बगरको तरबुजाले फेरिएको जीवन

बगरको तरबुजाले फेरिएको जीवन

सन्तोष यादव/शम्भु यादव

सिरहा : असार साउनतिर कमला नदीको नाम सुनेरै यस भेगका मानिस तर्सिन्छन्। असार साउनमा आउने कमला नदीको भेलले बर्सेनि कतिपयको जीवनलिला समाप्त पारिदिएको छ। तर उही नदीको बगर कतिपयका लागि जीवनस्तर उकास्ने गतिलो आधार बन्न थालेको छ। अहिले निम्न आए हुने हजारौं किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको छ, कमलाको बगर।

बगर यतिबेला कुनै उब्जाउ जग्गामा हुने फसलभन्दा कम छैन। सिरहा सदरमुकामबाट करिब १० किलोमिलोमिटर पश्चिम उत्तरमा पर्छ भोक्राहा गाउँ। कल्याणपुर नगरपालिका ६ मा पर्ने भोक्राहाका रहिमान मियाँको दैनिकी आजभोलि कमलाको बगरमै बित्छ। उनले बगरको सात कठ्ठा जमिनमा तरबुजा लगाएका छन्।

५० वर्षीय रहिमानले १० वर्षयता कमला बगरमा तरबुजा खेती गर्दै आएका छन्। पहिलो पटक सात कठ्ठा बगरमा तरबुजा लगाएका उनले २४ हजार खर्चेर डेढ लाख आम्दानी गरेका थिए। त्यहीँ आम्दानीले उनलाई तरबुजा खेती गर्न लोभ्यायो। उनको सफलता देखेर गाउँका अन्य गरिब तथा निम्न आय भएका किसानले बगरमै तरबुजा, काँक्रो, फुइट, फर्सीलगायत फलफूल र तरकारी खेती उत्पादन गर्न थालेका छन्।

आम्दानी राम्रो हुन थालेपछि रहमानले बर्सेनि खेती विस्तार गर्न थाले। यस वर्ष ७० हजार लगानी गरेर उनले एक बिघा बगरमा तरबुजा र तीन कठ्ठामा काँक्रो पनि लगाएका छन्। यो वर्षको आम्दानी सबै वर्षा र असिनाले खाएकाले रहमान चिन्तित देखिन्छन्। यस वर्ष लगानी र मेहनतअनुसार आम्दानी नहुने उनी बताउँछन्। ‘समय अनुकूल नभएपछि पुँजी पनि उपर नहुने अवस्था आयो’, उनी भन्छन्, ‘बीउ लगाउने बेला हुस्सुले असर ग¥यो, फल्ने बेलामा पटक–पटकको वर्षा र असिनाले।’

‘बीउ रोप्ने बेला हुस्सुले खायो’, उनले थपे, ‘हुस्सुका कारण पहिलो पटक लगाएको बीउ उम्रिएन। त्यसपछि फेरि रोपेँ। तर, फल्ने बेलामा असिनाले फूल झारिदियो।’ असिनाको चोटले तरबुजाका पातहरूसमेत नष्ट भएकाले एकदमै कम फलेको रहिमानले बताए। उनका अनुसार असिनाको चोटले फल पनि ठूलो हुन सकेका छैन। ‘विगत वर्षमा १० किलोसम्मका तरबुजा फल्थे’, उनले भने, ‘तर यो वर्ष असिनाको चोटले साइज घटायो। २÷३ किलोभन्दा ठूलो साइजको एउटै फलेन।’

कल्याणपुर नगरपालिका ६ भोक्राहा गाउँका तीन सय ७३ दलित घरधुरी रहेकोमा दुई सय ५० परिवारले कमला बगरमा तरबुजा र काँक्रो खेती गर्ने गरेका छन्।

रहिमानजस्तै चिन्तित बनेका छन्– किसान विन्देश्वर राम। १५ कठ्ठा बगरमा तरबुजा खेती गरेका रामले यो वर्ष आम्दानी नहुने बताउँछन्। गत वर्ष एक कठ्ठा बगरमा काँक्रो र १२ कठ्ठामा तरबुजा रोपेका थिए। काँक्रोबाट ४५ हजार र तरबुजाबाट ७३ हजार आम्दानी गरेका राम भन्छन्, ‘यो वर्ष त घरबाटै घाटा व्यहोर्नुपर्ने अवस्था छ।’ उनले असिनापानीले क्षति पु¥याएपछि बर्वाद भएको दुःखेसो गरे।

‘गत वर्ष यतिधेरै तरबुजा र काँक्रो फलेको थियो कि खुट्टा राख्ने ठाउँ थिएन, हरियालीबाहेक एक इन्च पनि बगर कतै देखिँदैन्थ्यो’, हातले बगर देखाउँदै भने, ‘हेर्नुस् यो वर्ष त जताततै बगर छ। तरबुजा पनि सानो÷सानो फलेको छ।’ यस वर्ष जस्तो क्षति कहिले पनि व्यहोर्न नपरेको उनले सुनाए। पहिले घरखर्च र छोराछोरीको पढाइ पनि तरबुजाको आम्दानीले नै भ्याउँथ्यो भने यो वर्ष लागत पनि नउठ्ने उनले बताए।

तरबुजा खेतीमा बीउ रोपेदेखि फल टिप्ने बेलासम्म सात महिना लाग्छ। वैशाख र जेठ महिनामा फल टिपेर बेच्ने गरिन्छ। कमलाको बगरमा खेती गर्न गाह्रो भए पनि आफ्नै जग्गा नभएका कारणले बाध्य भएर गर्नुपरेको स्थानीय बताउँछन्। ‘नदीको बालुवा हावामा उडेर बोटलाई छोप्छ’, किसान रामले भने, ‘फल्ने बेलामा असिना पानीले नष्ट पार्छ।’

कल्याणपुर नगरपालिका ६ भोक्राहा गाउँका तीन सय ७३ दलित घरधुरी रहेकोमा दुई सय ५० परिवारले कमला बगरमा तरबुजा र काँक्रो खेती गर्ने गरेको वडा अध्यक्ष मोतिबुल राइन बताउँछन्। उनका भोक्राहामा करिब ५० प्रतिशत मुस्लिम छन्। ‘कुजरा मुस्लिमको मुख्य पेसा नै तरकारी उब्जाउने र त्यहीँको व्यापार गर्ने हो’, उनले भने, ‘मुस्लिमबाहेक चमार, पासवान, मुसहरले पनि बगरमा तरबुजा खेती गर्छन्।’

सिरहातर्फका भेडिया, निर्दना, इटारी, प्रसाही, सारश्वर, बेल्हा, बसपिटा, पटेर्वा, गम्हरिया, बर्रेबालगायत गाउँका किसानले पनि कमलाको बगरमा तरबुजा र काक्रो खेती गर्छन्।

अहेब पढेका राइन पनि बगरमा

भोक्राहाका अजित राइनले चार वर्ष अगाडि नै अहेब पास गरेका थिए। सरकारी जागिर खाने उनको सोच थियो। अहेब पास गरेपछि दुई पटक लोक सेवाको परीक्षा पनि दिए। तर नाम निस्केन। पछि उनले कमलाको बगरमा तरबुजा खेती गर्ने सोच बनाए। केही लगानी गरे, पहिलो वर्ष नै एक लाख आम्दानी गर्न सफल भए।

अजितले गत वर्ष पनि राम्रो आम्दानी गरेका थिए। ६० हजार लगानी गर्दा गत वर्ष करिब साढे तीन लाख आम्दानी भएको उनले बताए। तीन वर्षदेखि बगरमा तरबुजा खेती गर्दै आएका उनले यो वर्ष ७५ हजार लगानी लगाएर एक बिघा बगरमा तरबुजा रोपेको सुनाए। ‘यो वर्ष अहिलेसम्म ४÷५ हजारको तरबुजा मात्र बेच्न पाएको छु’, उनले भने, ‘असिनापानीले समस्या नपारेको भए अहिलेसम्म लाखौं रुपैयाँको बेचिसकेको हुन्थेँ।’

गर्मी मौसम अर्थात चैत, वैशाख, जेठ महिनामा तरबुजा बढी बिक्छ। गर्मी मौसममा तरबुजा खाँदा चिसो महसुस हुन्छ। त्यसैले पनि सर्वसधारण बढी खान रुचाउँछन्। अहिले बजारमा जताततै छ्यापछ्याप्ती तरबुजा खरिद बिक्री भइरहेको छ। यहाँ गर्मी सिजनमा करोडौं रुपैयाँ बराबरको तरबुजा भारतबाट आयात हुन्छ।

राइन भन्छन्, ‘सरकारले चाहायो भने तरबुजामा सिरहा आत्मनिर्भर बन्न सक्छ। बर्सेनि यहाँबाट मात्रै भारत पुग्ने करोडौं रुपैयाँ बचाउन सकिन्छ। तर यसतर्फ सरकारको ध्यान गएको छैन।’ उनले अहिलेसम्म कसैको सहयोग नपाएको बताउँदै व्यावसायिक रूपमा खेती गर्न कम्तीमा मलखाद, बीउविजन, सिँचाइका लागि पम्पसेट निःशुल्क उपलब्ध गराउन उनले सरकारसँग माग राखे।

सहयोग नपाएको गुनासो

तरबुजा खेतीका लागि यस वर्ष न कुनै संघसंस्था, न त सरकारी निकायले नै सहयोग गरेको स्थानीय रुवेदा खातुनको गुनासो छ। ‘ऋण लिएर खेती गर्नुपरेको छ’, उनले भनिन्, ‘तर यो वर्ष तरबुजा राम्रोसँग नफल्दा बर्बाद भए। ऋण पनि तिर्न सक्दिनँ।’ असिनापानीले बोटमा क्षति पु¥याएपछि औषधि छरे पनि नसप्रेको उनले सुनाइन्। १० कठ्ठामा तरबुजा खेती गरेकी उनी भन्छिन्, ‘एउटा बोटमा १० किलोसम्मका १०÷१० गोटा तरबुजा फल्थ्यो। तर यो वर्ष एउटा बोटमा २÷३ गोटा मात्र फल्यो, त्यसमा पनि २÷३ किलोको मात्र।’ उनले कम्तीमा बीउ र मलखाद पनि निःशुल्क दिन सरकारसँग माग गरिन्।

यहाँका किसान विन्देश्वर रामले तरबुजा फल्ने बेलामा असिनापानीले पु¥याएको नोक्सानीको क्षतिपूर्ति दिन सरकासँग माग गरे। दलित भएकै कारण सरकारले पनि हेपेको महसुस भएको बताउँदै उनले प्रश्न गरे, ‘यति धेरै क्षति भएको छ। हामी सबै किसान चिन्तित छौं। तर सरकारले क्षतिपूर्ति किन दिन सकेको छैन ? हामी गरिब दलितका लागि सरकार नै हरायो कि ? ’ उनले सरकारसँग तरबुजा खेतीको निःशुल्क बिमा गरिदिने नीति ल्याउन माग गरिन्।

बजार पुर्‍याउन झन्झट

बगरमा उब्जाएको तरबुजा बजारसम्म पु¥याउन झन्झट हुने गरेको स्थानीय बताउँछन्। व्यापारीहरू कहिलेकाही मात्र बगरमै तरबुजा किन्न आउने गरेको बताउँदै स्थानीय अतिबुल राइन भन्छन्, ‘धेरैजसो आफैं बजार जानुपर्छ। बजार लैजानुपर्दा एक त खेतको काम अवरुद्ध हुन्छ भने आफ्नै सवारीसाधन नभएर भाडामै धेरै रुपैयाँ बर्बाद हुन्छ।’ सिरहाको मिर्चैया, गोलबजार, लहान, सिरहा सदरमुकाम र धनुषाको यदुकहा, गोदार, ढलकेवरसम्म तरबुजा बिक्रीका लागि लग्ने गरेको स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.