चराका गीतको ‘रियाज’

चराका गीतको ‘रियाज’

‘सत्य बोल्ने आँट नगर्नेले असल सिर्जना गर्न सक्दैन, अझ त्यसमा पनि त्यस्तो आँट नगर्नेले कविता र निबन्धमा त एक पंक्ति पनि नकोरे हुन्छ’, पाश्चात्य साहित्यका प्रसिद्ध समालोचक हेनरी पियरेले स्रष्टाको इमानदारिता खोज्दै लेखनप्रति संवेदनशील हुन गहन सन्देश दिएका छन्। यस अर्थमा त्यो कविमात्र पाठकको आँखामा सही साबित हुनेछ जसले जीवन र जगत्को यथार्थ प्रस्तुति गर्नेछ।

युगीन चेतना नभएका कविता केवल हरफ हुन्। जीवन र विश्वबोध नभएका कविता अपूर्ण सिर्जना हुन्। चाहे सत्य बोल्ने आँट होस्, चाहे युगीन चेतना र जीवन अनि विश्वबोध गर्ने सन्दर्भ, सबैमा ‘चराको गीत’ जिम्मेवार छ। चराको गीतमार्फत जिम्मेवारी बहन गर्ने स्रष्टा अर्थात् कवि हुन् कृसु क्षेत्री। काव्ययात्राको तीन दशकमा यही जिम्मेवारीको उपजस्वरूप उनको यो केवल ‘पाँचौं’ किताब हो। किताबमा फोटो टाँस्न र संख्या गन्नमात्रै लेखेको भए उनले कवितात्मक सामथ्र्य, विषयको अन्तर्वस्तु आदि विपरीत धैर्यलाई काखी च्यापेर यतिमै सीमित हुने थिएनन्।

विद्यालय जाँदादेखि कविता लेख्दा अनि राजनीति गर्दा वा जागिर खाँदा, सधैं अर्काको परिचयमा बाँच्नुपर्‍यो भने कुनै व्यक्तिको हविगत के होला ? प्रत्येक मान्छे आफ्नै विशेषतामा बाँचेको हुन्छ र उसले जन्मेदेखि नमरुञ्जेल ‘पहिचान’ को खोजी गरिरहन्छ अर्थात् पहिचानका लागि लडिरहन्छ। यस्तै हविगत भएपछि कवि कृसुले आफ्नै दाजुविरुद्ध साहित्यको अदालतमा उजुरी हालेका छन्।

हेनरीले भने जसरी सत्यवादी बनेर कविता कोर्ने आँट गरेका छन् उनले, ‘...जहिले पनि दुबसुकै भाइको, उपमा लिएर बाँचेको छु। खोइ मेरो आफ्नो नाम ? खोइ मेरो आफ्नो पहिचान ? ’ उनले सत्यमात्र बोलेका छैनन्, ठूलै हिम्मत जुटाएका छन्, ‘सावधान दुबसु ! म मेरो पहिचान खोज्न हिँडेको छु, याद गर दुबसु ! अब तिम्रो चाँडै हत्या हुन सक्छ र हत्यारा हुनेछु म अर्थात् दुबसुको भाइ।’

सरकारी जागिरको सिलसिलामा उनी लामै समय नेपालबाहिर छन्। हाल अमेरिकास्थित न्युयोर्कमा वाणिज्यदूतका रूपमा रहेर पनि उनलाई ‘कवि’ हुनुको मोहले छोडेको छैन। स्वामी विवेकानन्दको भनाइ स्मरण गर्ने हो भने उनी आफूलाई ‘कायर व्यक्ति’ मा दर्ज गराउन चाहँदैनन्। विवेकानन्दले भनेका थिए, ‘तिमी पलायन हुने प्रयास नगर, यो दुनियाँ कायर व्यक्तिका लागि होइन।’ अद्र्धमुदित आँखाहरू, बोधिसत्वको मृत्युउत्सव, आगोको मूच्र्छना, चौध वर्षपछि हुँदै ‘चराको गीत’ सम्म आइपुग्दा उनले आफूलाई लेखनमा सम्झौता नगर्नुले यसको पुष्टि गरेको छ। सुनको पिँजडामा पनि उन्मुक्तिको गीत गाइरहने चरामा समर्पित यो किताबमा कृसुको हृदय र बुद्धि दुवै घोलिएको छ।

कविले विषय जे रोजेका छन् त्यसमा उनी स्पष्ट छन् र निर्भीक भएर तिनको वकालत गरेका छन्।

संसारका प्रत्येक प्राणीलाई आफ्नो ज्यान प्रिय लाग्छ। ठीक त्यसरी नै प्रत्येक प्राणी कुनै बन्धनमा सीमित हुन चाहँदैन। एउटा पशु वा पंक्षी त स्वतन्त्रता र उन्मुक्ति चाहन्छ भने बौद्धिक मानिएको मानिस त सायदै यसबाट अपवाद हुन सक्ला। कवि कृसुले मानिसमात्र होइन, विश्वका सबै प्राणीको प्रतीकस्वरूप चरालाई अघि सारेर उसको स्वतन्त्रता र उन्मुक्तिको गीत गाएका छन्, संसारको सबैभन्दा सुन्दर गीत मानेर। र शीर्ष कविता ‘चराको गीत’ मा लेखेका छन्, ‘म पनि अँध्यारोविरुद्ध लड्न चाहन्छु, बन्धनविरुद्ध बज्रिन चाहन्छु, मुक्त–उन्मुक्त हुन चाहन्छु चराले जस्तै चेतनाको गीत गाउन चाहन्छु।’ उनले पानीलाई बिम्ब बनाएर पनि स्वतन्त्रता, गतिशीलता, सभ्यता र क्रान्तिको गीत गाएका छन्।

कविले विषय जे रोजेका छन् त्यसमा उनी स्पष्ट छन् र निर्भीक भएर तिनको वकालत गरेका छन्। तिनै विषयको पक्षमा वकालत गर्दै बिम्ब तथा प्रतीकहरूको प्रयोग गरेका छन्, लयसौन्दर्य र अनुप्रासको चास्नीमा। कविताहरूमा हार्दिकतासँगै बौद्धिकताको चमक छ। सकारात्मक सोच र चेतमात्रमा कविता उभिएका छैनन्, मानवतावादी चेतनाको सप्रसंग व्याख्या गर्दै उज्यालोको खोजीमा ‘पुल्ठो’ बाल्न सफल देखिन्छन् कवि। कर्मका क्रममा विभिन्न देश घुम्न र बुझ्न पाएका उनले भूमण्डलीकरणलाई देशसँग मिसाएर पाठकलाई परिमार्जित र परिष्कृत हुने अवसर दिएका छन्। विलयन लेखनका प्रवर्तक कृसुले यो किताबभित्र उत्तरआधुनिक प्रवृत्तिसँगै बहुल अर्थको प्रयोग गरेका छन्।

किताबमा कृसु आमासँगको अस्तित्वदेखि सारथीका रूपमा रहेका बुवाको सम्झनामा समेत ‘नोस्टाल्जिक’ बनेका छन्। अमेरिकामा रहँदा उनले आदिकवि भानुभक्त आचार्यको विनिर्मित रूपदेखि नायग्रा फल्सको सौन्दर्य, न्युयोर्कमा हिमपात हुँदाको परिवेश र अनुभूतिको चित्रण र रंगभेदका विरुद्धको स्वाधीनता र स्वतन्त्रताबारेका कविता लेखेर आफ्नो उपस्थिति जनाएका छन्। ‘स्वर्ग’ झैं स्वदेश नचिनेर वा अमत्याई लागेर र बिदेसिन बाध्य भएर अरूको मुलुकमा जीवन बिताउने आमनेपालीलाई उनले ‘अनागरिक हुनुको अर्थमा’, सशस्त्र द्वन्द्वका बेला बसभित्र जिउँदै जलाइएकी मुस्लिम बालिकाबारे ‘काजोल खातनु’ र देशमा भइरहेको विभाजन र विखण्डनमा नयाँ पुस्तामा देखिएको चिन्ता ‘मेरो देशको नक्सा’ जस्ता शीर्षकका कवितामार्फत विविध समयको सम्बोधन गरिएको पाइन्छ। यसै क्रममा कविले ‘बादलको तस्बिर’ मा लेखिएका केही कविको नाममा बहकिँदा कविताको ओज घटाएको पाइन्छ।

४२ वटा यस्तै यस्तै कविताले गाएका भिन्न शब्दमा प्रयोग गरिएका संगीत र स्वरको जादुले पाठकलाई कविप्रति मोहित त बनाउँछ नै। शब्द छनोटमा मौलिक र नयाँ बिम्ब चयन गर्न, संगीत सुमधुर पार्न र स्वरलाई थप ‘रियाज’ गर्न सकेको भए सायद ‘चराको गीत’ मा ‘सुनमा सुगन्ध’ भरिने थियो कि ?

किताब :चराको गीत

कवि :कृसु क्षेत्री

प्रकाशक :साझा प्रकाशन

पृष्ठ :१४४

मूल्य :२०५।–


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.