नगरकोटी : अफ बिट आविष्कारक
म संस्मरणहरूबाट सकेसम्म टाढा नै बस्ने गर्छु। आत्मकथा या भनौं मेमोयर मेरो रुचिभित्र खास पर्दैन। अरूका कथा सुन्न, पढ्न रुचाउँछु तर आत्मवृत्तान्त भने होइन। तर हरेक कुरामा अपवाद हुन्छ। यता उता भेटिने अपवादहरूले जिन्दगी अरू सुन्दर बनाइदिन्छ जस्तो लाग्छ।
आत्मकथाहरू पनि रसिला हुन सक्छन् भनी बोध भयो पत्रकार विजय कुमारको ‘खुसी’ पढेपछि। तर, वास्तवमै मेमोयरहरूसँगको मेरो दुरी स्वाट्टै हटाइदिने काम भने अमेरिकी टेनिस खेलाडी आन्द्रे आगासीको आत्मकथा ‘ओपन’ले गरिदियो। उक्त पुस्तकको पहिलो च्याप्टरको नाम नै ‘द एन्ड’ छ तथा अन्तिम च्याप्टरको नाम ‘द बिगिनिंग।’ यस्तो देखेर केहीबेर चकित पनि परेको थिएँ तर वास्तवमै चकित पार्ने कुरा चाहिँ प्रस्तुति अनि भाषाको मिठास थियो। आत्मकथा भएर पनि आत्मकथा जस्तो थिएन, सुरुदेखि अन्त्यसम्म टेनिसकै कुरा बारबार आए पनि झिजो लागेन। म पिट साम्प्रासको जबर्दस्त फ्यान थिएँ तर ‘ओपन’ पढेपछि आन्द्रे आगासीको फ्यान भएँ। यस्तो पो त मेमोयर !
कुमार नगरकोटीको कुरा भने अलि फरक छ। उनको ‘दोचा’ त मैले आगासीको ‘ओपन’ नपढेको भए पनि पढ्थेँ होला सायद। उनी पात्र नै त्यस्तै छन्। नगरकोटी आफ्नै कथा तथा उपन्यासका पात्रहरू जस्ता छन्, आउट अफ अर्डिनेरी। उनमा आख्यान लेखनका परम्परागत नियम तथा साहित्यिक समाजले मानेको अवधारणा लागु हुँदैन। लाग्छ, उनी अपवादका पनि अपवाद हुन्। हि इज द एक्सेप्सन अमंग द एक्सेप्सन्स। करिब ६ महिनाअघि मगाए पनि किताब हातमा भने केही दिन अघिमात्र पर्यो। नगरकोटीकै फकिर अन्दाजमा अनेक ठाउँ घुमेर ‘दोचा’ अन्तत:गन्तव्यमा आइपुग्यो।
प्राय:आत्मकथाहरू लेखकको जिन्दगीको सुरुवातदेखि आरम्भ हुन्छ अनि क्रमश:वर्तमानतर्फ उन्मुख हुन्छ। कसैको जिन्दगीको बारेमा थाहा पाउन एउटा पाठकको निम्ति सायद यो नै उत्तम शैली पनि हो। तर नगरकोटीको ‘दोचा’मा यस्तो छैन। ‘दोचा’ लेखकको वर्तमानदेखि सुरु हुन्छ अनि वर्तमानतिर नै अघि बढ्छ, डायरी शैलीमा। विगतका अनुभव तथा किस्साहरू क्रमश:जोडिँदै जान्छन्, जसरी एउटा ठूलो नदीमा ससाना खोलानालाहरू मिसिँदै जान्छन्।
हिमाली भेगमा भोटेहरूले लगाउने जुत्ता दोचासँग उनको बाल्यकालको सम्झना रोचक छ, जति रोचक उनको राजस्थानमा सुफी कविहरूको सम्मेलनमा जाँदाखेरिको छ। ‘दोचा’मा यस्ता थुप्रै अनुभवहरू छन्। आफ्नो कोठाको झ्यालबाहिर गुँड बनाएको एक जोडी परेवा र ती पंक्षीहरूसँग लेखकको आत्मीयता तथा सम्बन्ध सायद ‘दोचा’ लेखनको पृष्ठभूमि हो। ती जोडी परेवाको दिनचर्या तथा तिनले खेप्ने गरेको दुःखसँग लेखक यसरी जोडिइन पुग्छन् कि लेडी परेवा (जसको नाम लेखकले ‘किम्या’ राखेका छन्) ओथारो बस्दा आफू उत्साहित हुन्छन् भने कागले उनीहरूको बचेरा टिपेर लगेपछिको उजाड गुँड हेर्दै भित्रभित्रै छट्पट्टिन्छन्। लाचार महसुस गर्छन्। किरन राव निदेर्शित बलिउड फिल्म ‘धोबी घाट’ मा पेन्टरको भूमिकामा रहेका आमिर खानको मुड तथा भावभंगी उनले हेर्दै गरेको भिडियो डायरीको अनुसार परिवर्तन भएजस्तो।
उक्त फिल्ममा नयाँ कोठामा डेरा सर्दा आमिरले पहिले बसेका किरायदारले छाडेका केही कुरा भेट्छन्। हेर्दै जाँदा त्यसमा एउटा डीभीडी हुन्छ, जसभित्र आफूभन्दा पहिले त्यसै कोठामा बस्ने महिलाले खिचेको भिडियो डायरी हुन्छ। नपत्याउँदो किसिमले आमिर उक्त भिडियो डायरीसँग गाँसिन पुग्छन्, जसरी ‘दोचा’मा गाँसिएका छन्, लेखक नगरकोटी एक जोडी परेवासँग।
जिन्दगीको अविरल यात्रामा जोडिन पुगेका साथीभाइ तथा मित्रहरूसँगको सम्बन्धलाई राम्रैसित उतारे पनि आत्मकथा पढ्दै जाँदा लाग्छ, लेखकले उति डिटेलिंग भने गरेका छैनन्, ती सम्बन्धहरूको गहिराइमा गएका छैनन् या गहिराइमा जान आवश्यक ठानेनन्। र, पनि नगरकोटीले तयार पारेको क्यानभासमा सबै अटाएका छन्। पत्रकार यज्ञशदेखि दीपक सापकोटा, आख्यानकार बुद्धिसागरदेखि नयनराज पाण्डे, नाट्यकर्मी घिमिरे युवराजदेखि सुनील पोख्रेल ‘दोचा’मा सबै अटाएका छन्। त्यसैगरी ‘दोचा’मा अटाएका छन् कवि गीतकार गुलजारदेखि पीयूष मि श्र नोबेल लोरेट बब डिलनदेखि क्लिन्ट इस्टउड.. टर्किस लेखक पामुकदेखि कोल्म्बियन लेजेन्ड मार्खेज। यस हिसाबले नगरकोटीको आत्मकथा एउटा ‘कज्मोपोलिटन’ मेमोयर हो, जहाँ संसारभरका कलाक्षेत्रका केही जानेसुने हस्तीहरूको नाम उपस्थित छ।
वर्तमानमा लेखकको ध्यान बढी देखिए पनि लेखनमा औपचारिक रूपमा प्रवेश कसरी भयो ? के कस्ता संघर्ष भए, अनुभव रहे भन्ने कुरामा लेखकले अलिकति पनि समय खर्चेको देखिँदैन।
कहिलेकाहीँ सोच्छु, कुनै पनि आत्मकथाको समीक्षा गर्न तम्सिनु आफैंमा वाहियात कुरा हो। आत्मकथा एउटा निजी अनुभवको गाथा भएकोले आफ्नो कथा लेख्न लेखकलाई हरेक कुनाबाट छुट हुन्छ। त्यसमा टिप्पणी गर्नु आफैंमा एउटा निरर्थक अभ्यास पनि हुन सक्छ। यति भन्दाभन्दै पनि एउटा पाठकको दृष्टिकोणबाट हेर्दा अनि ‘दोचा’ पढ्दै जाँदा लाग्छ कि लेखकले आफ्ना विगतका अनुभवहरू तथा सम्बन्धहरूका उत्पत्ति साथै तिनका विस्तारको बारेमा चर्चा गर्न भने कन्जुस्याइँ गरेका छन्।
वर्तमानमा लेखकको ध्यान बढी देखिए पनि लेखनमा औपचारिक रूपमा प्रवेश कसरी भयो या लेखनका सुरुवाती दिनमा (फर्मेटिभ डेज) के कस्ता संघर्ष भएर अनुभव रहे भन्ने कुरामा लेखकले अलिकति पनि समय खर्चेको देखिँदैन। उनका नियमित पाठक जो उनका लेखरचना तथा कथा उपन्याससँग परिचित छन्, उनीहरूलाई यसको आवश्यकता नपरे पनि कुनै नौलो पाठकलाई भने यो कुरा केही खट्किन सक्छ। आत्मकथामार्फत लेखकलाई बुझ्ने र जान्ने प्रयास केही अपूर्ण हुन सक्छ।
नगरकोटीलाई पढ्दै आएका पाठकका निम्ति भने ‘दोचा’ पढिसकेपछि उनका बारेमा एउटा तस्बिर बनाउन केही सहज होला। भलै, त्यो तस्बिर आफैंमा पूर्ण भने नहोला। साहित्यमा उनको प्रवेश केही हदसम्म विद्रोही शैलीमा भयो भन्दा फरक नपर्ला। सुरुसुरुमा उनका फुटकर रचना उनकै भाषामा भन्नुपर्दा ‘क्याजुवल’ लेख छापिँदा साहित्यिक जगत्मा उनी केही ‘नोटिस’ भए। चलिआएको शैलीभन्दा नितान्त फरक तरिकाले लेख्ने, अक्सर बेपरवाह लाग्ने यी लेखकसित सायद साहित्य जगत् केही सशंकित पनि भयो।
‘हामीले यति मेहनतले, यति वर्ष लगाएर बनाएको लेखनको रूपरेखा यो आउटसाइडरले भत्काउन खोज्दैछ। कहाँबाट आयो यो नगरकोटी भनाउँदो बिचौलिया ? ’ सायद साहित्यले प्रश्न पनि गर्यो।
फाइन प्रिन्टले प्रकाशन गरेको संस्मरणात्मक कथासंग्रह ‘फस्ट लभ’ मा समावेश उनको कथा ‘ऋतुको चिया पसल’ले त्यो प्रश्नको एक शब्दवाला उत्तर दियो, कथा त गजब छ त। इन्ट्रेस्टिंग स्टाइल टु !
‘काठमान्डू:मोक्षान्त फिवर’ले साहित्य जगत्मा उनको उपस्थितिलाई केही हदसम्म सहज बनाइदियो। आउटसाइडरको ट्याग भने अझै झुन्डिराखेकै थियो।
‘फोसिल’ आउँदासम्म भने उनले आफ्नो त्यही अलग शैलीकै बलबुतामा पैर जमाइसकेका थिए। पूरै स्वीकारिन भने अझै बाँकी नै थियो। त्यो काम गरिदियो ‘मिस्टिका’ले। साहित्य जगत्ले नगरकोटीलाई दुई हात नै फैलाएर अंकमाल गर्यो। त्यो न्यानो स्पर्श नगरकोटीलाई खुबै मन पनि पर्यो। देर आए, पर दुरुस्त आए।
‘घाटमान्डु’ हुँदै ‘दोचा’ सम्म आइपुग्दा नगरकोटी बिस्तारै भरिएर पोखिँदै छन्। फैलिँदै छन्।
अहिले नगरकोटीले साहित्यमा आफ्नो स्थान पाइसकेका छन्। पूर्ण रूपले स्वीकारिएका छन्। सहरमा उनका शुभचिन्तकको कमी छैन। उनलाई प्यार गर्नेवालाहरूको पनि कमी छैन। कलाका विभिन्न क्षेत्रहरूबाट उनलाई अँगाल्ने साथी तथा हितैषी पनि प्रशस्त छन्। उनी एक्ला छैनन्।
त्यस्तै पर्दा मन बहलाउन काठमाडौंमा घाटहरूको कमी छैन, पाटनका साँघुरा गल्ली हमेशा खुल्ला छन्। सहरमा उनका रुचिअनुरूपका क्याफेहरूको पनि कमी छैन। घरमा गुरु रिम्पोचे छ। सावित्री छिन्। परेवा जोडी पनि छन्। तर पनि कहिलेकाहीँ लाग्छ, उनी एक्ला छन्। आफ्नो खोजमा एक्लै हिँडिरहेका छन्। यात्रा जारी छ। हुन सक्छ यात्रा भर्खर सुरु भएको छ अथवा यो पनि हुन सक्छ, यात्रा एक समयदेखि निरन्तर चलिरहेको छ।
यी पंक्तिहरू लेखिरहँदा गुलजारको एउटा गीतका दुई हरफ बारबार याद आइरहेका छन्। दिमागमै कतै यो गीत बजेजस्तो हुन्छ। नगरकोटीको तस्बिर कतै पृष्ठभूमिमा देखिएजस्तो हुन्छ। उनको कहिले नछुट्ने हाँसोसहित।
एक अकेला इस सहर में
रात में और दोपहर में
आब ओ दाना ढूँढता है
आशियाना ढुँढता है...