'हरेक नेपालीको घर घरमा ग्यास होइन, विद्युतीय चुल्हो'
काठमाडौँः जल, सिँचाइ तथा ऊर्जामन्त्री वर्षमान पुनले २५ मेगावटको सोलार आयोजना समयमै पुरा हुने बताएका छन् ।
शुक्रबार नुवाकोटमा नेपाल सरकार मातहात नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिलालान्यास गर्दै मन्त्री पुनले यस्तो कुरा बताएका हुन् ।
मन्त्री पुनले आफूसामू यो दशकलाई ऊर्जाको दशक बनाउने चुनौती रहेको बताउँदै उनले चुनौती सामना गर्न तयार भएको दाबी गरे । आगामी दुई वर्षसम्म औद्योगीकरण नबढे विद्युत बचत हुने बताउँदै अब विद्युतीय सवारी साधन प्रयोगलाई बढावा दिने पनि मन्त्री पुनले उल्लेख गरे ।
‘हरेक घरमा आयातित सिलिण्डर ग्यास होइन, विद्युतीय चुल्हो हुनेछ’, उनले भने, ‘विद्युत् क्षेत्रबाट समग्र राष्ट्रको अर्थतन्त्रमा चमत्कारिक परिवर्तन हुने गरी काम गर्छौँ ।’
जलस्रोत देशकै ठूलो प्राकृतिक स्रोत भएको बताउँदै उनले ऊर्जा क्षेत्रमा मुलुक आत्मनिर्भर हुने तरिकाले काम गरिरहेको बताए । ‘विद्युत् आयोजनाको निर्माण गर्दा सिँचाइ र जलस्रोतको योजना एकीकृत रुपमा निर्माण गरिने छ’, उनले भने ।
मन्त्री पुनले मुलुकमा राजनीतिक संक्रमण सकिएको बताउँदै अब राजनीतिका कारण काम गर्न सकिएन भन्न नपाइने बताए । विगतमा जस्तो ढिलासुस्ती, बहानाबाजी र भ्रष्टाचार सरकारले सहन नसक्ने बताउँदै पुनले अब मुलुकमा शुसाशन कायम हुने हुने कुरामा कुनै सम्झौता नहुने मन्त्री पुनले उल्लेख गरे ।
उनले बीआरआई अन्र्तगत (गल्छी, त्रिशुली) रसुवाढी अन्तर्देशीय प्रसारण लाइन विस्तारको तयारी भइरहेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौता हुनेछ’, पुनले भने ।