नेपाल फाइनलमा
काठमाडौं : आईटीएफ एसिया यू-१२ टिम टेनिस च्याम्पियनसिपअन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालको छात्र तथा छात्रा दुवै टोली फाइनलमा पुगे । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्रको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २-१ को सेटमा पराजित गर्यो ।
पहिलो सिंगल्समा नेपालका अकी जुवेन रावतले पाकिस्तानका मुहम्मद हुजैफा खानलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गरे । दोस्रो सिंगल्समा भने नेपाल पराजित भयो ।
पाकिस्तानका हमिद इस्ररले नेपालका आरभसम्राट हाडालाई ७-५, ६-७ (४), ६-० ले हराउँदै खेललाई १-१ को बराबरीमा ल्याएका थिए । डबल्समा अकी र आरभको जोडीले हमिद र हुजैफाको जोडीलाई ६-२, ६-२ को सिधा सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । फाइनलमा नेपालले भारतको सामना गर्नेछ । भारतले श्रीलंकालाई २-० ले निराश पार्यो ।
अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा सेमिफाइनलमा नेपालले श्रीलंकालाई २-० ले पराजित गर्यो । पहिलो सिंगल्समा नेपालकी अजा रेग्मीले श्रीलंकाकी रुभी राजाकरुणा लिउकेबन्दराको चुनौती ६-३, ३-६, ६-२ को सेटमा समाप्त पारिन् । दोस्रो सिंगल्समा नेपालकी शुभाङ्गीलक्ष्मी शाह श्रीलंकाकी हसली गजबविरुद्धको खेलमा ४-१ ले अगाडि रहेको अवस्थामा हसली रिटायर्ड हर्ट भएपछि शुभाङ्गी विजेता घोषित भएकी थिइन् । फाइनलमा नेपाली छात्रा टोलीले पनि भारत विरुद्ध नै प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा भारतले भुटानलाई २-० ले पाखा लगाएको थियो ।
छात्र तथा छात्रामा फाइनल पुग्ने चारै टोली कजाकिस्तानमा आगामी नोभेम्बरमा हुने आईटीएफ एसिया यू-१२ टिम टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । फाइनल शुक्रबार हुनेछ ।