ठिक्क पिउँदा पनि छोटिन्छ आयु
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले हालै गरेको एक अध्ययनमा सातामा पाँच गिलासभन्दा बढी रक्सी पिउनु जोखिमयुक्त रहेको र यसले व्यक्तिको आयुलाई नै छोट्याउन सक्ने पत्ता लागेको छ।
ब्रिटिस हार्ट फाउन्डेसनको सहयोगमा सञ्चालित उक्त अध्ययनले धेरै रक्सी पिउँदा यसले हृदयाघातका साथै मृत्युसमेत हुनसक्ने जनाएको छ। ठिक्क मात्रामा दैनिक पिउनु भनेको मुटुलगायत शरीरका लागि फाइदाजनक हुन्छ भन्ने बुझाइ राख्नेका लागि यो अध्ययनको नतिजा एउटा ठूलो चुनौती बन्नसक्ने देखिन्छ।
विश्वभरका १९ देशका ६ लाख मानिसको हृदय र पिउने बानीलाई आधार बनाएर उक्त अध्ययन गरिएको थियो। अध्ययनका अनुसार सबैभन्दा उच्चतम पिउनयोग्य मात्रा भनेको सातामा पाँच गिलास मात्रै हो। योभन्दा बढी जति मात्रामा रक्सी सेवन गर्यो त्यति नै आयु घट्दै जाने अध्ययनले देखाएको छ। उदाहरणका लागि कसैले सातामै दस वा योभन्दा बढी गिलास रक्सी पिउँछ भने उसको आयु एक वा दुई वर्ष छोटिन्छ। त्यसैगरी कसैले सातामै १८ वा त्योभन्दा बढी गिलास रक्सी पिउँछ भने उसको आयु चारदेखि पाँच वर्ष छोटिने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले रक्सी पिउने बानी र विभिन्न खाले मुटुसँग सम्बन्धित रोगहरूका बारेमा पनि अध्ययन गरेका थिए।
उक्त अध्ययनको नेतृत्व गर्ने डा. एन्जेला उडका अनुसार कसैको पहिलेदेखि नै धेरै रक्सी पिउने बानी छ भने पनि उसले विस्तारै मात्रा घटाउँदै लगेमा आयु बढ्नुका साथै मुटुसँग सम्बन्धित विभिन्न खाले रोगको जोखिम घट्न सक्छ।
एजेन्सी