भोटाहिटी २०२२
पुरातनदेखि काठमाडौंको एउटा प्रमुख व्यावसायिक किल्ला हो भोटाहिटी। काठमाडौंमा लेख्ने-पढ्ने चलन नहुँदा पनि यहाँ पुस्तक बिक्रेताको भीड लाग्थ्यो। वनारसबाट २४-२८ प्वाइन्टको अक्षरमा पक्की कागजमा छापिएर आएका श्रीमद्भगवत् गीता, श्रीमद्भगवत् महापुराण, गरुडपुराण, देवी महात्म्य, सर्वदेव पूजा विधिलगायतका धार्मिक र कर्मकाण्डी पुस्तकको बजार लम्पसार परेको हुन्थ्यो। यो ठूलो आयतनको बजारको एउटा छेउमा थियो, हरेक नयाँ पुस्तक भण्डार र अर्को छेउमा थियो रत्न पुस्तक भण्डार। भोटाहिटी सकिएपछि सुरु भइहाल्थ्यो असन। मरमसला, घिउ-चाकु, किराना सामान र जुत्ता चप्पल बजारको चहलपहल।
भोटाहिटीदेखि अन्नपूर्णदेवीको प्रांगण असनसम्म छरिएका केही सुप्रसिद्ध पसलहरू थिए, रामदाइको खुवा पसल, नेपाल ऊल हाउस, ताजा गुँदपाक भण्डार, हर्लिक्स साहु, सफुधुकु, हिमालयन बुक सेन्टर, सुलभ स्टोर र केही कपडा जुत्ताका पसलहरू।
दगुबहाल छिर्ने दलानमा थियो सफुधुकु। नेपाल भाषाको पुस्तक पत्रिकामात्र पाइन्थ्यो यहाँ। धुकु नेपाल भाषा आन्दोलनको एक अभिन्न हिस्सा थियो। २०२२ सालमा खुलेको पसलका संस्थापक थिए नातिवज्र वज्राचार्य, जो अहिले साइटिका रोगले थलिएका छन्। दिनभरि दलानमा पलेँटी कसेर पसल ढुकेपछि लागेको रोग थियो त्यो। सफुधुकु अहिले सुस्ताएको छ। सहकारीको सुरुवातसँगै खोलिएको थियो साझा बहुउद्देश्यीय भण्डार। भोटाहिटीमा रहेको साझाको एकतल्ले भवनमा पाइन्थ्यो, साझाका आफ्नै साहित्यिक प्रकाशन र जनक शिक्षाका पाठ्यपुस्तक। शैक्षिक सत्रको सुरुवातसँगै यहाँ पाठ्यपुस्तक किन्नेको लाइन लाग्थ्यो।
रंगीन गाता, भारतीय नायिकाहरूका भड्किला तस्बिर, सनसनीपूर्ण शीर्षक भएका हिन्दी पत्रपत्रिका, कमिक र पाकेट बुक झुन्ड्याइएको काठको सानो ठेला हुन्थ्यो, भोटाहिटीबाट कमलाक्षी जाने गल्लीको मुखैमा। हेर्दा ठेला जस्तो देखिए पनि त्यो पुस्तक-पत्रिकाको भण्डार नै थियो। इवने सफी बीए, ओमप्रकाश शर्मा, वेदप्रकाश शर्मा काम्बोजजस्ता भारतीय जासुसी उपन्यासकारका पुस्तकहरूले युवा र प्रौढ दुवै पुस्ताको मन चोरेको थियो। साँझको समय ठेला वरिपरि किन्नेभन्दा हेर्नेको भीड अचाक्ली लाग्थ्यो। ठेलावालाको आफ्नै सानो पसल पनि थियो। उही रूप, उस्तै पत्रपत्रिका पाइने यो पसल अझै छ। भोटाहिटीको पुस्तक पसलहरूको भीडबाट टाढा असन छेवैमा थियो, हिमालयन बुक सेन्टर।
डेढ शताब्दीको समयलाई पुस्तक बिक्रीवितरणको इतिहासमा पुरानो भन्न मिल्दैन। इतिहासको एक शताब्दीभन्दा लामो समय बन्द र निरंकुश सत्ताको छायामा बिताएको नेपाली समाजमा पुस्तक पसलको लामो इतिहास नभेटिनु स्वाभाविक नै हो। तात्कालीन शासक अन्य कुरामा निरंकुश रहे पनि धर्मकर्मका काममा केही उदार थिए। त्यसैले धार्मिक पुस्तक पढ्न, पढाउन छुट थियो। हरिहर शारदा पुस्तकालय धार्मिक पुस्तक पढ्न र बेच्न पाउने छुटको परिणाम थियो। वि.सं १९४४ मा इन्द्रचोकमा पुस्तकालयको नाममा खुले पनि यो पुस्तक पसल थियो। अहिलेसम्म भेटिएको नेपालको पहिलो पुस्तक पसल। थँहितीको नरदेव मोतीकृष्ण धीरेन्द्र कम्पनी समकालीन समयमा खुलेको अर्को पुस्तक पसल थियो। मोतीराम भट्ट र कृष्णदेव पाण्डे मिलेर चलाएको यस पुस्तक पसलले वनारसबाट धार्मिक पुस्तक मगाएर बेच्थ्यो। बिस्तारै बढ्दै गएको पुस्तक बिक्रीको व्यवसायले नरहरितीर्थ भट्टराई पुस्तक पसल (मक्खन), पं तोयनाथ पन्त (वटु), शारदा भवन (डिल्लीबजार), पुष्पाञ्जली पुस्तक भण्डार (मक्खन), भक्तबहादुर बुक सेलर (भोटाहिटी), मानदास (कमलाक्षी) जस्ता थुप्रै पसल उद्घाटित गरेको थियो। पसल जति खुले पनि पाइने पुस्तक सबैजसो धार्मिक नै हुन्थे। भक्तबहादुर बुकसेलर, मानदास, कैलाशरामको पुस्तक पसल, निरञ्जनगोविन्द वैद्यको प्रगतिशील पुस्तक भण्डारहरू भने राजनीतिक उद्देश्यसाथ खुलेका पुस्तक पसल थिए।
कुनै पनि व्यवसाय सुरु गर्न जति सजिलो हुन्छ, व्यावसायिक दौडमा लामो समय टिक्न त्यति नै गाह्रो हुन्छ। पुस्तक पसलको इतिहासमा थुप्रै विक्रेताको फेहरिस्त भेटिए पनि जरा बलियो पारेर हाँगाबिंगा फैलाउँदै झाँगिएका व्यवसायी निकै कम छन्। रत्न पुस्तक भण्डार र हरेक पुस्तक भण्डार तिनै टिकाउ र कममध्येमा पर्छन्।
१९९५ सालमा भोटाहिटीमा धार्मिक पुस्तकहरू ठेलामा राखेर बेच्न सुरु भएको थियो ‘रामदास एन्ड सन्स’ पुस्तक पसल। ठेलामा पुस्तक बेच्दा बेच्दै २००३ सालमा रत्न पुस्तक भण्डारको स्थापना भएको थियो, ज्येष्ठ सुपुत्र रत्नप्रसाद श्रेष्ठको नाममा। मखनका मिठाई व्यवसायी रामदास श्रेष्ठले सोखका लागि र फुर्सदको सदुपयोग गर्न ठेलामा सुरु गरेका थिए, पुस्तक व्यवसाय। छोरा रत्नप्रसाद श्रेष्ठले यसैलाई आफ्नो प्रमुख व्यवसाय बनाए। रत्नप्रसादको बिँडो थाम्दै छोराहरू गोविन्द, रोशन, रमेश, सुरेशहरूले रत्न पुस्तकलाई नेपालको प्रतिष्ठित पुस्तक प्रकाशन संस्थामा स्थापित गरेका छन्। रत्न पुस्तक स्थापित हुनुका पछाडि लामो मेहनतको छुट्टै कथा छ।
पुस्तक किन्न भोटाहिटी आउनैपर्ने बाध्यता अहिले छैन। घुइँचो लाग्ने क्रम नघटे पनि भोटाहिटीबाट विस्थापित भइसकेको छ, पुस्तक संसार। गल्लीगल्लीमा खुलेका पुस्तक पसलले यतातिरको भीडलाई सीमित गरिदिएको छ।
धार्मिक र अन्य पुराना-नयाँ पुस्तक साटफेरको व्यापारबाट सुरु भएको थियो हरेक नयाँ पुस्तक भण्डार। साहु थिए चन्द्रकृष्ण श्रेष्ठ। भोटाहिटीको फुटपाथ र साइकलमा राखेर पुस्तक बेच्थे उनी। हरेक पुस्तक भण्डारको हाँगा अहिले निकै फैलिइसकेको छ। स्कुल कलेजका पुस्तक प्रकाशन र व्यापारमा छोराहरू आनन्द, मुकुन्द, सुन्दर, जनार्दन, जयदेवहरूले हरेक पुस्तक भण्डारको विरासत धानेका छन्। सुकुन्दा, एमके, काठमाडौं, नेसनल, तलेजु पुस्तक प्रकाशनका नाममा विस्तारित भएको छ हरेक पुस्तक भण्डार।
भोटाहिटी पूर्व, महांकाल, डिल्लीबजार, पुरानो बानेश्वर, चाबहिलमा थिए केही पुस्तक पसल। पुस्तक भन्नेबित्तिकै पाठ्यपुस्तक। जस्तो अहिले भन्छन् नि, पेपर ब्याक। काठमाडौंको पश्चिमतिर खासै थिएनन् पुस्तक पसल। बागमतीपारि मंगलबजार, महापालमा थिए केही पसल। आशासफू धुकु, विद्या पुस्तक भण्डार पाटनका पुराना पुस्तक पसलहरू हुन्। तर धेरै पसलहरू भोटाहिटी आ िश्रत थिए। अर्थात् पुस्तक थोक वा खुद्रा, किन्न यहाँ आउनु बाध्यता थियो। देशभरिका पुस्तक व्यापारीको गन्तव्य थियो, भोटाहिटी।
धेरैपछि आएको हो डिल्लीबजारमा बागमती पुस्तक भण्डार। अझै पनि छ। विदेशी, विशेषगरी भारतीय पत्रिकाका लागि प्रख्यात थियो सन्देश गृह। रञ्जना हल जाने गल्लीको मुखमा सुरु भएको यो पत्रिका पसल प्युखा हुँदै न्युरोडको गल्लीमा सरेको छ। प्युखामा थियो, रूसबाट प्रकाशित पुस्तक पाउने पसल, म्युचुअल बुक्स।
रामशाहपथमा सरेको यो पसल पछि बन्द भयो। प्रदर्शनी मार्गस्थित इच्छुमति छेवैको घरमा थियो, कवि विमल निभाको पुस्तक पसल ‘साहित्य घर’। महांकाल मन्दिरमुनि खुलेको एजुकेसनल इन्टरप्राइजेज र जमलमा खुलेको मण्डला बुक प्वाइन्टमा विदेशी प्रकाशन गृहका अंग्रेजी पुस्तक मात्र पाइन्थे। झोछें, ठमेलका पुस्तक पसलहरू विदेशी केन्द्रित थिए। अझै छन् यी पुस्तक पसल।
काठमाडौंको पुस्तक चर्चा भोटाहिटीमा सीमित राखे हुन्छ। शैक्षिक सत्रको सुरुवातसँगै भोटाहिटीका पुस्तक पसलेहरू फुर्सदमा हुँदैनथे त्यो बेला। हरेक सिजनमा नयाँ पाठ्यक्रमअनुसारको पुस्तकसूची बोकेका अभिभावक र साथमा आएका विद्यार्थीको घुइँचोका लागि भोटाहिटी आफैंमा मेला थियो :पुस्तक मेला। गाउँगाउँ, जिल्ला जिल्लाका पुस्तक व्यापारी नयाँ शैक्षिकसत्रको सुरुवातपूर्व नै भोटाहिटी आइपुग्थे। विद्यालय र कलेजस्तरका पाठ्यपुस्तकका लागि भोटाहिटी हब थियो।
पुस्तक किन्न भोटाहिटी आउनैपर्ने बाध्यता अहिले छैन। घुइँचो लाग्ने क्रम नघटे पनि भोटाहिटीबाट विस्थापित भइसकेको छ, पुस्तक संसार। गल्लीगल्लीमा खुलेका पुस्तक पसलले यतातिरको भीडलाई सीमित गरिदिएको छ। विद्यालयहरूले आफ्ना पाठ्यपुस्तक निश्चित पुस्तक पसलेलाई बिक्री गर्ने जिम्मा लगाउन थालेपछि भोटाहिटीमा पाठ्यपुस्तकको खरिदबिक्री सीमित भएको छ। भोटाहिटीको पुस्तक बजार स्कुल कलेजको पाठ्यपुस्तक बिक्री वितरणमा मात्र सीमित थिएन, यौनान्द दिने उपन्यासहरू लुकाइलुकाई बच्ने पुस्तक पसलहरू पनि थिए। किन्ने मुख छोपेर आउँथे, बेच्ने लुकाएर किताब दिन्थे। प्रशासनको भन्दा समाजको डर हुन्थ्यो किन्नेलाई।
पुस्तकको व्यापार कस्तो छ भन्ने विषयमा अरू कुनै समयमा चर्चा गरौंला। पुस्तक पसल र प्रकाशकको संख्याबारे भन्नु पर्दा च्याऊसरि उम्रिएका छन् नै भन्नुपर्छ। चार दशकअघि औंलामा गन्न सकिने भोटाहिटीको पुस्तक बजार व्यापक परिवर्तित भएको छ। नयाँनयाँ प्रकाशक, नयाँनयाँ पुस्तक बिक्रेता। रत्नपुस्तक कटेपछि नभेटिने चार दशकअघिको पुस्तक बजार भोटाहिटीभरि तन्किएको छ। विस्तारित पुस्तक बजार हेर्दा पढ्ने लेख्नेको संख्या निकै बढेजस्तो लाग्छ। तर अवस्था त्यस्तो छैन।
नयाँ पुस्तकका व्यापारी मात्र होइनन्, पुराना पुस्तक साटफेरको प्रचलन पनि व्यापक बढेको छ। सात दशकअघि नै हरेक पुस्तक भण्डारले सुरु गरेको पुस्तक साटफेरको प्रचलन रामशाहपथ र अद्वैतमार्गतिर खुलेका पुस्तक पसलतिर चलिरहेको छ। पहिले भूगोलपार्क र न्युरोड, पीपलबोटमा सीमित पत्रिका र फुटपाथ पसल अहिले त्यहाँ सीमित छैन। सहर विस्तार भएसँगै व्यवसायको आयतन पनि बढेको छ। फुटपाथमा नभेटिने वस्तु सायदै केही बचेको छ। पुस्तक यसमा अपवाद हुने कुरै भएन।