मांसाहारी बुद्धजयन्ती ?

मांसाहारी बुद्धजयन्ती ?

आस्था घरमा प्रवेश गर्दा घर मन्दिर बन्छ,

आस्था भोजनमा प्रवेश गर्दा भोजन प्रसाद बन्छ,

आस्था व्यक्तिमा प्रवेश गर्दा व्यक्ति भगवान् बन्छ।

बुद्ध जयन्तीमा मांसाहार

चेतनाको एउटा स्तर यस्तो पनि हुन्छ जहाँ कसैले झूट बोलेकोमा उति दुःख लाग्दैन जति ऊप्रति विश्वास उठेकोमा दुःख लाग्छ। वैशाख पूर्णिमाको दिन अघिल्ला वर्षजस्तै यसपालि पनि भव्य रूपले बुद्ध जयन्ती मनाइँदै छ, तर दुःखद् के छ भने, बुद्धको जन्मथलो लुम्बिनीमा भेला हुने हजारौं स्वदेशी र विदेशी पाहुनालाई खानपिन गराउन आयोजकले सयौं निर्दोष पशुहरू बध गर्दै या गराउँदै छन्। 

प्राणी हिंसा नगर्नु भन्ने बुद्धको पहिलो सन्देशलाई कुल्चेर मांसाहारी भोजभतेर गर्नु बुद्ध जयन्ती मनाउनु होइन, हिंसा जयन्ती मनाउनु हो। अहिंसाप्रेमी बुद्धको नाममा लुम्बिनी विकास कोषले हिंसा आहारलाई प्र श्रय दिएर पूर्णत:गलत सन्देश फैलाउँदैछ। राज्यको समेत सहभागिता रहेको र लुम्बिनी विकास कोषका उपाध्यक्ष बौद्ध भिक्षु हुँदा समेत बुद्धको मूल शिक्षाको उपेक्षा हुन्छ भने समस्त बौद्धमार्गीप्रति विश्वास मेटिँदै जान्छ। यो अवस्था आउनु सबै बौद्धप्रेमीका लागि दुःखको विषय हो।

बुद्धको नाममा प्राणी हिंसाको विस्तार नेपालमा मात्र होइन छिमेकी मुलुकहरूमा समेत उत्तिकै बढ्दै गएको छ। भुटानको भ्रमण गरेर फर्केका स्विस साथीहरूले भ्रमणको अनुभव एक इमेलमार्फत पठाएका थिए। उनीहरूले भुटानीहरूले देशैभरि निर्दोष पशुहरू ठूलो परिमाणमा मारेर खाने गरेको दृश्य देखेका रहेछन्। ग्रस नेसनल ह्यापिनेसको राष्ट्रिय नारा बोकेको र प्राचीन बौद्ध सम्पदा भएकोमा गर्व गर्ने देशका बासिन्दाले यसरी प्राणी हिंसालाई प्र श्रय दिनु उनीहरूका दृष्टिमा एउटा भद्दा जोकजस्तै थियो।

 त्यसबाहेक आप्रवासी तिब्बती एवं नेपालीहरूलाई भुटानले निर्मम रवैया अपनाउँदै सेना लगाएर खेद्ने गरेको छ। बुद्धका अनुयायी हौं भन्ने भुटानीहरू केवल कर्मकाण्डी देखिए, खासमा तिनीहरूलाई बुद्धको आधारभूत शिक्षा नै पत्तो भएजस्तो देखिएन। स्विसहरू भुटानको प्राकृतिक सौन्दर्य र त्यहाँका हाँसीखुसी मानिसहरू देखेर औधी प्रभावित भएका थिए तर तिनको करुणाहीन व्यवहार देखेर उत्तिकै दुःखी पनि।

फागुनको अन्तिम साता लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी र हामी केही प्राध्यापक श्रीलंका भ्रमणमा थियौं। श्रीलंकामा बौद्ध दर्शनको अध्ययन अध्यापनलाई विशेष महत्व दिइएको देखियो। क्यान्डी सहरस्थित बुद्धको अस्थि धातु राखिएको मन्दिरका कारण श्रीलंका बौद्धप्रेमी पर्यटकहरूका लागि उल्लेख्य धार्मिक महत्वको स्थान बनेको रहेछ। तर, श्रीलंकामा मांसाहार सहज स्वाभाविक भोजन जस्तै बनिसकेको रहेछ। हामीलाई श्रीलंकाका केही नाम चलेका बौद्ध विहारले भोजनका लागि बोलाएका थिए। विहारका भिक्षुहरूले पाहुनालाई दिएको भोजमा मासुका सात या आठ परिकार समाविष्ट थिए।

 भोज सकिएपछि मैले एक भिक्षुलाई सोधेँ, ‘बुद्धको शिक्षाअनुसार त अहिंसा परमो धर्म:अर्थात् हिंसा नगर्नु परम धर्म हो। भोजका लागि कैयौं निर्दोष पशु मारेपछि अहिंसाको अभ्यास कहाँ बाँकी रह्यो ? ’ ती भिक्षुले भने, ‘कसले के खान्छ भनेर खोजीनीति गर्नुभन्दा धर्मको अभ्यास गर्नु जाती हो।’ बौद्ध परम्परामा धर्मको अभ्यास भन्नाले पञ्चशीलको पालना, पारमिताको अभ्यास र ध्यानको अभ्यासलाई बुझिन्छ। यदि कसैले धर्मको अभ्यास गर्छ भने गहिरो ध्यानको अवस्थामा उसको मनमा समस्त प्राणीप्रति मैत्री र करुणाको भाव विस्तार हुनुपर्ने हो।

 उल्टो, प्राणी हिंसा गर्ने या हिंसालाई अनुमोदन गर्नेहरू कसरी धर्मको अभ्यासी भए, कहाँ मैत्री र करुणाको भाव विस्तार भयो ? यथार्थमा, भिक्षु मांसाहारी हुनु अकल्पनीय विषय हो। यदि शाकाहारी भोजनको अभाव छ या देशैभरि अनिकाल लागेको छ भने तत्कालीन परिस्थितिलाई मध्यनजर राखेर भोजनको चुनावमा लचक हुनु स्वाभाविक हुन सक्छ। तर, वर्तमान समयमा हरप्रकारका शाकाहारी भोजन सर्वत्र सहज एवं सुलभ रूपले उपलब्ध छन्। तथापि कोही बौद्ध भिक्षु या बौद्धानुयायीले मांसाहारप्रति आशक्ति या रुचि देखाउँछ भने त्यो व्यक्ति सही अर्थमा बौद्ध हो, धार्मिक हो भन्न सकिँदैन। जीव हिंसाका विषयमा बुद्धले प्रस्ट भन्नुभएको छ, हिंसा गर्ने, गराउने र हिंसाको अनुमोदन गर्ने सबै दोषी हुन्, सबैले अकुशल कर्म सञ्चय गर्छन्।

वैशाख पूर्णिमाको दिन अघिल्ला वर्षजस्तै यसपालि पनि भव्य रूपले बुद्ध जयन्ती मनाइँदै छ, तर दुःखद् के छ भने, बुद्धको जन्मथलो लुम्बिनीमा भेला हुने हजारौं स्वदेशी र विदेशी पाहुनालाई खानपिन गराउन आयोजकले सयौं निर्दोष पशुहरू बध गर्दै या गराउँदै छन्।

२५६२औं बुद्ध जयन्तीका अवसरमा कोषले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य बुद्धका शिक्षाहरू:अहिंसाको सन्देश, भाइचारा, सहअस्तित्व, प्रेम र शान्तिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रचारप्रसार गर्नु हो भनिएको छ। तर, लुम्बिनी विकास कोषले आगन्तुक पाहुनाहरूलाई ‘लौ, कोकसले मासु खानुहुन्छ ? ’ भनेर वेभसाइटबाटै सोधेको छ। मांसाहार अथवा हिंसालाई संस्थागत बनाउने यो प्रयास बुद्ध, धर्म र संघलगायत देशकै लागि दुर्भाग्य हो।

बौद्ध ग्रन्थमा अहिंसाको शिक्षा

भगवान् बुद्धले विभिन्न प्रसंगमा सुन्दर ढंगले अहिंसाको शिक्षा दिनुभएको पाइन्छ। अंगुलीमाल नामको डाँकुले मान्छे मारेर तिनका औंलाको माला लगाउँथ्यो। बुद्धले त्यस्तो हिंस्रक व्यक्तिलाई समेत मानवीय संवेदना र तार्किक कुशलताले अहिंसाको मार्गमा आउन प्रेरित गर्नुभयो। जंगलमा हतियारधारी अंगुलीमाललाई भेटेपछि बुद्धले शान्तिपूर्वक अह्राउनुभयो ः

‘रूखका दुई वटा पात टिपेर ल्याऊ।’

उसले दुई वटा पात टिपेर ल्यायो।

बुद्धले भन्नुभयो, ‘अब यी पातलाई रूखको हाँगामै लगेर फेरि जोडिदेऊ।’

तब अंगुलीमालले भन्यो, ‘यस्तो कसरी सम्भव हुन्छ ? ’

बुद्धले भन्नुभयो, पातलाई फेरि रूखमा जोड्न सक्दैनौ भने तोड्ने अधिकार पनि छैन। त्यसैगरी, यदि कुनै मृत प्राणीको जीवित बनाउन सक्दैनौ भने त्यसलाई मार्नु पनि हुँदैन। सबैलाई आफ्नो जीवन बाँच्न पाउने अधिकार छ। त्यो अधिकार अनधिकृत रूपमा कसैले हनन गर्छ भने अन्तत:उसलाई घोर आत्मग्लानि हुन्छ, उसले केवल अकुशल कर्म सञ्चय गर्छ। बुद्धका प्रेमपूर्ण र तर्कयुक्त वचन सुनेर अंगुलीमालको हृदय परिवर्तन भयो। उसले हतियार फ्याँकिदियो र अहिंसाको मार्गमा पदार्पण गर्‍यो, उसले जीवनभर बुद्धका शिक्षाहरू अनुसरण गर्‍यो।

यसैगरी, धम्मपदमा प्राणी हिंसा नगर्न, नगराउन बुद्धले अनेक प्रकारले शिक्षा दिनुभएको छ। दण्डवर्गमा बुद्धले भन्नुभएको छ : सब्बे तसन्ति दण्डस्स, सब्बे भायन्ति मच्चुनो। अत्तानं उपमं कत्वा, न हनेय्य न घातये।

सब्बे तसन्ति दण्डस्स, सब्बेसं जीवितं पियं। अत्तानं उपमं कत्वा, न हनेय्य न घातये। अर्थात्, सबै दण्डदेखि डराउँछन्। सबैलाई मृत्युको भय हुन्छ। अत:सबै प्राणीलाई आफूजस्तै सम्झेर कसैको हत्या नगर्नु, कसैको हत्या गर्नका लागि प्रेरित नगर्नु। सबै दण्डदेखि डराउँछन्। सबैलाई आफ्नो जीवन प्रिय लाग्छ। अत:सबैलाई आफूजस्तै सम्झेर कुनै प्राणीको हत्या नगर्नु, कुनै प्राणीको हत्या गर्न कसैलाई प्रेरित नगर्नु।

त्यसैगरी नालक सुत्तमा पनि बुद्धले अहिंसाको मार्गदर्शन गराउनुभएको छ :म जस्तो छु, यी प्राणी पनि उस्तै छन्। यी प्राणी जस्ता छन्, म पनि उस्तै छु। यस प्रकार आफू र अरू प्राणीमा समानता देख्नु र कुनै प्राणीको हिंसा नगर्नु, कुनै प्राणीको हिंसा गर्न कसैलाई प्रेरित पनि नगर्नु।

बौद्ध शिक्षाहरूका व्याख्याता लामा लोब्सान तेन्जिनले भनेका छन्, ‘बुद्धका समस्त शिक्षाको सार अहिंसा हो र व्यक्तिको जीवनमा अहिंसाको अभ्यास नै समस्त बुद्ध धर्म या अध्यात्मको पनि निचोड हो।’

भगवान् बुद्धले समस्त शिष्यहरूलाई दिनुभएको पञ्चशीलको पहिलो शील ‘अहिंसा’ हो। बुद्धकै शब्दमा अहिंसालाई यसरी बताइएको छ:पाणाति पाता वेरमणि सिक्खा पदं समादियामि। अर्थात् म कुनै पनि प्राणीलाई नमार्ने शिक्षालाई ग्रहण गर्छु। कुनै पनि प्राणीलाई नमारी मासु प्राप्त हुँदैन। अत:बुद्धले हर प्रकारका जीवहरूको हत्या गर्नु पाप हो भन्नुभयो। व्यक्तिगत इच्छा पूर्तिका लागि पशु हिंसा गर्ने, गराउने या हिंसाको अनुमोदन गर्ने समेत बौद्ध शिक्षाअनुसार अकुशल कर्मका भागी हुन्। हिंसा गर्नेहरू कहिल्यै सुख प्राप्त गर्न सक्दैनन्।

महायान ग्रन्थहरूमा प्रष्ट शब्दमा हिंसालाई पूर्णत:निषेध गरिएको छ। लंकावतार सूत्रको आठौं काण्डमा जीवन चक्रमा प्रत्येक जीव कुनै न कुनै रूपमा आफ्नोसम्बन्धी रहेको हुन सक्छ। अत:हर प्राणीलाई आफ्ना सन्तानलाई जस्तै माया गर्न सुझाइएको छ। लंकावतार सूत्रमा हरेक बौद्ध मार्गीका लागि उचित भोजन भनेको मांस या रक्तको मात्रा नभएको खाना नै हो। यो ग्रन्थमा मांसाहार गर्नाले अनेक प्रकारका रोग संक्रमण हुने र अकुशल कर्म बढ्ने भएको यथार्थ पनि सुझाइएको छ।

आफ्नो जिब्रोको स्वादका लागि मासु खान रोज्नु, आफ्नो सुखका लागि अरूलाई हत्या गर्न वा गराउन उद्यत् हुनु कुनै प्रकारले न्यायोचित विषय होइन। हामीले मासु खाए पनि हिंसा त गरेको छैन भन्ने कुतर्क गर्नेहरू पनि पाइन्छन्। यदि मानिसले मासु खान छोडिदिने हो भने कसैले प्राणीहरूलाई किन हत्या गर्ला ? अत:मांसाहारी व्यक्तिहरूले नै हिंसा गर्न प्रेरित गरिराखेका छन् या त्यसको अनुमोदन गरिराखेका छन्। 

बुद्धका अनुसार कृत, कारित, अनुमोदित अर्थात् हिंसा गर्ने, हिंसा गर्न लगाउने र हिंसाको अनुमोदन गर्ने सबैले अकुशल कर्म सञ्चय गर्छन्। बुद्धको शिक्षा अनुरूप आचरण नगर्नु बुद्धको अपमान गर्नु बराबर हो। बुद्धले सबै प्राणीप्रति मैत्रीभाव र करुणाभाव विकसित गर्न विभिन्न उपाय कौशल प्रयोग गर्नुभएको छ। धर्मको अभ्यास किञ्चित मात्र गर्ने भए स्वतःस्फूर्त रूपले मानिसले हिंसा आहारलाई प्र श्रय दिने थिएन।

अहिंसाका लागि ध्यानको अभ्यास

बौद्ध परम्परामा ध्यानको अभ्यास केन्द्रीय महत्वको मानिन्छ किनभने यही अभ्यासले मानिसलाई अहिंसाप्रेमी बनाउन सक्छ। शील, समाधि र प्रज्ञा बौद्ध दर्शनका तीन प्रमुख स्तम्भ हुन्। शील पालनाले समाधि अर्थात् ध्यान पुष्ट हुन्छ र ध्यानको अभ्यासले प्रज्ञोदय अर्थात् ज्ञानोदय हुन्छ। ध्यानको अभ्यासले मानिसलाई शान्ति दिन्छ र सबै प्राणीप्रति करुणावान् बनाउँछ।

अभ्यासका क्रममा आफ्नै शरीरमा उत्पन्न र विलय हुने संवेदना हेर्दाहेर्दै व्यक्ति समस्त जीव र जगत्सँग एकाकार हुन्छ। यो अनुभूतिले मानिसलाई कति संवेदनशील बनाइदिन्छ भने उसलाई कुनै प्राणीको हिंसा गर्नु आफ्नै शरीरको कुनै अंग भंग गर्नुजस्तै असम्भवप्राय:लाग्न थाल्छ। खासमा समस्त प्राणीसँग एकाकार अनुभूति हुनु भनेको आफूमा सबैलाई देख्नु र सबैमा आफूलाई देख्नु हो।

विपश्यना ध्यानको अन्तिम सत्रमा मैत्री ध्यानको अभ्यास गरिन्छ। अभ्यासका क्रममा आर्जित पुण्य सबै प्राणीलाई वितरण गर्नु र सबै प्राणीप्रति मैत्री र करुणाभाव विकसित गर्नु यो ध्यानको लक्ष्य हो। करणीयमेत्त सुत्तमा बुद्धले भन्नुभएको छ :सृष्टिका सबै प्राणी सुखी होऊन्, निर्भय होऊन्, क्षमाशील होऊन्, सबैले सुखलाभ गरुन्। जसरी एउटी आमाले आफ्नै जीवन संकटमा परे पनि आफ्नो पुत्रको रक्षा गरेजस्तै सबै प्राणीप्रति आफ्नो मनमा अपरिमित मैत्री भाव विस्तार गर्न सकौं।

 मैत्री ध्यानको अभ्यासले मनलाई कोमल र संवेदनशील बनाउँछ। यो अभ्यासका क्रममा पहिला आफैंप्रति मैत्री र करुणाको भाव विकसित गरिन्छ, त्यसपछि आफ्नो परिवार या प्रियजनहरूप्रति यस्तो भाव विकसित गरिन्छ र अन्तत:समस्त प्राणीप्रति यो भावको विस्तार गरिन्छ। मैत्री र करुणाका आँखाले हेर्दा संसारका सबै प्राणीहरू आफ्नै परिवारजस्तै प्रिय लाग्छन्, जीवन वास्तवमै जीवनमय लाग्न थाल्छ।

ध्यानको अभ्यास गर्नुपूर्व पंक्तिकारलाई मांसाहारमा रुचि थियो। ध्यानको अनुभवपश्चात् सबै प्राणीप्रति अपार मैत्री र करुणाको भाव विकसित भयो। त्यसपछि क्रमश:मांसाहारप्रति वितृष्णा बढ्न थाल्यो, मांसाहार गर्नु असम्भव हुन थाल्यो। स्वयं र अन्य साथीहरूको अनुभवबाट के देखियो भने जो जसले वास्तवमै गहिरो ध्यानको अभ्यास गरेका छन् उनीहरू मांसाहार गर्दैनन्। ध्यानको अभ्यास गर्नेहरूले ‘अबदेखि मासु खान्न’ भनेर संकल्प गर्नै पर्दैन, स्वतःस्फूर्त मांसाहार छुट्छ। यसै पनि मरेको खसी या कुखुराको शरीर टुक्रा पारेर खानु स्वस्थ चित्त भएको मानिसका लक्षण होइनन्।

 मानिसजस्तो ज्ञानी, गुणी र संवेदनशील प्राणीका लागि अन्य निर्दोष र असहाय प्राणीको हिंसा गरेर तिनलाई स्वाद मानेर खानु कदाचित् शोभनीय हुँदैन। धम्मपदमा बुद्धले भन्नुभएको छ :प्राणीहरूलाई हिंसा गर्ने व्यक्ति आर्य कहलाउँदैन, सबै प्राणीप्रति मैत्री र करुणाको भाव राख्ने व्यक्ति आर्य कहलाउँछ। यदि मानिसले आफूलाई सर्वोत्कृष्ट प्राणी भनी गर्व गर्ने हो भने यसरी गर्व गर्न लायक आचरण पनि अपनाउनु आवश्यक हुन्छ। अन्यथा मानिसले मानेको गौरव केवल झूटो सान ठहरिनेछ।

म्यानमारकी नेतृ आन साङ सुचीले हिंसाका सम्बन्धमा बोल्दा ‘म नैतिक कारणले होइन, राजनीतिक र व्यावहारिक कारणले अहिंसा मन पराउँछु’ भनेकी थिइन्। यसै पनि मांसाहार गर्नु नैतिक या आध्यात्मिक रूपले अनुपयुक्त हो त्यसबाहेक व्यावहारिक र पर्यावरणीय दृष्टिले पनि मांसाहार उचित छैन। मांसाहारले व्यक्तिको स्वास्थ्य पनि बर्बाद बनाएको र समाजमा बारम्बार बर्ड फ्लु, स्वाइन फ्लुजस्ता महामारी फैलाएको तथ्य जगजाहेर छ।

लुम्बिनी विकास कोषले कम्तीमा बुद्ध जन्मभूमि वरपर हिंसाको वातावरण रोक्न सक्नुपर्छ। बुद्धको जन्मथलो आसपास प्राणी हिंसाका अनगिन्ती दृश्य देखिने गरेका छन्। मायादेवी मन्दिर नजिकै लुम्बिनी परिसरमा दर्जनौं होटेलहरू खोलिएको छ जहाँ खुलेआम प्राणी हत्या र मांसाहार गरिन्छ। सबैभन्दा पहिला त आयोजकहरूले यथाशीघ्र भोजभतेरको मेनुबाट मांसाहार हटाउनु वाञ्छनीय छ। किनभने, बुद्धभूमिबाट भगवान् बुद्धले दिएको अहिंसाको सन्देश विस्तार गर्ने नै हो भने सबैभन्दा पहिला आयोजकहरू स्वयं मन, वचन र कर्मले अहिंसाप्रेमी भएको जताउनु आवश्यक छ। अन्यथा, जुन कुरा हामीसँग छैन त्यो अरूलाई दिन्छौं भन्नु तर्कसंगत हुँदैन, बरु हास्यास्पद हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.