धर्मेन्द्र अर्थात् राता बाघ

धर्मेन्द्र अर्थात् राता बाघ

‘गणितभन्दा पर कोही छ ?

छ त एउटा जून टिपी दिनु छ

अंकभन्दा कोही त छ

उनी अगणित, असंख्य, बेहिसाब

या सोल्टिनी

जेहोस् हिसाबभन्दा टाढा कोही न कोही त छ

उनैलाई आज एउटा चाँपफूल टिपिदिनु छ।’

               -धर्मेन्द्रविक्रम नेम्बाङ, ‘सोल्टिनीको नाउँमा’बाट।

उसो त उनी साहित्यिक मञ्चहरूमा खासै उभिँदैनन्, उभ्याइँदैनन्। उभिइहाले पनि खुल्दैनन्। उनको आफ्नै नियम-कानुन हुन्छ आफैंसित। अनुहारको भावमा चाहिँ बुझ्नुपर्ने हुन्छ कि त्यहाँ उनले कसैलाई पत्याइरहेका छैनन्।

उनी अर्थात् धर्मेन्द्रविक्रम नेम्बाङ।

चार वर्षअघि एक साहित्यिक विमर्शको मञ्चमा धर्मेन्द्र, सञ्जीव उप्रेती र म थियौं। सहजकर्ता थिए, उज्ज्वल प्रसाईं। उज्ज्वलले धर्मेन्द्रलाई थुप्रै चर्का प्रश्न गरे, बौद्धिक प्रश्न गरे। धर्मेन्द्रले सुनिदिए, बस सुनिदिए। उत्तर दिएनन्। बरु ‘किताबमा लेखेको छु, पढ्नोस्’ भनेर टर्रो जवाफ दिए। फ्लोरबाट खगेन्द्र संग्रौलाले प्रश्न राखे। जवाफमा धर्मेन्द्रको उही पारा थियो- ‘पत्रिकामा लेखिदिउँला, त्यहीँ पढ्नोस्।’

विमर्श सकिएपछि चिया पिउँदै गर्दा मैले धर्मेन्द्रलाई भनेँ, ‘तपाईंले प्रश्नको उत्तर दिनुपथ्र्यो। तपाईंको ‘रंगवाद’बारे मासलाई प्रस्ट पार्नै पथ्र्यो। पन्छिनु हुन्नथ्यो।’ उनले फिस्स हाँसेर उल्टै सोधेका थिए- ‘कल्ले बुझ्न सक्थ्यो ? ’ धर्मेन्द्रले त्यो मञ्चलाई पनि पत्याएका थिएनन्।

चिया पिएपछि धर्मेन्द्र त गइहाले। तर, धेरैले उनका बारे झोंक पोखे। स्वयम् उनकै रंगवादी सदस्य चन्द्रवीर तुम्बापोले समेत मन दुखायो। गुनासो गर्‍यो र भन्यो- ‘खुलिबिन्दाङ (खत्तम भएछ) बूढो।’ अन्त्यमा उपेन्द्र सुब्बाले सबैलाई थम्थमाए, ‘मान्छेहरूमा बौद्धिक सामन्तपन पनि हुन्छ। आफू मात्रै जान्दछु, अरूले केही जान्दैनन्, बुझ्दैनन्। धर्मेन्द्रमा पनि त्यो अहम् छ। उसको ज्ञान, बौद्धिकता अरूले बुझ्न सक्छ भनेर ऊ पत्याउँदैन। भको यति हो। मान्छे त ऊ क्षमतावान् छ, प्रतिभा देखाउन भने मान्दैन।’

धर्मेन्द्र अर्थात् बहुरंगवादी चिन्तक, ठीक यस्तै हुन् कि ? धेरै समयसम्म मलाई यही ‘ह्याङओभर’ भइरहेको हो।

मुन्धुममा मन

कवि मेचीपुत्र भन्दै थिए- ‘कुनैबेला धर्मेन्द्र दाइको कोठामा गएको थिएँ। कोठाभरि किताबैकिताब देखेर म छक्कै परेको थिएँ। मलाई त लाइब्रेरी पो हो कि लागेको थियो। ओछ्यानभरि पनि किताबैकिताब।’

धर्मेन्द्रको कोठामा जाँदा मलाई पनि यस्तै हुन्छ। उनी असाध्यै अध्ययनशील छन्। सबथोक पढेका छन्। डेरिडा, वार्थ वा नित्से। हेगेल, माक्र्स केही बाँकी राखेका छैनन्। रविन्सन, डिकिन्सन कसैलाई छाडेका छैनन्। अफ्रिकन साहित्यको छिद्रछिद्र भ्याएका छन्। पश्चिमा दर्शन, तिनमा आधारित साहित्य मात्रै होइन; पूर्वीय मिमांशा सप्पै खाएका छन्। वेद, पुराण या कुरान सप्पैलाई तौलेका छन्। अंग्रेजी भाषा र साहित्यमा दरिलो दक्खल छ उनको।

धेरै ज्ञान गरे, पढेपछि मान्छे सिद्धान्तको पछि लाग्न थाल्छ। उसको सिर्जना कम हुँदै जान्छ। यस्तो मान्यता धेरैमा छ। धर्मेन्द्रको हकमा मैले पनि यस्तो नसोचेको होइन। ममा सधैं यो पीर चिन्ता थियो। तर, ठीक यो समय उनी मुन्धुमी मिथकमा आइपुगेर टक्क अडिएका छन्। मुन्धुम कसरी विशिष्ट छ ? उनको बुझाइ छ, ‘मुन्धुम व्यावहारिक छ। यो मानिसको दिनचर्यामा साथसाथै छ। हाम्रो मिथकीय परम्परा अब सैद्धान्तिक हुनुपर्छ।’ यहीँनेर उनी घोत्लिएका छन्। फलत:उनको लेखनको सौन्दर्य अब यतैतिर मोडिएको छ। जस्तो कि—

‘ए, माथि या उड्दै गरेको आकाशमा कोही छ ? छ भने है

ए, तल या खस्दै गरेको पातालमा कोही छ ? छ भने है

ए, घुम्दै गरेको शून्यमा कोही छ ? छ भने है

आशा गरेर÷आँट गरेर

ए, छैन भने त नि वालै फरर...

कोही भनेको नि

हावा-बतास, बादल-पानी,

उज्यालो-अँध्यारो, आगो-घाम

या यस्तै उस्तै तिमीहरू केही...

               -‘मुन्धुममा वर्णित धर्मेन्द्रको अन्तिम प्रेमकथा’बाट।

साहित्यमा मुन्धुमी चेत र मिथकलाई सैद्धान्तिक लैस दिँदै उच्च कल्पनाशीलताको सौन्दर्य निर्माण गर्नु अब धर्मेन्द्रको अभीष्ट हो, भएको छ।

बोझिलो बहुरंगवाद

लेख्ने होइन, खेल्ने। लेखक होइन, खेलक। साहित्य, सिर्जना भनेको खेल हो जीवनको। अथवा जीवन नै एउटा खेल हो अनि यो समाज, यो जगत् एक खेलमैदान। धर्मेन्द्र यही मान्यता राख्छन्। जीवन त छोटो छ, तब ह्रस्व अर्थात् ‘जीवन’ खेलौं (लेखौं)। साहित्य त अनन्तका लागि हो, तब दीर्घ अर्थात् ‘साहित्य’ मानौं। परम्परामाथिको प्रहार सहज स्वीकार्य हुने कुरै भएन। भाषा र व्याकरणमा समेत आफ्नै मानक खेलेपछि उनको ‘बहुरंगवाद’ बोझिल र भद्रगोलको ‘ट्याग’ लागेर हैरान पारिएको छ, हो। उत्तरआधुनिक नक्सामा विनिर्माण खेल्ने उनको आदत जो छ। योमाथि प्रश्न त उठिहाल्छ।

‘धर्मेन्द्रका कविता ठूला र बलिया पत्थर हुन्। जसमा छिनोले कुँद्न निक्कै मुस्किल पर्छ। यी अकविता रचना गर्छन् तर पूर्ण कविता लेख्छन्।’

नेपाली मानिसहरू सांस्कृतिक अन्तरघुलनको मनेविज्ञानले सोच्छन् र त्यसरी नै बाँच्छन्। पहिलेको ‘रंगवाद’मा यस्तो थियो। तर होइन, नेपाली समाज मि िश्रत छ। यहाँ विविध जाति छन्। तिनका आआफ्नै भाषा संस्कृति, सभ्यता र दर्शनशास्त्र छन्। तिनको आ-आफ्नै विशेषता छ। त्यही भएर आज तिनैको साझा बिम्बमा ‘बहुरंगवाद’ बनाएका छन्। यही आयामबाट जीवनलाई बुझौं, जगत्लाई बोध गरौं। धर्मेन्द्रले भनेको यही हो। अब ‘बोझिलो भो’ भनेर लफडा गरिरहनु पर्दैन।

यति हो, कसैले झेली खेल्छन्, तत्काल जित्छन्। पछि ‘डोपिङ’मा पर्छन्। तिनको पदकसमेत खोसिन सक्छ। यो बितिसकेपछिको कुरा हो तर, निर्मम सत्यचाहिँ के छ भने जतिबेला उसले झेल गरेर जितिरहेको थियो, त्योबेला एउटा इमानदार मानिस हारिरहेको थियो। हो, उसैका बारे गम्भीर हुने हो। तब, धर्मेन्द्रको साहित्यलाई पढ्न र बुझ्न नयाँ चेत र दार्शनिक मस्तिष्क चाहिन्छ। कवितामै पनि अरू कवि कनेर कविता लेख्छन्, धर्मेन्द्र मात्र यस्ता कवि हुन्, उनी हेपेर कविता लेख्छन्। रिमाल, भूपि या देवकोटाको फ्रेममा राखेर धर्मेन्द्रलाई पढ्न सकिँदैन। बोझिल भन्ने कुरा नयाँ यतिको हो।

रातो बाघको राग

पछिल्लो समय नेपाली साहित्यको एकखाले बजारमा ‘नगरकोटी (कुमार नगरकोटी) ट्रेडमार्क’ छ। लेखनमा उनको ‘बहुरंगी कोरियोग्राफी’ले ‘फिक्सन डिजाइनर’को लेपन नै पाएको छ। धर्मेन्द्रले त सुरुवाती चरणमै कवितामार्फत यस्तो गरेका थिए। आख्यानमै पनि ‘ट्राभलिङ फिलोसफी’को सौन्दर्य चिन्तनमा ‘रातो बाघ’ उपन्यास लेखे। प्रयोगहरूको पनि भरपुर प्रयोग गरे।

‘ट्राभलिङ फिलोसोफी’ थियो, रातो बाघ। कतिले पढे ? पढ्नेहरू कतिले दिमाग जोते, बुझे ? बुझ्नेहरू कतिले डाहा गरे ? कतिले ‘थ्योरीहरूका अघि थ्योरी’ थामे ? कुनै खबर आएन। ‘मिडिया-माइन्ड’ माउसुली बनेर कुन भित्तोतिर दगुर्‍यो ? पत्तो नै भएन।

हो, धर्मेन्द्र स्वयम् मिडिया मैत्री छैनन्। यसैले उनका लेखनबारे विमर्श भएन। यतिसम्म कि ‘रातो बाघ’ लेखिसकेपछि उनले एक प्राध्यापकलाई पाण्डुलिपि पढ्न दिए। पाण्डुलिपि पढ्दै जाँदा ती प्राध्यापक यस्तरी प्रभावित भए कि ‘रातो बाघ’कै प्रभावमा तिनले अर्को उपन्यास नै लेखिभ्याए। त्यो उपन्यासले बजारमा चर्चा नपाउने कुरै भएन, पायो। धर्मेन्द्र हेरेको हेर्‍यै भए। करिब दुई वर्षपछि मात्र ‘रातो बाघ’ आयो। शनिबारे टिप्पणीहरूमा परेन ‘रातो बाघ’। तरै, त्यसको राग भने अहिलेको साहित्यमा ‘मार्केटेड’ छँदै छ।

मञ्जुर धर्मेन्द्र

कांग्रेसको राजनीति गर्छन् धर्मेन्द्र। राजा ज्ञानेन्द्रको संकटकालविरुद्ध विद्यार्थी राजनीतिको केन्द्रमै थिए। हस्तक्षेपकारी भूमिकामा थिए। तर, उनै धर्मेन्द्र राजनीतिमा जति खुलेआम थिए, साहित्यिक माहोलमा सधैं सुषुप्त रहे, सुषुप्तमै काम गरे, गरिरहे। अघि ‘रंगवाद’ हाँकिरहेका थिए, लोकतन्त्र प्राप्तिपछि ‘बहुरंगवाद’को मुद्दा उठाए।

सांस्कृतिक अभियानका पक्षमा जब्बर माक्र्सवादीजस्ता लाग्ने धर्मेन्द्र दमकमा उभिँदा एक परिपक्व नेताजस्तै भावुक भएर भन्दै थिए- ‘कुनै एउटा पाटोमा क्रान्ति छुट्यो भने त्यसले पूर्णता पाउँदैन। सबै अंगमा क्रान्ति पुग्नुपर्छ। हामी सबै सुखी नहुँदा राज्य सफल हुँदैन। त्यसैले साहित्यिक÷सांस्कृतिक क्रान्ति छुट्नु हुँदैन।’

त्यसो त नेपाली साहित्य र संस्कृतिका लागि उर्बर ठाउँ हो, प्रदेश नं. १। दर्जनौं साहित्यिक अभियानहरू यहीँबाट सुरु भएका छन्। सिर्जनशील अराजकता, उत्तरवर्ती सोंच, बहुरंगवाद, मुक्त अभियान, फरक आयाम, नवआयाम, कुकुर कविता वा चामलवाद यी सबैका अभियन्ता यही भूगोलका हुन्। उता विदेशबाट ‘युद्ध-साहित्य’, ‘भयवाद’, ‘नवचेतना आग्रह’जस्ता चिन्तन आएका छन्, तिनलाई हाँक्ने पनि प्रदेश नं. १ मै हुर्किएकाहरू हुन्। तर, कहिलेकाहीँ लाग्छ, पृथ्वीनारायण शाहले भनेको ‘नमासिन्या जात’को आपुंगी मनोविज्ञानले पो यति धेरै अभियानहरू जन्मायो कि ? सबैको सारमा ‘पहिचान’को खोजी छर्लंगै छ। तब किन यति धेरै भँगालाहरू ? के एकै ठाउँमा हुन सम्भव छैन र ? पछिल्लो समय धर्मेन्द्र र मैले धेरैपटक यसबारे विमर्श गरेका छौं, चिन्ता जनाएका छौं।

सबैको अस्तित्वको कुरा छ। अधिनायकवादले ‘पहिचान’को आवाजलाई त्यसै दपेट्छ। उसै ध्रुवीकरणको राजनीति सुरु भइसकेकै छ। म भन्छु, ‘कम्तीमा अब यी छुट्टाफुट्टा आन्दोलन एउटै मोर्चामा उभिनै पर्छ।’ धर्मेन्द्र मञ्जुर हुन्छन् र थप्छन्, ‘तपाईं अघि सर्नोस् ! एउटा चुम्लुङ (भेला) बोलाऔं। ‘बहुरंगवाद’को तर्फबाट सबभन्दा पहिले म हस्ताक्षर गरिदिन्छु।’       

दमकमा दम

कसैलाई नपत्याउने धर्मेन्द्रले अन्तत:दमकलाई भने पत्याए। लिटरेरी ग्रुपले आयोजना गरेको ‘एकल कविता’ वाचनमा उनी हौसिएरै उभिए। उनले कविता मात्रै भनेनन्, बीचबीचमा शालीन शैलीमा ‘बहुरंगवाद’को सैद्धान्तिक कुरा पनि गरे। लामो साधनापछि ज्ञान प्राप्त गरेर मानिसहरूबीच आएका कुनै ‘ज्ञानी’जस्तै पारामा उनले आफ्नो बृहत् ज्ञानलाई कवितामा उतारे। दर्जन बेसी कविता सिद्धान्त सुनाएझैं सुनाए। ‘एकदिनको विसर्जन’ कवितामा यसो भने—

एकदिन थियो, विसर्जन भयो भन्दा पुगिहाल्छ

दिनलाई पनि जसरी परिभाषा गर्दा भइहाल्छ—

घाम थियो, फुट्यो। समयको धाँजा फाट्यो

मोबाइल थियो, हरायो। फेसबुक थियो, डिएक्टिभ भयो

अरू थप्दा पनि हुन्छ—

हिँड्दै गरेको घाम चुँडिएर खस्यो

बगैंचाछेउको पोखरीमा डुब्यो

हेर्दै गर्दा बग्दै गरेको समुद्र अकस्मात सुकेर सिद्धियो

बहँदै गरेको हावा रोकिएर हावा शून्य भयो

धून दिँदै गरेको सारंगीको तार टुक्रियो

उड्दै गरेको परेवा धनुकाँडले लागेर जमिनमा पछारियो

‘म भनेको म नै हुँ’, ‘मुन्धुममा वर्णित धर्मेन्द्रको अन्तिम प्रेमकथा’जस्ता छुट्टाछुट्टै स्वाद र बान्कीका डेढ दर्जन कविता सुनाएका धर्मेन्द्रले बहुरंगी सौन्दर्यको अब्बल प्रस्तुति गरे। दमकमा सिर्जनात्मक दम देखाए। कृष्ण बराल भन्दै थिए, ‘धर्मेन्द्रका कविता ठूला र बलिया पत्थर हुन्। जसमा छिनोले कुँद्न निक्कै मुस्किल पर्छ। यी अकविता रचना गर्छन् तर पूर्ण कविता लेख्छन्।’

हो, धर्मेन्द्र असाहित्य लेख्छन् तर पूर्ण साहित्य खेल्छन्। ‘रातो बाघ’को गातामा धर्मेन्द्रको आफ्नै फोटो छ। फोटोको अनुहारमा बाघको पञ्जाले कोरिएको वीभत्सता छ। घाइते मान्छे अर्थात् रातो बाघ धर्मेन्द्र। साहित्यका घाइते। यी अब आएका छन्, गर्जनका साथ साहित्यमा डट्ने प्रतिबद्धता जनाएका छन्। र अब, मभित्रको ह्याङओभर पनि सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.