नेपालको लक्ष्य तेस्रो स्थान
मिरपुर : उपाधि होडबाट बाहिरेको नेपालले एसियन भलिबल महासंघ (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थानका लागि शुक्रबार साबिक विजेता किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।उपाधिको योजनासहित बंगलादेश आएको नेपाली टोली बुधबार सेमिफाइनलमा तुर्कमेनिस्तानसँग २५-१४, २५-१८, २५-१९ को सोझो सेटमा पराजित भएको थियो । त्यसपछि नेपालले तेस्रो स्थानका लागि खेल्न लागेको हो । किर्गिस्तान भने आयोजक बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको थियो ।
शुक्रबार किर्गिस्तानलाई पराजित गर्न सकेमा नेपालको कांस्य पदक सुनिश्चित हुनेछ । अघिल्लो संस्करणमा पनि नेपालले कांस्य पदक जितेको थियो । नेपालले गत वर्ष माल्दिभ्समा भएको सेन्ट्रल जोन भलिबलमा कांस्य पदक जितेको थियो । उक्त पदक नै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले जितेको एक मात्र अन्तर्राष्ट्रिय पदक हो ।
जारी प्रतियोगिताको प्रदर्शन र यसअघि एकअर्काविरुद्धको नतिजालाई हेर्ने हो भने किर्गिस्तान नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । नेपाल समूह ए र किर्गिस्तान समूह बीको उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका थिए । समूह चरणको खेलमा किर्गिस्तानले तुर्कमेनिस्तान र उज्बेकिस्तान जस्तो बलियो टोलीविरुद्ध सशक्त प्रदर्शन गरेको छ । तुर्कमेनिस्तानविरुद्ध किर्गिस्तान निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । सेमिफाइनलमा नेपालले तुर्कमेनिस्तानसँग सहज सेटमै खेल गुमाउँदा किर्गिस्तानले भने बंगलादेशसँग पाँच सेट खेलेको थियो ।
नेपाली टोलीका कप्तान इम रानामगर र प्रशिक्षक जगदीश भट्ट अघिल्लो खेलको प्रदर्शनमा केही सुधार ल्याउने हो भने नेपाल जितका लायक रहेको बताउँछन् । कप्तान रानामगरले नेपाललाई जितका लागि रिसिभ र ब्लकिङमा सुधार ल्याउनुपर्ने बताए । ‘तुर्कमेनिस्तानविरुद्धको खेलमा हामीले रिसिभ र ब्लकमा निक्कै कमजोर खेल्यौं । किर्गिस्तानसँग पनि यी दुई कुरामा सुधार ल्याउने हो भने हामी खेल जित्न सक्छौं’, कप्तान रानामगर भन्छन् ।
प्रशिक्षक जगदीश भट्टको धारणा पनि उस्तै छ । ‘किर्गिस्तानको खेल तुर्कमेनिस्तानको जस्तो छिटो छैन । एक÷दुईजना बाहेक उनीहरूको उचाइ पनि हाम्रै जस्तो हो’, प्रशिक्षक भट्ट भन्छन्, ‘हामीले अघिल्लो खेलमा गरेका कमजोरीमा सुधार ल्याउन सके हामी जितका लायक छौं ।’
नेपालले सेन्ट्रल जोन भलिबलमा किर्गिस्तानलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । नेपाल दुई वर्षअघि बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबलको दोस्रो संस्करण र गत वर्ष माल्दिभ्समा भएको तेस्रो संस्करणमा किर्गिस्तानसँग पराजित भएको छ । दोस्रो संस्करणमा १८-२५, १२-२५, २६-२४, १०-२५ ले पराजित भएको थियो । नेपाल तेस्रो संस्करणमा २५-२०, १३-२५, ११-२५ ले पराजित भएको थियो । नेपालीलाई अघिल्लो खेलको पराजयको बदला लिने यस पटक राम्रो अवसर छ ।