथा प्राविधिक सीप दिने उनको भनाइ थियो।