मेसी-रोनाल्डोको फिटनेस सूत्र

मेसी-रोनाल्डोको फिटनेस सूत्र

विश्वका चर्चित फुटबल खेलाडीमा गनिन्छन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी। बार्सिलोनाका मेसी र रियल म्याड्रिडका रोनाल्डोबीच मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि उत्तिकै प्रतिस्पर्धा हुन्छ। चाहे फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडीको अवार्ड होस् या ‘फ्यान फलोइङ’मा नै किन नहोस्, यी दुई फुटबल स्टारबीच सदैव प्रतिस्पर्धा हुँदै आएको छ। यसबाहेक को ‘फिट’ रहने भन्नेमा पनि मेसी र रोनाल्डोबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ।

‘लक्की सेभेन’ अर्थात् सात नम्बर जर्सीमा मैदानमा उत्रने रोनाल्डो कुशल फुटबलर मात्र होइनन्, शारीरिक रूपमा पनि ‘फिट’ खेलाडीमा गनिन्छन्। उनी फिटनेसका मामिलामा सबैभन्दा सजग र सचेत खेलाडी मानिन्छन्। हप्ताको ६ दिन कडा व्यायाम गर्ने रोनाल्डो फिटनेस सेन्टरमा दैनिक तीनचार घन्टा पसिना बगाउँछन्। दैनिक व्यायामका साथै स्वस्थ आहार र उचित सुताइ नै आफू फिट रहनुको रहस्य रहेको उनको बुझाइ छ।

रोनाल्डोको ‘सिक्स प्याक’ शरीरप्रति उनका धेरै फ्यान दिवाना हुन्छन्। त्यसैले त उनीजस्तै ‘फिट एन्ड फाइन’ बन्न धेरैले मरिहत्ते पनि गर्दै आएका छन्।

रोनाल्डोले अहिले जुन ख्याति र उपलब्धि हासिल गरेका छन्, यसमा उनको कडा मेहनत र फिटनेसले महत्वपूर्ण भूमिका खेलेको छ। उनका प्रशिक्षक जिदानका अनुसार रोनाल्डो फुटबल शैली विकासमा केन्द्रित हुन्छन्, प्रशिक्षणमा पनि अनुशासित रूपमा पालना गर्छन्। यही कुरा उनले जिम हलमा पनि लागू गर्छन्। ट्रेनरको निर्देशनलाई शतप्रतिशत पालना गर्छन्।

गुलियो खानेकुराले शरीरलाई हानि नपुर्‍याए पनि शरीरमा बोसो जम्मा गर्ने भएकाले चिकित्सकको सल्लाहअनुसार मेसी-रोनाल्डो दुवैले गुलियो प्रायः खाँदैनन्।

विश्वका कहलिएका फिटनेस इन्स्ट्रक्टरको कुरा मान्ने हो भने रोनाल्डोको जस्तो चुस्त शरीर बनाउन सबैभन्दा पहिले शरीरको ‘अतिरिक्त बोसो’ घटाउनुपर्छ। नियमित व्यायाम र उचित खानपानमा ध्यान दिए फिट हुन सकिने सूत्र उनीहरूको छ। जतिसुकै व्यायाम गरे पनि आहारबिहारमा ध्यान नपुर्‍याए शरीरको बोसो नघट्ने भएकाले व्यायामसँगै आहारबिहारलाई पनि नियन्त्रण गर्नु आवश्यक रहन्छ। नियमित व्यायाम र खानपानसँगै फिट रहन उचित निद्रा पनि महत्वपूर्ण हुन्छ।

रोनाल्डो सातामा ६ दिन जिमखानामा कडा व्यायाम त गर्छन् नै, मैदानमा पनि वामअप गर्छन्। यसबाहेक उनी कम्तीमा आठ घन्टासम्म सुत्छन्। उनी मंगलबार या शनिबार भने प्रायः घरमै समय बिताउँछन्।

रोनाल्डोको आहार योजना

उनी मांसपेशीको विकासका लागि उच्च प्रोटिनयुक्त खानाका साथै ‘रिकभरी सप्लिमेन्ट’ पनि प्रयोग गर्छन्। जस्तै मल्टी भिटामिन, ज्वाइन्ट सप्लिमेन्ट्स, प्रोटिन सेक आदिको प्रयोगले मांसपेशीको विकासका साथै सेलहरूलाई रिकभर गर्छ। रोनाल्डो दिनमा पटकपटक खाना खाइरहन्छन्। शरीरको पाचन प्रणालीलाई चलायमान बनाउन हरेक तीनचार घन्टाको अन्तरालमा दैनिक ६ पटकसम्म थोरैथोरै भोजन गर्छन्। तर, गुलियो खानेकुरामा भने उनी खासै रुचि राख्दैनन्। गुलियो खानेकुराले शरीरलाई हानि नपुर्‍याए पनि शरीरमा बोसो जम्मा गर्ने भएकाले चिकित्सकको सल्लाहअनुसार गुलियो प्रायः खाँदैनन्।

रोनाल्डोले आफ्नो खानामा नछुटाउने बस्तु हो, सागसब्जी। ताजा सागपातमा भिटामिन र खनिज तत्व प्रशस्त हुने भएकाले उनको मेनुमा सधैं सागसब्जी पर्छ। रोनाल्डोको कुरामा विश्वास गर्ने हो भने सागसब्जीले शरीरलाई स्फूर्ति बढाउन पनि सहयोग पुर्‍याउँछ। जुनमा सुरु हुने रसिया विश्वकपका लागि तयारीमा जुटेका पोर्चुगिज स्टार रोनाल्डो रियल म्याड्रिड स्पेनिस ला लिगामा उपाधि होडबाट टाढा रहँदा भने अहिले चिन्तित देखिएका छन्।

सदाबहार मेसी

३० वर्ष नाघेपछि हरेक खेलाडीको खेल स्वाभाविक रूपमा कमजोर हुँदै जान्छ। यो उमेरमा खेलकुदमा सक्रिय हुनेहरू चोट बोक्ने गर्छन्। तर, अन्तर्राष्ट्रिय फुटबल खेलाडीमध्ये कोही यस्ता पनि छन्, जो बढ्दो उमेरसँगै अझ बढी चुस्त देखिन्छन्। त्यसमध्ये एक हुन्, अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी। ३० वर्ष पूरा गरेका मेसीको चुस्तता र खेलकौशल हेर्दा अहिले पनि उनी युवा खेलाडीजस्ता देखिन्छन्। उमेरले नेटो काट्दै गर्दा पनि उनी कसरी फूर्तिला देखिए भन्ने विषयमा केही समयअघि पोषणविद् गुइलियानो पोसरले खुलासा गरेका थिए।

उनले विश्वचर्चित खेलाडीको खान्कीको विषयमा स्पेनिस पत्रिकासँग कुराकानी गर्दै मेसीको खानपिनका विषयमा थुप्रै रोचक तथ्य सार्वजनिक गरेका थिए। इटालीका पोषणविद्ले सन् २०१४ देखि मेसीको खानपानमा नियन्त्रण गर्दै आएका थिए। त्यही बेलादेखि उनको फिटनेसमा परिवर्तन आएको थियो। गुइलियानोका अनुसार पर्याप्त पानी, राम्रो ओलिभ तेल, अन्न, फलफूल र हरियो तरकारीले बार्सिलोनाका स्टार स्ट्राइकरको शारीरिक क्षमतालाई ओजिलो बनाएको छ। मेसीलाई प्रोटिनयुक्त खानामा जोड दिँदा गुलिया पदार्थबाट भने टाढा नै राखिएको छ। अधिक चिनीजन्य पदार्थले मांसपेशीमा खराबी गर्ने भएकाले गुइलियानोले मेसीलाई गुलिया खानेकुरा बन्देज गरेका हुन्।

थुप्रै खेलाडी प्रोटिनका लागि मासुलाई अत्यधिक महत्व दिन्छन्। तर, गुइलियानोले पचाउन गाह्रो पर्ने भएकाले मेसीलाई कम मासु खान सल्लाह दिँदै आएका छन्। पोषणविद्ले बनाएको नियम पालना गरेकै कारण आफ्नो स्वास्थ्यमा ठूलो परिवर्तन आएको मेसीले दाबी गर्दै आएका छन्।

अन्तर्मुखी स्वभावका मेसीलाई पोषणविद्ले गुलिया खानेकुरामा कडाइ गरे पनि उनी भने गुलिया खानेकुरा मन पराउँछन्। मेसी सानैदेखि गुलियो भनेपछि हुरुक्कै हुन्थे। गुलियो खानेकुराप्रतिको उनको आशक्तिलाई प्रशिक्षकले समेत उपयोग गरे। मेसीले हरेक गोल गरेपछि प्रशिक्षकले उनलाई प्रोत्साहनस्वरूप गुलियो बिस्कुट दिने गर्थे। राम्रो खेल्ने लालसामा गुलियो बिस्कुटको आकर्षण थपिएपछि मेसी पनि गोल गर्न मरिमेटेर लागिपर्थे।

खानाका पारखी मेसीको सबैभन्दा मन पर्ने परिकार बोनलेस मासुबाट बनेको इस्केलोप मिलानिज नामको अर्जेन्टिनी परिकार हो। आफू सानो छँदा आमाले हप्तामा दुईतीनपटक सो परिकार बनाउने गरेको मेसीले बताउने गरेका छन्। उनी स्पेनबाट अर्जेन्टिना जाँदा यो परिकार प्रायः छुटाउँदैनन्।

मेसी ‘फिट’ रहनुको अर्को कारण हो, नियमित व्यायाम। हरेक दिन दुईतीन घन्टा जिम हलमा बिताउने उनी त्यही कारण ‘फिट एन्ड फाइन’ खेलाडीका रूपमा चर्चामा छन्। उनी सन्तुलिन भोजन, नियमित व्यायाम र प्रशस्त आराम गर्छन्। यी तीनको उचित व्यवस्थापनले नै मानिसलाई ‘फिट’ राख्ने मेसीको धारणा छ।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.