गुरुङ चोलाका स्वामी हर्कधीर

गुरुङ चोलाका स्वामी हर्कधीर

कास्कीमा सिकलेसदेखि अलिकति दक्षिणपट्टि मादी नदीको दाहिने पाखोमा खिलाङ नामक एउटा गुरुङ गाउँ छ। खिलाङबाट नेचु (कृजु) लामिछाने गुरुङको एक परिवार गोरखाको सिम्जुङ गएर त्यहाँ गढीकोट स्थापना गरेर बसेछन्। गोरखा बजारको उत्तरतिर एक दिनको बाटोमा अजिरकोट छ। त्यहाँदेखि अलिकति माथि भच्चेकको डाँडा छ। अहिले भच्चेकमा ससानो बजार नै बसिसकेको छ। भच्चेकदेखि अलिकति माथि सिम्जुङको पुरानो गढीकोट छ। कुनै मानव बस्ती नभएको अहिले यस ठाउँलाई सिम्जुङ ठुटे भनिन्छ। यहाँ पुराना भग्नावशेष छन्।

गोरखाको पश्चिम-उत्तरतर्फको प्रमुख किल्लाको रूपमा सिम्जुङ प्रसिद्ध छ। विसं १८३८ पुस २६ गते चौबीसी राज्यहरू मिलेर गोरखाको सिम्जुङ कब्जा गरी भच्चेकमा ठाना हालेर बसेका थिए तर चौबीसीहरू सिम्जुङमा ठहर्न नसकी सिम्जुङ छाडेर भागे। सिम्जुङबाट चौबीसीहरू भागेपछि गोरखा पुन:पश्चिमतिरको विजय अभियानमा लाग्यो। तद्नुसार विसं १९३९ मा लमजुङ विजय भयो। लमजुङ विजय भएपछि विसं १८३९ आषाढ शुक्ल अष्टमी बिहीबारका दिन लमजुङको कालीमराङठानामा लिएको सैनिक हाजिरीमा सिंजुग्या उमरा सै गुरुङ पनि सामेल थिए। उनका साथमा दुई जवान थिए। उनको खान्कीमा चार खेत थियो।

सिम्जुङे उमरा सै गुरुङका तीन भाइ छोरा थिए। उनीहरू सिम्जुङको पुरानो गढीकोट छाडेर यत्रतत्र लागे। जेठा छोराले सिम्जुङको पुरानो गढीकोटदेखि उत्तर-पूर्वमा अहिलेको सिम्जुङ गाउँ बसालेर त्यहाँका उमरा भएर बसे। माहिला छोराले सिम्जुङ गढीकोटबाट पश्चिम-उत्तरमा चेपे नदीको बायाँपट्टि आपुन थुम खडा गरेर त्यहाँको जिम्मावाल मुखिया भएर बसे। भीमसेन थापाको समयमा गोरखा दरबार निर्माण गर्दा आपुन थुमका मुखियाले ३२ हातको बाँस ल्याएर चढाउँदा उनले जग्गाको भोग गर्ने अख्तियार पाएका थिए।

स्वामी हर्कधीर सिम्जुङे उमरा सै गुरुङका कान्छा छोरा हुन्। अविवाहित उनी सेनामा जागिरे थिए। अहिलेको बाघदरबार भीमसेन थापाको घर हो। थापाले आफ्नो घरसँगै सुन्धारा र जोर धरहरा बनाएका थिए। उनले ननुहाएसम्म सुन्धारामा अरू दुनियाँदारले नुहाउन बन्देज थियो। एक दिन थापाले नुहाउनुभन्दा अघि कसैले सुन्धारामा नुहाएर गएको आलो फाल देखियो। कसले नुहायो होला भनेर चियोचर्चा गर्दा हर्कधीरले नुहाउँदो रहेछ भन्ने पत्तो लाग्यो। हर्कधीरको बारेमा सोधखोज गर्दा उनको आङमा चन्द्र-सूर्यको छाप छ, उनी सधैं नुहाईधुवाई र जप ध्यान गर्छन् भन्ने पत्ता लाग्यो। 

त्यसपछि एक दिन सबै सैनिकहरूले माथिल्लो आङमा लुगा नलगाईकन कवाजमा हाजिर हुनु भन्ने उर्दी भयो। सबै सैनिकहरू माथिल्लो आङमा लुगा नलगाईकन कवाजमा गए तर हर्कधीर भने अब मेरो भेद खुल्ने भयो भनेर आफ्नो आङलाई सेतो कपडाको टालोले छोपेर कवाजमा गए। हर्कधीरको आङमा चन्द्र र सूर्यको छाप रहेछ भन्ने कुराको पक्का निधो भयो। त्यसपछि हर्कधीरले मबाट कसैलाई कुनै अहित हुँदैन, म अब जागिर खान्नँ, योग कर्मतिर लाग्छु भनेर जागिर छाडी जोगी भए।

त्यसपछि हर्कधीर लमजुङ प्यार्जुङाको ढुंगेगुफामा बसेर जपतप गर्न लागे। गाउँलेहरूले उनलाई दाउरा ल्याइदिन्थे, दूध, दही, सिदा पनि दिन्थे। लमजुङ भुम्लिचोकका एक गुरुङ स्वामी हर्कधीरका भक्तधीर नामक चेला थिए। भक्तधीरका सन्तान अहिले पनि लमजुङ भूमलिचोकमा छन्।

लामा शेरजंग गुरुङले जुद्धशमशेर राणालाई यति वर्षको उमेर, यो साल, यो मितिमा राजा हुनेछ भनेर लेखेर दिएका रहेछन्। साँच्चै नै उनले भनेकै समयमा जुद्धशमशेर राणा नेपालका श्री ३ महाराज भएछन्।

स्वामी हर्कधीरले वनमा घाँसदाउरा गर्न जाने र भेडाबाख्रा चराउन जाने केटाकेटीलाई पढ्न सिकाउँथे। कखरा बाह्रखरी लेखेर भोटो र चोलोका तुनामा झुन्ड्याइदिन्थे। यसरी स्वामी हर्कधीरले गाउँले समाजमा शैक्षिक जागरण ल्याएका थिए तर गाउँलेहरूले शिक्षाको महत्व बुझ्न सकेनन्। जोगीले हाम्रा छोराछोरीलाई काम गर्न नदिएर बिगारे भनेर अवगाल दिए। त्यसपछि एक दिन स्वामी हर्कधीर गुफाभित्रै अल्पलिए। यसरी स्वामी हर्कधीर अल्पलिँदा गुफाभित्र बाजाको आवाज गुञ्जिएको थियो भन्छन्।

स्वामी हर्कधीरले सारेको पाण्डवगीताको हस्तलिखित प्रति मैले गोरखा आपुनका मुखिया डम्बरराज गुरुङको घरमा देखेको थिएँ। अहिले दिवंगत भइसकेका उनका छोराहरूसँग त्यस सम्बन्धमा सोधखोज गर्दा पत्ता लाग्न सकेन। गोरखा, आपुन, क्येब्रोङका नीलजंग गुरुङको संग्रहमा स्वामी हर्कधीरले गाएको निर्गुण भजनका हस्तलिखित प्रति पनि मैले देखेको थिएँ। ती भजन अहिलेको भूकम्पमा पुरियो भन्छन्। यसैगरी लमजुङ, प्यार्जुङको काठेस्वारामा स्वामी हर्कधीरले लेखेको पुस्तक छ भन्ने सुनेको छु।

 स्वामी हर्कधीरले लेखेको ज्योतिष, तन्त्रमन्त्र र निर्गुण भजनसम्बन्धी दुइटा पुस्तक कास्कीको घान्द्रुकका युवा नेता दीपकबहादुर गुरुङको संग्रहमा छ। ती दुइटा पुस्तकमध्ये एउटा पुस्तकको पुछारमा हर्कधीर लेखेको छ। यसबाट यी दुई पुस्तक स्वामी हर्कधीरले लेखेका हुन् भन्ने प्रस्ट हुन्छ। गोरखा-लमजुङका स्वामी हर्कधीरले लेखेको पुस्तक कसरी कास्कीको घान्द्रुक पुग्यो ? विचारणीय छ।

चन्द्रशमशेर राणाको समयमा लमजुङ मञ्ज्याङका शेरजंग गुरुङ लामा विद्यामा पोख्त थिए। उनले काशीका बाला गिरी स्वामीबाट पनि ज्योतिषशास्त्र र तन्त्रमन्त्र साधेका थिए। दरबारमा गुरुङको पहुँच थियो। चन्द्रशमशेरले गुरुङलाई सुब्बा पद दिएका थिए। 

चन्द्रशमशेर राणाका छोरा सिंहशमशेर राणाले पृथ्वीवीरविक्रम शाहका छोरी शाहज्यादी रमा शाह विवाह गरेका थिए तर शाहज्यादी रमा राणाको सन्तान भएको थिएन। गुरुङले जोखाना हेरेर शाहज्यादीले आफूभन्दा तल्लो जातको महिलासँग सैनी (मितिनी) लगायो भने छोरा जन्मन्छ भनेर आफ्नै जेठी छोरी राधिका गुरुङसँग शाहज्यादी रमा राणाको मितिनी लगाइदिए। त्यसपछि शाहज्यादी रमा राणाबाट अर्जुनशमशेर राणाको जन्म भयो।

लामा विद्यामा पोख्त गुरुङले एउटी कुष्ठरोगी रानीलाई पनि तन्त्रमन्त्र र औषधोपचार गरेर निको बनाइदिएका थिए तर दरबारका रानी-रानीहरूको षड्यन्त्रले गर्दा उक्त कुष्ठरोगी रानी त्यही लामासँग बसेको छ भनेर बात लगाइदिए। त्यसपछि उनलाई तोपको मोहोरीमा हालेर उडाइदिने भन्ने ज्यान सजाय तोकियो। त्यस बेला उक्त कुष्ठरोगी रानीले म यस लामासँग बसेको छैन, यसले मेरो ज्यान बचायो, किन यसको ज्यान लिन्छौ, बरु यसलाई चार भञ्ज्याङ कटाइदेऊ भनिन्। त्यसपछि उनी चार भञ्ज्याङ कटाइए र आफ्नै थातथलो लमजुङको मञ्ज्याङ आएर बसे।

लामा शेरजंग गुरुङले जुद्धशमशेर राणालाई यति वर्षको उमेर, यो साल, यो मितिमा राजा हुनेछ भनेर लेखेर दिएका रहेछन्। साँच्चै नै उनले भनेकै समयमा जुद्धशमशेर राणा नेपालका श्री ३ महाराज भएछन्। त्यसपछि जुद्धशमशेरले गुरुङलाई लिन लमजुङ, मञ्ज्याङमा रिसल्ला पठाए तर मलाई बिनाकसुर यस्तो नचाहिँदो बात लगाउने यी राणा खलकको म मुखै हेर्दिनँ भनेर उनी आउन मानेनन्। 
त्यसपछि जुद्धशमशेर राणाले टुँडिखेलको कवाजमा खरीकोटमा उभिएर यो चौबीस पल्टनमा शेरजंग लामाको शाखा सन्तान को छ ? भनेर उर्दी गर्दा मञ्ज्याङकै एकजना र मञ्ज्याङदेखि अलिकति माथि सल्लाबोटको एकजना कालीबहादुर पल्टनका गुरुङ सिपाहीहरू हामी छौं महाराज भनेर उभिए। जुद्धशमशेर राणाले ती दुई गुरुङ सिपाहीलाई तत्काल लप्टनको दर्जा दिए। लमजुङको मञ्ज्याङ र सल्लाबोटमा सुब्बा शेरजंग फिब्रोँ लामा गुरुङ र ती लप्टनका सन्तानहरू छँदैछन्।

शाहज्यादी रमा राणाका मितिनी शेरजंग गुरुङका जेठी छोरी राधिका गुरुङको विवाह स्वामी हर्कधीरका माहिला दाज्यूका वंशज गोरखा, आपुनका महावीर गुरुङसँग भएछ। यसरी थापाथलीको सिंहमहलमा शाहज्यादी रमा राणाको मितिनीका नाताले राधिका गुरुङ र उनका श्रीमान् महावीर गुरुङको आवतजावत थियो। कास्की, घान्द्रुकका जयबहादुर गुरुङ सिंहशमशेर राणाका हजुरिया कप्तान थिए। 

ललितपुर, कुपण्डोलमा हजुरिया कप्तान जयबहादुर गुरुङको घर थियो। यसरी थापाथलीको सिंहमहलमा गोरखा, आपुनका महावीर गुरुङ र कास्की, घान्द्रुकका जयबहादुर गुरुङको भेट भयो। त्यसपछि महावीर गुरुङमार्फत स्वामी हर्कधीरको कृति घान्द्रुकका जयबहादुर गुरुङकहाँ पुग्यो। कास्की, घान्द्रुकका दीपकबहादुर गुरुङ कप्तान जयबहादुर गुरुङका नाति हुन्।

स्वामी हर्कधीर दशनामी गिरी, जोसमनी वा कनफट्टा नाथ कुन सम्प्रदायका थिए ? त्यो कुरा थाहा पाउन सकिएको छैन। सिम्जुङ र आपुनका उनका दाइका सन्तानहरूले आफ्नो कुलपूजा र थानी मण्डली पुज्दा स्वामी हर्कधीरलाई जोगकर्मअनुसार रोट चढाउँछन्।

डा. स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ शीर्षक दिएर थुप्रै नेपाली सन्तहरूको जीवनी प्रस्ततु गर्नुभएको छ। गुरुङ चोलाका स्वामी हर्कधीर पनि यस्तै मिल्केका झिल्का हुन्। अहिले स्वामी हर्कधीरको स्मरण बिस्तारै मानिसको मानसपटलबाट लोप हुँदैछ। अत:स्वामी हर्कधीरमा भएको सिद्धि, उहाँका कृति र नेपालको धार्मिक एवं शैक्षिक जागरणमा उहाँले दिएको योगदानका सन्दर्भमा अझै अघि बढेर अध्ययन अनुसन्धान गर्न अत्यावश्यक छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.