कथाको कथा

कथाको कथा

सिक्किमको जोरथाङमा कवि रवि रोदन ‘कफी कविता’ कार्यक्रम चलाउँछन्।अघिल्लो वर्ष, कफी कविताले कथा शिविर गरेको थियो। दाजिर्लिङ-सिक्किमका दस कथाकारले कथा सुनाएका थिए। मैले कति कथा सुनेँ, कति सुनिनँ। केही बाहेक धेरै कथा नसुन्दा पनि हुने थिए। अर्थात् ती कथा थिएनन्।

मलाई कथाकारहरूबीच बहस गर्न अह्राइएको थियो। समय हिमालमुनि खस्न लागिसकेको बेलामा।‘बहस नगरौं ल, मलाई त पूरा भोक पो लाग्यो !’, मैले कथाकारहरूसित सल्लाह मागेँ।सबैले ‘ल’ भने।

माइकअघि उभिएपछि त्यतिमात्र भनेर निस्किन मिलेन। थपेँ, ‘कथाकारहरूले कथा कथाजस्तै लेख्नुपर्‍यो। साँच्चिकै कथा लेख्न पर्‍यो। लेख्न नसक्नेहरूले कथै नलेख्नु है। म त कथा लेख्नै सक्दिनँ। किनभने मलाई कथा लेख्न सक्दिनँ भन्ने कुरा थाहा छ। आज पनि घोषणा गर्छु, म कहिल्यै कथा लेख्दिनँ। किनभने म कथा लेख्न सक्तिनँ।’

रवि रोदनले फेसबुकमा यसैलाई लिएर कोकोहोलो मच्चाइदिए- स्टाटस लेखेर। अनि मलाई साथी सुदास राईले त्यही स्टाटस पढेर भेटमा भने, ‘तैंले कथा लेखेको छस् त। नीलो मफलर तेरो मास्टरपिस प्रेम कथा हो त्यो।’

म हाँसेँ।

गाउँबाट ‘समय’ नामक पत्रिकाको दोस्रो अंक निस्किने भएको थियो। त्यतिखेर सबै मिलाएर पाँचवटा कथा र दसवटा कविता विभिन्न दैनिक पत्रिकातिर प्रकाशित भइसकेको थियो। म गाउँमा लेखक भइसकेको थिएँ।

पहिले एउटा कविता दिएँ। सम्पादकले डस्टबिनमा हालिदिए। भने, ‘यस्तो पनि लेख्ने हो, जे मनमा आयो त्यही ?       ’

त्यसपछि सम्पादन टोलीबाट रहेको मेरो नाम हटाइयो। अर्थात् प्रमुख सम्पादकलाई लाग्यो, एउटा कविता पनि राम्रोसित लेख्न नसक्ने मान्छे कसरी सम्पादक बस्न सक्छ ?       

प्रमुख सम्पादक जो थिए, उनी कलेज पढ््दै थिए, तर उनी लेखक थिएनन्। एक अलेखकले एउटा कविको कविता कसरी डस्टबिनमा फाल्न सक्छ ?        मैले यही बिन्दुबाट सोच्न थालेँ। त्यसपछि हाम्रो सम्बन्ध बिग्रियो।

प्रधान सम्पादकलाई केही लेखेर जबाफ दिनु थियो।

आफू प्रेममा थिएँ। मन परेको केटीले प्रस्ताव स्वीकार गरिनँ। त्यताबाट पनि भत्किएको थिएँ म। प्रेम पाउन नसकेको रन्कोमा मैले ‘नीलो मफलर’ लेखेँ। ‘समय’को सम्पादन टोलीमा रहेको सुदास राईलाई मैले त्यही कथा दिएँ।

अहिलेसम्म पनि ‘समय’ पत्रिका कसैले सम्झिन्छन् भने त्यही कथाको कारण सम्झिन्छन्। कथा ‘हिट’ बनेको थियो। प्रधान सम्पादकले जवाफ पाइसकेका थिए।

लेखक अलिक दम्भी हुँदा हुन्। मैले आफू लेखक हुँ भन्ने घमण्ड सुरुदेखि नै पालेँ। अहिले मेरो घमण्ड बूढो भइसकेको छ। त्यो घमण्ड तोड््ने शक्ति केवल पाठकमा छ। म घमण्डी हुन चाहन्न। म घमण्डमुक्त हुन चाहन्छु।

सपनाले मानिसलाई जिउन सिकाउँछ। सपना मर्‍यो भने मान्छे मर्छ। आमासित अझसम्म पनि सपना छ। मसित पनि सपना छ। सपना जो कहिल्यै पूरा हुँदैन। अहिलेसम्म पनि म सपनाकै कथा लेखिरहेको छु।


कथा शिविरमा मैले ढाँटेँ। मैले कथाहरू लेखिसकेको थिएँ। फेरि पनि लेखिरहेको थिएँ, छु। मैले पनि कथाजस्तो कथा लेखेको छैन।

बालकलाई चिनी खाने बानी थियो। आमा त्यसैले पीडित थिइन्। आमाले छोराको बानी छुटाउन गान्धीजीकहाँ लिएर गइन्।

‘६ महिनापछि लिएर आउनु, म निको गर्ने कोसिस गर्छु,’ आमाको आग्रहको जबाफ गान्धीजीले दिए। आमा हिस्रिक्क परिन्।

६ महिनापछि छोरा लिएर पुगिन्। गान्धीजीले बालकलाई भने, ‘यसरी अत्यधिक चिनी खानु राम्रो बानी होइन, विभिन्न रोग लाग्न सक्छ। अबदेखि चिनी नखानु है।’

अब भने आमाको कान्परो तात्तियो। ‘गान्धीजी, यति नाथे कुरा त म रातदिन भन्दै आइरहेको छु, यति जाबो कुरा भन्न ६ महिनापछि बोलाउनु भको ?       ’, आमाले रिस ओकलिन्।

‘तपाईं आफैं चिनी खानुहुन्छ, नानीलाई त्यो थाहा छ। ६ महिनाअघिसम्म म पनि चिनी खान्थेँ। तर, तपाईंको छोरालाई यति कुरा भन्न मैले ६ महिनादेखि चिनी खान छोडेको छु। चिनी खान छोडेपछि मात्र मैले यति भन्न सकेको हुँ,’ गान्धीजीले भने।

शिक्षा छोराले होइन, आमाले पाइन्।

कथा शिविरमा मैले त्यति भनेपछि मलाई आमा र गान्धीजीको यही कथाले सतायो। कथाकारले कथा नै लेखुन्। कथाको नाममा घिसापिटा नलेखुन् त भनेँ तर म आफैं चाहिँ के गरिरहेको छु त ?       

म मेरो त्यही घमण्ड तोड््न चाहन्छु। र, ‘लाइफ :अ बटरफ्लाई’ लिएर आएँ।


मैले लेख्न सुरु गरेकै कथाबाट हो।

मलाई अझ पनि थाहा ५, १० दिसम्बर १९९६। सिलगडीबाट ‘आजभोलि’ भन्ने दैनिक निस्कन्थ्यो। त्यही दिन मेरो कथा छापिएको थिया- ‘सपना’। त्यो कथा सपना मात्र त थिएन, कथा छाप्ने सपना पनि थियो। बोकेर-बोकेर-बोकेर त्यो कथा छापिएको पत्रिका त्यत्तिकै च्यातिएको थियो।

गरिबीले आँखाको सपना मात्र लुट्दैन, विपना पनि लुट्छ। हाम्रो पनि विपना लुटिएको थियो। बाबा बेरोजगार, आमा रक्सी पार्थिन्, थिइन् कट्टेल्नी छेत्री बुहारी। बसेकी थिइन् तामाङ बाजेको घरमा।

बाबा जन्मिएपछि बाजेको कान्छी स्वास्नी बोजुलाई बाजेले छोडिदिए। बोजुले तामाङ बाजेसित बिहे गरिन्। बाबा बोजुलाई पछ्याउँदै आए। त्यहीँ बसे अनि आमालाई बिहे गरे। मलाई बोजुले चपाएर गोरुको मासुको लिटो खुवाँउथिन् रे। आमा मावाली जानुहुँदा म पछ्याउँथेँ।

‘घरमा केको मासु खान्छौ भानिज,’ मामाहरू सोध्थे।

‘गोरुको’, भन्थेँ। अनि आमा लाजले मूच्र्छा पर्थिन्।

जहिल्यै मावाली जाँदा ‘खसीको मासु खान्छु भन्नु’ भनेर आमा सिकाउँथिन्। तर, म गोरुको ठाउँमा खसी भन्न जहिल्यै बिर्सन्थेँ। निक्कै ठूलो हुँदा मात्र मैले खसीको मासु खाएको हुँ। परिवार यस्तो थियो। काठ काट््न बाबा जंगल जान्थे, आमा गाई गोठ र बारी।

म स्कुल।

हाम्रो परिवारजस्तै एउटा परिवारको मजस्तै एउटा छोरा गरिबीले थिचिएको बाल्यजीवन टेक्दै उठ्छ। त्यसको सपना भनेकै पढेर ठूलो हुनु। त्यसले पढ्छ पनि। खै कति पढ्छ, त्यो चाहिँ मैले लेखेनछु। म दसौं        श्रेणी पढ्थेँ, त्यो पात्र पनि त्यति नै पढ्थ्यो कि ?       

सिन्कोना बगानका बेरोजगार परिवारका आमाबाबाले यसै पनि पढाएको भनेको त्यही माध्यमिकसम्म त हो। त्यहाँदेखि उता र कलेज पढाउने बुता जुटाउनु गाह्रो। अनि माध्यमिक मात्र गरेको केटाले के पाउँथ्यो नोकरी ?       

तर एकदिन त्यो पात्रले सरकारी नोकरी पायो। फाटेको चोलो लगाउने आमाले आशीर्वाद दिइन्। बाबाले खुसी मनाउन रक्सी खाए।

‘एइ मने गाईलाई घाँस काट्न जा’, पात्रको आमा कराइन्। ऊ ब्युँझियो। ऊ ओछ्यानमा थियो। नोकरी पाएको कुरा त सपना पो थियो।

त्यो ‘सपना’ भन्ने शीर्षकको कथाको सार यस्तो थियो।

मैले त्यो कथा आमालाई सुनाएको थिएँ। आमा रोएकी थिइन्। र, भनेकी थिइन्, ‘तेरो कथा कथै त हो।’

सपनाले मानिसलाई जिउन सिकाउँछ। सपना मर्‍यो भने मान्छे मर्छ। आमासित अझसम्म पनि सपना छ। मसित पनि सपना छ। सपना जो कहिल्यै पूरा हुँदैन। अहिलेसम्म पनि म सपनाकै कथा लेखिरहेको छु। लाइफ :अ बटरफ्लाई ती सपनाहरूका फेहरिस्त हुन्।

मलाई सुमित्र काकीले कथाबाट सपना देख्न सिकाइन्।

ठूलो काकाले भर्खर बिहे गरेका थिए। सुमित्र काकी (अहिले साथ छैनन् काकासित) मेरो साथी थिइन्। काकी प्रेमिल थिइन्। उनको सपना मनले रोजेको केटोमा दुःखसहितको जीवन पाउनु थियो।

‘केटा प्रेम गर्ने होस्, जस्तै दुःखसित पनि लड्न सक्छु,’ काकी भन्थिन्।

‘तर तपाईंले त बिहे गरिसक्नु भयो त काकी,’ म भन्थेँ।

‘त्यसै कारण त तिमीलाई मेरो कथा लेखिदेऊ भनेको,’ भन्थिन् र आफ्नो मरेको सपना सम्झिन्थिन्।

उनी दैनिकजस्तो आफ्नो कथा सुनाउँथिन्। म स्कुलको नेपाली खातामा त्यो लेख्थेँ। डल्लै पन्नामा मैले सुमित्र काकीको कथा लेखेको थिएँ।

हामीले त्यसलाई उपन्यास मानेका थियौं। काकी त्यसलाई छाप्न चाहन्थिन्। मैले पनि त्यो छापेर आफू उपन्यासकार हुने सपना पालेको थिएँ। कुनै न कुनै दिन त काकीले त्यो उपन्यास छाप्लिन् र म उपन्यासकार बनुँला, यो मेरो स्वार्थ थियो जो कहिल्यै पूरा भएन।

किनभने छाप्नलाई न काकीसित पैसा थियो न मसित।

अहिले मैले बिर्सें, काकालाई छोडेर जाँदा सुमित्र काकीले त्यो खाता पनि लगिन् कि ?       

काकी अन्तै गइन्। तर, मलाई लेखक बन्ने सपना दिइराखेर गइन्।

कथाको पहिला किताब म गाउँमा काकीकै बाहुलीबाट विमोचन गर्नेछु। र, भन्ने छु, लाइफ:अ बटरफ्लाई।

के भन्लिन्, जवाफमा काकीले ?       


छापिएको ‘सपना’ कथा गाउँका बढी, दिदी, दाजु, साथी, भाइबहिनी ककसलाई सुनाइनँ र मैले ?        त्यही कथा सुनेर छ्यामा साबित्री कट्टेलले मलाई एउटा खाता किनिदिएकी थिइन् र भनेकी थिइन्, ‘अबोदेखि एसमा लेख्नु कथा।’

तर, मैले त्यो खातामा लेखेको थिएँ, कविता।

त्यही खातामा लेखेको पहिलो कविता थियो, ‘घर फर्कनलाई।’

मेरा आफन्तहरू भुटानमा थिए। उनीहरू शरणार्थी भए। भुटान सरकारले उनीहरूलाई लेखेटे, जसरी बर्माबाट लखेटे। के दार्जिलिङबाट पनि यसरी नै एकदिन नेपालीहरू लखेटिन्न र ?        किन लखेटिन्छन्, नेपालीहरू यसरी ?        यही प्रश्नलाई मात्र पछ्याइयो भने अनेक चरित्रका उत्तरहरू भेटिँदै जाँदो हो। उनीहरूका कथा भेटिँदै जाँदो हो।

शरणार्थी दाजुहरू हाम्रो घरमा बस्थे। काठ बोक्थे, ट्युसन पढाउँथे। जे-जे काम पाउँथ्यो, गर्थे। मलाई दाजुहरूले दुःख गरेकोमा खुसी लाग्थ्यो, उनीहरूजस्ता परि       श्रमी मानिसलाई खेद्ने भुटान सरकारसित चाहिँ रिस् उठ्थ्यो।

‘भुटानमा हुँदो हो, यस्तो दुःख गर्नु पर्दैनथियो। आफ्नै देशबाट भाग्नु पर्‍यो,’ दाजुहरू भन्थे। सुनेर मलाई नमीठो लाग्थ्यो। भुटानका नेपालीहरू जुन लक्ष्यका निम्ति लडे, त्यही भत्काइयो। उनीहरूले जुन सपना देखेका थिए, त्यही तोडियो। उनीहरूको कथा तोडियो, मोडियो। यद्यपि, उनीहरूसित सपना जिउँदै छ। लक्ष्य जिउँदै छ।

मैले लेखेको पहिलो कविता उनीहरूबारे नै थियो।

भुटानबाट खेदिनुपरेको कुनै भुटानी नेपालीको घर फर्कने संकल्पको कविता। त्यो। १६ दिसम्बर १९९६ को ‘सगरमाथा’ साप्ताहिकमा छापिएको थियो। त्यही मेरो पहिलो कविता थियो, छापिएको।

अहिले दाजुहरू कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही कता पुगेका छन्। परिवारसितै। आफ्ना कथा आफूसितै बोकेर। सपना आफूसितै बोकेर। संघर्ष आफूसितै बोकेर।

बेलाबेला फेसबुकमा अनलाइन कुरा हुँदा उनीहरू भन्छन्, ‘सांस्कृतिक, जातिको पहिचानको लागि आन्दोलन गरिएको थियो, अहिले यहाँ न त संस्कृतिको कुरा गर्नु, न त जातिको। जिउनको लागि संघर्ष जतै बसे पनि उस्तै छ भाइ।’

अहिले पनि दाजुहरूको कुराले म बिथोलिन्छु।

त्यसपछि मलाई लाग्यो, संसारका जम्मै कथा एउटा संघर्षशील मानिसलाई पछ्याउँदा भेटिन्छ। एउटा मानिसको संघर्ष नै जम्मै शास्त्रको बीउ हो। समाजशास्त्र, राजनीतिशास्त्र, विज्ञान, दर्शन, प्रविधि, ज्ञानानुसासनका जम्मै पाटो त्यही संघर्षको ढोकाबाट निस्किएका उज्याला किरणहरू हुन्।

चिमामाण्डा अदिचिको एउटा स्पिच छ- दी डेन्जर अफ अ सिंगल स्टोरी। यसमा उनले कुनै पनि स्थानको संस्कृतिलाई सहीरूपमा नहेर्दा अथवा त्यसलाई सहीरूपले प्रस्तुत नगर्दा हुने खतराबारे बोलेकी छन्।

संघर्षका प्रकृति अनेकानेक हुन्छन्। मैले महानगरीय जीवनलाई पछ्याउँदा भेटेका केही कथा लेखेँ। दुई-एक संघर्षबाट जीवनलाई हेर्न यो मेरो रहर कथाले पूरा गरिदियो। अहिले मेरो रहर खतरामा छ। अहिले म त्यही खतरा भोग्न तयार छु।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.