रारा जाने बाटो
कर्णाली प्रदेश सरकारले २०७५ लाई रारा पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ। यही वैशाख १ गते तामझामसहित आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले पर्यटन वर्षको उद्घाटन पनि गरे। त्यस क्रममा प्रधानमन्त्रीले सबैलाई रारा पुग्न आह्वान गरे। तर, समुद्री सतहभन्दा दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको रारा पुग्न त्यति सजिलो भने छैन।
जुम्लाबाट पैदल अघि बढ्दा बाटोमा पर्ने हुच्ची लेक।
सुर्खेतबाट दुई दिन गाडी चढेपछि मुगुको गमगढी पुगिन्छ। स्थानीय गाडी ताल्चासम्म पुग्छ। त्यहाँबाट तीनदेखि चार घन्टाको पैदल यात्रापछि रारा पुग्न सकिन्छ। तर, गाडीको यात्रा सुविधाजनक छैन। सुर्खेतबाट ताल्चासम्म हवाई यातायातको सुविधा लिन पनि सकिन्छ।
भुलभुलेबाट मुगु जाने बाटोमा देखिने बाटो र पहाड। यहाँबाट रारा पुग्ने छोटो लेकाली बाटो सुरु हुन्छ।
पैदलयात्रा गर्न चाहनेका लागि भने सुर्खेतबाटै ६ देखि ७ दिनसम्मको हिँड्ने विकल्प पनि रोमाञ्चक हुन सक्छ। अथवा थोरै हिँड्न चाहनेले जुम्लासम्म हवाई वा गाडीको यात्रापछि पैदलमार्गबाट एक वा दुई दिनमा रारा पुग्न सक्छन्। रारासम्मको पैदल यात्रामा जुम्ला, कालीकोट, मुगु लगायतको दुर्गम गाउँको जीवन र प्राकृतिक छटाको मजा लिन सकिन्छ। दुर्गम पहाडी यी जिल्लामा खाने र बस्ने भनेजस्तो सुविधा भने नमिल्न सक्छ।
छायानाथ रारा नगरपालिकामा रहेको पिना गाउँ। पर्यटन वर्ष घोषणापछि यहाँ होमस्टे सेवा सुरु भएको छ।
मुगुको हुच्चीलेक हुँदै रारा जाँदै गर्दा देखिने हिमाली दृश्यहरू
रारा ताल
सुर्खेतबाट गमगढी जान गाडी चढेकी महिला