दिल्ली ताज होटलका नेपाली सेफ
गएको फागुन ८ गते हिन्दी मिश्रlत नेपाली लवजमा एउटा फोन आयो। ‘मैले तपार्इंलाई चिनिनँ त ? ’ यसो भन्दा उताबाट हाँस्दै जवाफ आयो, ‘म कमल थापा। दुई वर्षपहिले तपाई ताज होटल दिल्लीमा बस्दा हाम्रो भेट भएर लामो कुराकानी भएको थियो नि त? ’
मैले बल्ल कमल थापाको आवाज ठम्याएँ। २०७२ फागुन ९ देखि १७ गतेसम्म नागरिक समाजको एक टोली पूर्वसभासद् दमननाथ ढुंगानाको नेतृत्वमा दिल्ली पुगेको थियो। टोलीले विभिन्न दलका करिब १६ जना सांसद, प्रमुख दलका नेता, नेपालका लागि भारतीय पूर्वराजदूत तथा विदेशसचिव एस जयशंकरसँग भेटघाट गरेको थियो। दिल्लीमा हाम्रो टोलीको बसाइ मानसिंह रोडस्थित होटल ताजमा थियो। होटेल ताज सरकारी पाहुना बसाल्ने थलो रहेछ। (भर्खरै प्रम केपी ओलीको भारत भ्रमणमा रहेको टोलीका सदस्य पनि यहीँ बसेका थिए।) नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद महानिर्देशक रहेको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) संस्थाको सरकारी पाहुना थियौं हामी।
हाम्रो खाना होटल ताजभित्रको विभिन्न रेस्टुरेन्टमध्ये मचानमा तोकिएको थियो। खाना सर्भका लागि त्यहाँ कञ्चनपुरका एक नेपाली भेटिएका थिए। एक दिन भ्रमण टोलीका सहनेता विजय कर्णले भने, ‘सधैं मचानमा कति खाने साथीहरू। हामी सरकारी पाहुना भएपछि यहाँको कुनै पनि भान्सामा निर्धक्क छिर्न सक्छौं। जिब्रोको स्वाद फेरौं न।’ त्यसपछि एक दिन त्यहाँको जापानी, अर्को दिन चाइनिज रेस्टुरेन्टमा छिर्यौं।
चाइनिज रेस्टुरेन्टमा सुरुमा दिइएको सुप नुनिलो थियो। पछि मगाइएको चाउमिन पनि त्यस्तै। हामीले सर्भिस ब्वाइसँग गुनासो गर्यौं। उसले भन्यो, ‘यहाँका चिफ सेफ नेपाली हएँ। मै उनको बुला डेटा हुँ। अपने भाषामे आपलोग सम्झाइए।’
सेफ आए। परिचय गरिमयो। उनी त दाङका कमल थापा पो रहेछन्। म त्यही जिल्लावासीलाई उनी होटल ताजको प्रमुख सेफ रहेकोमा खुसी नलाग्ने कुरै थिएन। तुलसीपुर नपा-६, गाइदारका ४२ वर्षे थापा २२ वर्षदेखि लगातार ताजको चाइनिज रेस्टुरेन्टमा कार्यरत रहेछन्। दुई वर्षपछि फोन गरेर आफू त्यहीँ रहेको जनाउ दिए, उनले। यसरी ताजमै उनको करिअर २४ वर्ष पुगेको छ।
दाङ, तुलसीपुरका ४४ वर्षे कमल थापा विगत २४ वर्षदेखि नयाँदिल्लीको फाइभस्टार होटल ताजमा कार्यरत छन्। सामान्य कुकका रूपमा छिरेका उनी हाल त्यहाँको चाइनिज रेस्टुरेन्टको प्रमुख सेफ छन्। उनको अन्डरमा सयौं कुक कार्यरत छन्।
त्यस बेला ग्राहक आउने समय भएकाले उनीसँग थप कुरा अरू दिन गर्ने निधो गरियो। मैले कमलको फोन नम्बर टिपेको थिएँ। तर, मसँग इन्डियाको नम्बर थिएन। पासपोर्ट नबनाएकाले मैले इन्डियाको सिम लिन पाइनँ। पासपोर्ट नहुँदा ताज होटलको बसाइ पनि झन्डै खुस्किएको थियो। सेफ थापासँग कुरा गर्न दुई दिन लगातार जाँदा पनि भेट भएन। उनी एक दिन बिहेको पार्टीमा खाना बनाउन गुड्गाँव गएका रहेछन्। अर्को दिन बिदामा बसेका रहेछन्। नेपाल फर्किने अन्तिम दिनको अघिल्लो रात १० बजे उनको चाइनिज रेस्टुरेन्टमा छिरेँ। हामीले करिब ४५ मिनेट भलाकुसारी गर्यौं। उनले भने, ‘के गर्नु सर, तपाईंहरू बसेको कोठामा जाने अनुमति हामीलाई छैन। फेरि यहाँ कतिखेर ग्राहक आउने हुन्, छाड्न पनि नमिल्ने। त्यसैले चाहेर पनि भेट्न सकिनँ।’
मैले यहाँ आउँदाताकाको सम्झनाको पोको खोल्न भनेपछि कमलले दिल्लीको आफ्नो पृष्ठभूमि खोल्न थाले। २२ वर्षअघि त्यहाँ छिर्दा उनको तनखा भारु १५ सय थियो। अहिले भारु ५० हजार माथि छ। अहिले त्यही रेस्टुराँमा आफ्नै भतिजालाई ओजेटी गराउन ल्याएका रहेछन्। ऊ पनि आफूजस्तै सेफ बन्ला कि भन्ने आशावादी छन्। ‘लक्का जवान जिन्दगी यहीँ दिल्लीमा गुजारियो। सबै बालबच्चा यहीँ पढे, हुर्के। अब त यहीँ प्यारो लाग्छ। पैसा जोगाएर सानो मकान पनि यहाँको लक्ष्मीनारायण टोलमा बनाएको छु’, उनले सन्तुष्ट भावमा भने।
कमलले जेठी छोरीको बिहे बाँके शमशेरगन्जमा गरिदिएका छन्। श्रीमती दाङमै घर सम्हालिरहेकी छन्। नेपाल बारम्बार आउजाउ हुन्छ। ‘मन त आफ्नै गाउँठाउँ दाङमै रेस्टुरेन्ट चलाउने हो नि तर के गर्नु। ग्यास छैन, तेल छैन, पेट्रोल छैन। कसरी होटेल चलाउनु। त्यसैले यतै रमाउन बाध्य छुँ’, कमलले एक सासमा मनको कुरा राखे। हुन पनि त्यस बेला मधेस आन्दोलनका कारण नेपाल-भारत सीमामा लामो समयदेखि नाकाबन्दी थियो। कमलले दुई वर्षपछि फोन गर्दा मैले जिस्क्याएँ, ‘अब त आफ्नै देशमा जानेको सीप देखाउने कि ? ’ उनले मन अमिलो बनाएर भने, ‘हुन त हो। परन्तु नेपालको बन्द हडताल कहिल्यै नसकिने भो। परिवारसँग बहुत ठाउँमा घुम्छु भनेको, दाङ बन्द भएर सारा प्लान चौपट भो।’ उनले फोन गरेको २०७४ फागुन ८ गते विप्लव समूहले दाङ बन्दको घोषणा गरेको थियो।
दिल्लीमा आफ्नै घरघडेरीको समेत जुगाड गरेको सुन्दा राम्रै सफलता हात पारेछन्, बूढाले भन्ने लाग्यो। सोमबार बिदा हुन्छ उनको। बिदाको दिन नुहाइधुवाइमा समय बिताउँछन्। अरू दिन बिहान ११ बजेदेखि ड्युटी सुरु हुन्छ। साँझ ४ देखि ७ बजे वि श्रामको समय तोकिएको छ। फेरि बेलुकी ७ देखि राति साढे १२ बजेसम्म ड्युटी हुन्छ। दिल्लीमा नेपालीका विभिन्न संगठन छन्। भन्छन्, ‘म कुनैमा पनि आबद्ध छैन। मलाई यहाँ काम नै पूजा भएको छ।’
त्यसो त कमलका दाजु तोया थापाले उनीभन्दा १० वर्ष बढी दिल्लीमा भोटो फटाएका छन्। तोया ३४ वर्षदेखि दिल्लीको कनाट प्यालेसस्थित क्युबा रेस्टुरेन्टमा सेफ छन्। उनले नै कमललाई दिल्ली ल्याएका रहेछन्।
कमलका अनुसार होटेल ताजमा कार्यरत करिब एक हजार कर्मचारीमध्ये ६० जना नेपाली छन्। एकजना क्यासमा सहायक एकाउन्टेन्टपछि सबैभन्दा ठूलो पोस्टमा उनी नै छन्। होटल ताजको शाखा चितवनमा खुल्दैछ। व्यवस्थापनले चितवन जाने मुड बनाउनु है भनेको छ। तर, उनलाई दिल्लीमै मन बसेको छ। भन्छन्, ‘नेपालका सबैजसो मन्त्री, सचिव यहीँ आएर बस्छन्। मेरो खानाको तारिफ गर्छन्। मलाई यसैमा सन्तुष्टि छ।’