बुद्ध प्रश्न थिए की जवाफ ?
बुद्धलाई यहाँ निरपेक्ष शान्तिवाहकका रूपमा मात्र बुझिन्छ। भुइँफुट्टा कविहरू ‘बुद्ध आऊ, शान्ति ल्याऊ’ भनेर आतंक मच्चाउँछन्। पढेलेखेका केही व्यक्तिले चाहिँ बुद्ध शिक्षाका नाममा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने रटानमै जुनी बिताउन लागिसके। जब कि बुद्धको जोड अज्ञान, अन्धविश्वास र अन्यायको अन्धकारबाट मुक्ति हो। यता, भक्तिदर्शनको अनुसरण गरेर टोलटोलमा, गाउँगाउँमा, चोकचोकमा देशैभरि हरे राम, हरे कृष्णको अष्टजाम जारी छ। बुद्ध स्मृतिका अवसरमा ‘भगवान्’ विष्णुका अवतार भनिएका यिनै राम, कृष्ण र बुद्धबारे एक फरक दृष्टिकोण :
राम
हिन्दु धर्मावलम्बीका लागि राम एक महानायक हुन्। ‘भगवान्’ विष्णुका सातौं अवतार मानिएका उनी महावीर, आज्ञापालक पुत्र, मायालु दाजु, एक पत्नीव्रत पति, विश्वासी मित्र, प्रजावत्सल राजा, धर्मरक्षक र मर्यादा पुरुषोत्तमका रूपमा हिन्दु समाजका हरेक सदस्यको मनमा वास बस्छन्।
कोसलमा शासन गर्ने इक्ष्याकु वंशका सबैभन्दा जाज्वल्यमान राजा राम ब्राह्मण भक्ति, कूटनीतिक कला र वीरताका कारण आफ्नो समयमा भारतवर्षका महापुरुष ठहरिए। किष्किन्धाको बानर जातिका राजा बालीलाई मारेर उनले बालीकै भाइ सुग्रिबलाई राजा बनाए। अनि सुग्रिब र किष्किन्धाका बानर जातिलाई हात लिएर पत्नी सीतालाई अपहरण गर्ने लंकापति रावणमाथि आक्रमण गरे। रावणकै भाइ विभीषणको मद्दतले रावणको वध गर्न उनी सफल भए।
उनी महान् आज्ञापालक पुत्र, मायालु र विश्वासी दाजु अनि एक पत्नीव्रत पति हुन् भन्ने दाबी वाल्मीकि रामायणको छ। स्त्री प्रेममा विवेकका अन्धा दशरथले बिनाकारण उनलाई चौध वर्षको कठोर वनवास सजाय दिए। त्यो सजाय उनले सहर्ष पालना गरे। राज्य प्राप्तिका लागि जे गर्न पनि तयार युगमा राज्यसुखबाट वञ्चित भई उनी आफ्ना झड्केला भाइ भरतलाई राज्य सुम्पन सहर्ष तयार हुनु सामान्य कुरा थिएन। राजा, महाराजाहरू दर्जनौं सुन्दरीका पति हुने युगमा सीता त्यागपछि पनि उनले पुनःविवाह गरेनन्।
‘रामायण :एक नयीँ दृष्टिकोण’ मा भारतीय लेखक प.ह. गुप्ताका अनुसार रावणले त्यसै सीता अपहरण गरेका थिएनन्। रावणकी बहिनी शूर्पनखा रामको सुगठित शरीर र सौन्दर्यबाट मोहित थिइन्। उनले रामसँग विवाहको प्रस्ताव राखिन्। रामले आफू विवाहित भएकाले भाइ लक्ष्मणसँग विवाह गर भने। जब कि उर्मिलासँग लक्ष्मणको पनि विवाह भइसकेको थियो। महान् कहलिएका राममाथि आधुनिक मानवतावादी युगमा यहीँनिर प्रश्न उठ्छ। उनले प्रणय कामना गरिरहेकी युवतीको चोखो भावनामाथि दिल्लगी नगरेको भए हुन्थ्यो।
शूपर्नखा लक्ष्मणकहाँ गइन्। रिसाहा लक्ष्मणले नाक, कान, चुल्ठो काटेर फर्काइदिए। रावणले आफ्नी बहिनीको यही दशाको प्रतिशोध लिन सीता अपहरण गरेका थिए। अपहरण गरे पनि सीताप्रति उनले बिहेको आग्रहबाहेक कुनै जोरजबर्जस्ती गरेनन्। सीतालाई सीधै अन्तःपुर नलगी अशोकवाटिकामा राख्नु र उनको इच्छाविरुद्ध कुनै काम नगर्नु रावणको उच्च नैतिक व्यवहार थियो। रावणकै भाइ विभीषणको सहारा लिएर रामले रावणको हत्या गरे र सीतालाई मुक्त गराए।
हिन्दु विश्वासअनुसार सर्वगुण सम्पन्न आदर्श स्त्रीकी प्रतिमूर्ति थिइन् सीता। यी ‘जगतमाता’ले पतिसँग सधैं चोखो प्रेम गरिन्। पतिको दुःखसुखमा सधैं सहभागी भइन्। तर, अपहरणबाट मुक्तिपछि उनका सबै दुःख हरण हुनुपर्ने, उल्टै असीम दुःखका दिन सुरु भए। प्रेम वियोगले तड्पिएकी सीताप्रति रामको शंका आफैंमा अन्याय थियो। ‘कुनै तुच्छ नारीका लागि नभई शत्रुसँग बदला लिन’ लंका आक्रमण गरेको भन्दै रामले सीता वरण गर्न अस्वीकार गरे। लक्ष्मणलाई उनले ‘तिमी नै सीतालाई राख’ सम्म भन्न भ्याए।
आखिर सीताले अग्निपरीक्षा दिनुपर्यो। उनी सफल भइन्। पछि फेरि एउटा धोबीको आक्षेप स्वीकार्दै गर्भवती सीतालाई उनले बाघभालुको दयामा घना जंगलमा छाडिदिए। वाल्मीकिको शरणमा दुई छोरा लव, कुशलाई हुर्काएर अन्तत:सीताले भूमि समाधि लिएर आत्महत्या गर्नुपर्यो। त्यही ‘आदर्श’लाई पछ्याउँदै हिन्दु समाजमा आज पनि अधिकांश नारी सीताको दुर्नियति भोग्न बाध्य छन्। मलाई आश्चर्य लाग्छ, यस्तो करुणाविरोधी, प्रेमविरोधी र मानवताविरोधी तर सबभन्दा बढी अभ्यास गरिएको मिथकविरुद्ध हाम्रा नारी अधिकारकर्मीहरू किन कोही बोल्दैनन् ? के उनीहरू पनि धर्मभिरु छन् ?
आधुनिक युगमा मर्यादा पुरुषोत्तमको ‘रामराज्य’, अनि कृष्णको उपदेशलगायत पुराना ‘आदर्श’माथि पुनर्विचार हुनैपर्छ। यो कसैको आस्थामाथि प्रहार पनि होइन। वाल्मीकि रामायणकै सही अध्ययन गर्ने हो भने पनि आधुनिक मानव संवेदनाका दृष्टिले रामको चरित्र र शासनव्यवस्था प्रश्नको घेरामा पर्छन्। बाली वध, सीता परित्याग, शम्बुक वधलाई मर्यादा पुरुषोत्तमको कार्य मान्न कठिन छ। सुग्रिब र बालीको मल्लयुद्ध भइरहेका बेला सात रूखको छेको लागी वाण हानेर बालीको हत्या गर्नु मर्यादा पुरुषका लागि सुहाउने कुरा थिएन।
नारद ऋषिको संयोजकत्वमा मार्केण्डेय, मौद्गल्य, वामदेव, काश्यप, कात्यायन, जाबाली, गौतमको समितिले शूद्र शम्बुकले तपस्या गरेका कारण बाबु जिउँदै हुँदा एक ब्राह्मण बालकको मृत्यु भएको ठहर्याएका थिए। रामले यसमा अलिकति पनि स्वविवेक प्रयोग गर्नु जरुरी ठानेनन्। शीर्षासन गरिरहेका शूद्र शम्बुकलाई उनले स्पष्टीकरणको मौकासमेत नदिई तपस्यास्थलमै हत्या गरे।
विश्वामित्रको यज्ञ रक्षा गर्न उनी ताडक वन जाँदा प्रस्ट हुन्छ, ब्राह्मण हित उनका लागि न्याय र औचित्यभन्दा महत्वपूर्ण कुरा थियो। यक्ष जाति ब्राह्मण प्रभुत्वविरोधी थियो। अगत्स्य नामका ब्राह्मणले यक्ष जातिकी ताडकाका पतिलाई मारेका र छोरालाई श्राप दिएका थिए। यसबाट अवसादग्रस्त ताडका ब्राह्मण जातिसँग बदला लिन चाहन्थिन्। विश्वामित्रबाट यो सुनेपछि राम र लक्ष्मणले क्रूरतापूर्वक ताडकाको हत्या गरे। न्यायप्रेमी हुँदा हुन् त रामले क्रूरताका लागि अगत्स्यलाई पहिला दण्ड दिनुपथ्र्यो। तर, ब्राह्मण भएकाले अगत्स्यको सारा क्रूरता माफ भयो जब कि रामायण रचयिता वाल्मीकि स्वयंले ताडकालाई यक्षस्विनी र उनका पिता सुकेतुलाई सदाचारी मानेका छन्।
आधुनिक युगमा मर्यादा पुरुषोत्तमको ‘रामराज्य’, अनि कृष्णको उपदेशलगायत पुराना ‘आदर्श’माथि पुनर्विचार हुनैपर्छ। यो कसैको आस्थामाथि प्रहार पनि होइन।
राम ब्राह्मणको सामाजिक सत्ताका पक्षधर थिए। रामायण पढ्ने सबैलाई उत्तरकाण्डको एउटा प्रसंग याद हुनुपर्छ जसमा दुर्वासा ऋषिका कारण राम, लक्ष्मणसहित सारा अयोध्यावासी सरयु नदीमा फाल हालेर आत्महत्या गर्न बाध्य हुन्छन्। राम कालको मन्त्रणा गरिरहेका थिए। ढोकामा पहरा दिइरहेका लक्ष्मणलाई अह«ाइएको थियो, ‘भित्र कसैलाई आउन नदिनू। जबरजस्ती कोही आए मृत्युदण्ड दिइनेछ।’ त्यसै बेला रीसका पुरी दुर्वासा ऋषि आएर आफू आएको सूचना रामकहाँ पुर्याउन लक्ष्मणलाई आदेश दिए। लक्ष्मणले यथार्थ बताइदिए। रिसले आगो हुँदै दुर्वासाले भने, आज्ञा पालन गर्छस् कि तेरा शाखा सन्तान र सारा अयोध्या भष्म पारिदिऊँ ?
भित्र जाँदा आफैं मात्र मारिए पुग्थ्यो, नजाँदा आफूसहित रामको परिवार र सारा अयोध्या भष्म हुन्थ्यो। लक्ष्मणलाई आफैं मारिनु उचित लाग्यो। प्रतिज्ञाअनुसार रामले भाइलाई मार्नुपथ्र्यो वा त्यागिदिनुपथ्र्यो। रामले दोस्रो उपाय चुने। पहिला लक्ष्मणले सरयु नदीमा डुबेर आत्महत्या गरे। आफूबाट कहिल्यै अलग नभएका भाइको मृत्यु रामका लागि असह्य थियो। रामायण कथाअनुसार त्यो सहन नसकेर उनले, उनका भाइहरू, बुहारीहरू र अयोध्यावासीले पनि लक्ष्मणले जस्तै सरयु नदीमा डुबेर आत्महत्या गरे। कुलगुरु वशिष्ठले उनीहरूको महाप्रस्थानका लागि मन्त्रपाठ गरे तर महायात्रामा साथ दिएनन्।
भारतीय फिल्मकार मणिरत्नमले एउटा फिल्म बनाएका छन्, रावण। यसले रामायणप्रतिको प्रचलित अवधारणालाई पूरै भत्काइदिन्छ। अभिषेक बच्चन, ऐश्वर्या राय, गोविन्दाले अभिनय गरेको ‘रावण’मा रामायणसँग मिल्दोजुल्दो आधुनिक कथा छ। यसमा राम होइन, रावण नायक छ। राम चरित्रलाई विवेकले विवेचना गर्ने हो भने प्रचलित धारणा त्यसैगरी भत्किन्छ जसरी मणिरत्नमको ‘रावण’ हेर्दा रामायणप्रति परम्परागत अवधारणा भत्किन्छ।
कृष्ण
हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन हिन्दु धर्मावलम्बी ठूलो उत्साहसाथ कृष्णको जन्मजयन्ती मनाउँछन्। ‘भगवान्’ विष्णुको आठौं अवतार मानिएका कृष्ण प्रणय र कूटनीतिक चातुर्यका महान् प्रतीक हुन्। श्याम वर्णका उनी सुन्दर रूपकै कारण सारा गोपिनीलाई मोहित पार्न सफल थिए। तर, उनले रूपकै कारण कसैप्रति अत्यधिक आशक्ति वा घृणा प्रकट गर्नु मानवीय गुण होइन भन्ने महान् सन्देश दिए। आठ ठाउँमा शरीर भाँचिएकी कुरूप कुब्जासित उनको प्रेम उदाहरणीय थियो। कर्मयोग उनको महान् दर्शन हो।
‘गीता’मा कृष्णले अर्जुनलाई दिएको एउटा प्रमुख उपदेश हो— कर्म गर, फलको आश नगर। झट्ट सुन्दा भौतिकवाद विरोधीझैं लागे पनि यसको अन्तर्य अत्यन्त महत्वपूर्ण छ। स्टिभ जब्सले सयौं प्रयोगको असफलतापछि हरेक कोठामा अट्ने कम्प्युटर बनाउन सफल भए। नौ सय ९९ पटकको असफलतापछि पनि थोमस एल्बा एडिसनले बिजुलीको चिम बनाइछाडे। तत्कालीन फाइदा, बेफाइदा नहेरी आफ्नो मनले खाएको काममा निरन्तर लाग्दा एक दिन महान् सफलता प्राप्त हुन्छ भन्ने कर्मयोगको सन्देश अत्यन्त मननीय छ।
महाभारतका रचनाकार व्यासले लगभग पाँच हजार वर्षअघिको त्यस युगलाई धर्मयुग मानेका छन्। विवेकी आँखाले हेर्ने हो भने त्यो जातिवादी युग थियो। त्यसैलाई धर्मयुग भनियो। नत्र सूतपुत्र भनिएका कर्णको बारम्बार अपमान हुने थिएन। धनुर्विद्यामा अर्जुनभन्दा पनि निपुण शुद्र एकलव्यको बूढी औंला काटिने थिएन। असुर र कथित तल्ला जातिका व्यक्तिको हत्यालाई गर्वको विषय मानिने थिएन।
महाभारत युद्धमा शकुनीको भूमिका उत्तोलक थियो। कृष्णको राणनीतिले त्यसलाई अनिवार्य बनायो। ब्रजका गौपालक नन्द गोपालकहाँ पालिएका देवकीपुत्र कृष्णलाई मार्न मामा कंशले अनेक जुक्ति लगाए पनि सकेनन्। उनी विद्रोही स्वभावका, प्रशस्त प्रतिरोध शक्ति भएका वीर, अत्यन्त चलाख र लोकप्रिय थिए। देवराज इन्द्रलाई समेत उनले बारम्बार चुनौती दिएका थिए। एक दिन उनले अत्याचारी बुढा मामा कंशको बध गरे र जेलमा थुनिएका आफ्ना बाबुआमालाई मुक्त गराए। यसले उनको ख्याति र प्रभुत्व बढायो। दुनियाँले ईश्वर मानेका कृष्णले चाहेको भए महाभारत युद्ध रोकिन सक्थ्यो। तर, उनले युद्धको निरर्थकता बुझेका अर्जुनलाई यसरी प्रेरित गरे जसका कारण महाभारत युद्ध अनिवार्य भयो।
सात अक्षौहिणी सेना भएको पाण्डव पक्षले ११ अक्षौहिणी सेना भएको कौरव पक्षलाई हराउनु सम्भव नै थिएन। तर, कृष्णको रणनीतिका कारण त्यो सम्भव भयो। त्यो नियम र आचारसंहिताको सोझो रेखाबाट सम्भव थिएन। भीष्म, द्रोण, जयद्रथ, कर्ण र दुर्योधन वध युद्ध आचारसंहिताविरुद्ध भएको थियो। उता कृपाचार्य र कृतवर्माको सहयोगमा अश्वत्थामाले सुतिरहेका बेला पाण्डव पुत्र र उनका सेनाको नरसंहार गरे। धर्मयुद्धका रूपमा थालिएको महाभारत यसरी पापै पाप, षड्यन्त्रै षड्यन्त्रको युद्धमा परिणत भएको थियो।
बुद्ध संसारकै सर्वाधिक महान् गुरु र सर्वाधिक मानवतावादी दार्शनिक हुन्। करुणायुक्त, न्यायमूलक र जातिभेदमुक्त समाज, विज्ञानसम्मत जडतामुक्त विचार, आपसी सद्भाव, प्रेम, शान्ति, अहिंसा, इमानदारी, अनिन्दा, मृदु वचन अनि खराब इच्छाको त्याग बुद्ध दर्शनका प्रमुख तत्व हुन्।
असत्य र अन्यायविरुद्ध, धर्म संस्थापनाका पक्षमा कृष्णले महान् भूमिका खेलेको मिथक एकातिर छ। अर्कातिर चलाखी, कूटनीतिक चातुर्य, भाग्यवाद, ईश्वरवाद, ब्राह्मण, क्षत्रीयको उच्चतावादका प्रवर्तक श्रीकृष्णले महाभारतमार्फत युद्धमा जुनसुकै कुरा जायज हुन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ।
बुद्ध
चलचित्र निर्देशक यादव खरेलको एउटा कथामा भक्तहरू बुद्धको पूजा गर्न आइरहेका हुन्छन्। बुद्धचाहिँ म ईश्वर होइन, ईश्वर भन्ने संसारमा कोही हुँदैन भनेर भागिरहेका हुन्छन्। भक्तहरू खेदो गर्दै उनको पूजा गर्न दौडिरहेका हुन्छन्। कथाको मूल मर्म शाक्य मुनि गौतम बुद्ध ‘सर्वशक्तिमान् ईश्वर’को अस्तित्वलाई नकार्थे भन्ने हो। तर, आज संसारमा महायान बौद्ध धर्मका नाममा सबैभन्दा बढी उनकै मूर्तिहरूको व्यापार र पूजा हुन्छ। उनकै नाममा संसारमा सबैभन्दा धेरै मन्दिरहरू बनेका छन्। यसरी ईश्वरवाद र पुरोहितवाद विरोधी बुद्ध दर्शन स्वयंमा पुरोहितवाद प्रवेश गर्यो। यो सम्भवत:उनलाई भगवान् विष्णुको नवौं अवतार भनी गरिएको प्रचारसँगै सुरु भएको हो।
राम पुरोहित वर्गलाई देवता र ब्राह्मण धर्मलाई मुक्तिको मार्ग ठान्थे। कृष्ण ‘यो संसार ईश्वरको लीला हो जहाँ मानिसहरू उनको नाटकमा अभिनय मात्र गरिरहेका छन्, भगवान्को भक्ति गर, तिम्रो मुक्तिको मार्ग त्यही हो’ भन्थे। बुद्ध ज्ञान र सत्यसँग साक्षात्कारलाई सर्वोपरि मान्थे। यसले नै तिमीलाई दुःखबाट मुक्ति अर्थात् निर्वाण प्राप्त हुन्छ भन्थे। मूर्तिपूजा, यज्ञ, प्रार्थना, भाग्यवाद, अन्धविश्वास, जातिवाद, पुरोहितवादको प्रतिरोधमै उनी ज्ञानको खोजीमा हिँडेका थिए। उनी कुनै पनि कुरालाई अन्तिम सत्य मान्दैनथे। आफ्नै दर्शनलाई पनि सत्य खोजीको मार्गमा हिँड्ने डुंगामात्र भन्थे। संसारका अरू धर्म प्रवर्तकले जस्तो आफूलाई उनी मोक्षदाता होइन, मार्गदर्शक मात्र ठान्थे।
एक दिन कालम समुदायको गाउँ केशपुत्तमा देशना गरिरहेका बेला कसैले उनलाई सोध्यो, ‘बुद्ध, यहाँ थुप्रै धार्मिक समूह आउँछन्। सबैले आआफ्ना धर्मलाई सर्व श्रेष्ठ भन्छन्। हामीले कसको कुरा पत्याउनू ?
बुद्धले भने, ‘हे युवक, कसैले राम्ररी भन्दैमा, कुनै पावन ग्रन्थमा लेखिएको छ भन्दैमा, कुनै सम्माननीय गुरु वा नेताले भन्दैमा नमान। तथागत बुद्धको वचन पनि नमान। कुनै पनि कुरा मान्नुअघि आफैं जान।’
गयामा कठोर साधनापछि एक दिन उनलाई बोध भयो, ‘मान्छे अनन्त कष्ट भोग्न बाध्य छ किनभने उसको भावबोध भ्रमपूर्ण छ। ऊ अनित्यलाई नित्य, अनात्मलाई आत्मयुक्त, मरणशीललाई अमर-अजर ठान्छ। भय, क्रोध, घृणा, अहंकार, द्वेष, लोभ, अज्ञान विविध मानसिक अवस्था हुन्। सबै मानसिक अवस्थाको बीउ हो अज्ञान। यही अज्ञानलाई भेदन गरेर मात्र मुक्ति पाउन सकिन्छ। यो रटेर होइन, प्रत्यक्ष अनुभूतिबाट प्राप्त ज्ञान हुनेछ।’
आफूलाई प्राप्त ज्ञानबारे आफ्ना पाँच पूर्व सहतपस्वी कौडन्न, महानाम, भद्दीय, बप्प र अस्सजीलाई सारनाथमा उपदेश दिने क्रममा बुद्धले भनेका थिए, ‘मानिस दुःखी छ। दुःखको कारण छ। दुःखबाट मुक्ति पाउन सकिन्छ। मुक्तिको उपाय पनि छ।’ यसैलाई बुद्धका चार आर्य सत्य भनिन्छ। दुःखबाट मुक्तिका लागि उनले आठ मार्ग सुझाए। सही दृष्टि, सही संकल्प, सही वाचा, सही काम, सही जीविका, सही प्रयत्न, सही चेत, सही समाधि।
मेरो विचारमा बुद्ध संसारकै सर्वाधिक महान् गुरु र सर्वाधिक मानवतावादी दार्शनिक हुन्। करुणायुक्त, न्यायमूलक र जातिभेदमुक्त समाज, विज्ञानसम्मत जडतामुक्त विचार, आपसी सद्भाव, प्रेम, शान्ति, अहिंसा, इमानदारी, अनिन्दा, मृदु वचन अनि खराब इच्छाको त्याग बुद्ध दर्शनका प्रमुख तत्व हुन्। एक्काइसौं शताब्दीको लोकतन्त्रले अझै परिकल्पना र आत्मसात् गर्न नसकेको उन्नत मानवीय समाजको परिकल्पना र अभ्यास उनले झन्डै २६ सय वर्षअघि नै गरिसकेका थिए। जातिभेद चरम रहेको युगमा सुनीत, उपालि, स्वास्तीजस्ता ‘अछूत’ व्यक्तिलाई संघमा उनले जुन उच्च सम्मान र जिम्मेवारी दिएका थिए, त्यो साहस आधुनिक लोकतन्त्रका मसिहाहरूले समेत गर्न सकेका छैनन्।
प्रतीत्य समुत्पाद जस्तो वैज्ञानिक दर्शनका प्रवर्तक, आत्माको अस्तित्व अस्विकार्ने अनि लोभ, मोह र तृष्णाबाट मुक्त वर्गविहीन जीवनको परिकल्पना गर्ने बुद्ध बौद्ध साहित्यमा उल्लेख भएझैं भिक्षुहरूलाई भिक्षाका भरमा बाँच्न प्रेरित गर्ने, प्रेमलाई साधनाको मार्गमा बाधा ठान्ने र पुनर्जन्ममा विश्वास गर्ने व्यक्ति थिए होलान् भन्ने मलाई लाग्दैन। पक्कै उनले आत्मनिर्भर अर्थ व्यवस्थाको खोजी र प्रेमको पृथक व्याख्या गरेका थिए होलान्।
शारीरिक रूपले सुन्दर महिला वा पुरुषप्रति अति आशक्ति र कुरूप व्यक्तिप्रति घृणा गर्ने प्रवृत्ति सर्वसाधारणमा हुन्छ। ‘करुणापूर्ण आँखाले हेर्न सकियो भने झट्ट हेर्दा सुन्दर व्यक्ति देखेर आशक्त र कुरूप व्यक्तिलाई देखेर वितृष्णाको भाव पैदा हुँदैन’ भन्ने उनले महान् शिक्षा दिए। मान्छेलाई सत्यसँग साक्षात्कार गराउने उनको तरिका अत्यन्त प्रभावशाली थियो। बुद्ध दर्शनको एउटा महत्वपूर्ण पाटो हो, अनुभवको गहिराइबाट सत्यबोध गर्नु। मान्छेलाई सत्यसँग साक्षात्कार गराउने उनको तरिका अनुपम थियो। एकपल्ट एउटी युवतीले उनलाई बेलुकीको खाना खाने निम्तो दिइन्। बुद्धले सहर्ष स्वीकार गरे। ती महिलालाई चरित्रहीन भन्दै गाउँलेहरूले बुद्धलाई त्यहाँ नजान सुझाव दिए। गाउँका मुखियाले पनि उनलाई रोक्ने प्रयास गरे। बुद्धले सोधे, ‘साँच्चै ती महिला चरित्रहीन हुन् ? ’
‘हो, तपाईँजस्ता साधु त्यहाँ नजानु नै बेस हुन्छ।’
बुद्धले मुखियाको एउटा हात समाते र अर्को हातले ताली बजाउन उनलाई आग्रह गरे। मुखियाले भने, ‘पहिले मेरो हात छोड्नुस्, नत्र एक हातले कसरी ताली बज्छ ? ’
मुसुक्क हाँस्दै बुद्धले प्रतिप्रश्न गरे, ‘हो, त्यसो भए भन्नुस्, तपाईं पुरुषहरू चरित्रहीन नभई कसरी ती महिलामात्र चरित्रहीन हुन सक्छिन् ? ’ बुद्धको कुरा सुनेर लाजले सबै पुरुष निहुरीमुन्टी ‘न’ भए। यसरी बुद्धले ती महिलालाई निर्दोषमात्र साबित गरेनन्, पुरुषहरूलाई तिनकै दोषको आभास पनि दिलाए। यस्तो थियो बुद्धको तरिका। किसा गौतमीले मरेको छोरा बचाउन आग्रह गर्दा उनले सीधै यो असम्भव छ नभनी कुनै मान्छे नमरेको घरबाट तोरी ल्याउनू भने। ईश्वरवादी गया काश्यपलाई यज्ञ, जप, पूजा, आराधानाको निरर्थकता बुझाउन खोला नतरी यज्ञ गरेर पारि पुगेर देखाऊ भने। शब्दले सत्य बोल्नुभन्दा व्यवहारबाट सत्य सिद्ध गराउने उनको तरिका अत्यन्त प्रभावशाली थियो।
अन्त्यमा
बुद्धलाई यहाँ निरपेक्ष शान्तिवाहकका रूपमा मात्र बुझिन्छ। भुइँफुट्टा कविहरू पनि ‘बुद्ध आऊ, शान्ति ल्याऊ’ भनेर आतंक मच्चाउँछन्। पढेलेखेका केही व्यक्तिले चाहिँ बुद्ध शिक्षाका नाममा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने रटानमै जुनी बिताउन लागिसके। जब कि बुद्धको जोड अज्ञान, अन्धविश्वास र अन्यायको अन्धकारबाट मुक्ति हो। भारतीय दलित विद्वान् बीआर अम्बेडकरको पुस्तक ‘बुद्ध एन्ड हिज धम्म’का अनुसार रोहिणी नदीको पानी प्रयोगबारे विवादमा शाक्य राज्यले कोसलविरुद्ध आक्रमण गर्न खोज्दा युद्धको विरोध गर्दै उनले भनेका थिए, ‘कसैले कसैमाथि अन्याय नगरौं। जहाँ अन्याय हुन्छ, त्यहाँ अशान्ति नै हुन्छ।’
खासमा अहिलेका माक्र्सको जस्तै वर्गविहीन, उन्नत र जागृत मानवीय समाज उनको परिकल्पना थियो। यता, भक्तिमार्गको अनुसरण गर्दै टोलटोलमा, गाउँगाउँमा, चोकचोकमा देशैभरि हरे राम, हरे कृष्णको अष्टजाम सुनिन्छ। राम र कृष्ण वाल्मीकि र व्यासका पात्र मात्र थिए कि प्रागइतिहासकै पात्र थिए भन्ने निक्र्योल हुन सकेको छैन। यी दुवैको जोड आस्थामा थियो। धार्मिक दृष्टिले यिनका विचारमाथि सन्देह वा पुनर्विचार गर्न छुट छैन। तर, बुद्ध जडताविरोधी यही धरतीका त्यस्ता महान् मानवतावादी गुरु थिए जो आफ्ना शिष्य र उपासकलाई बुद्ध दर्शनमाथि पनि सन्देह वा परीक्षण गर्न प्रेरित गर्थे। पछि कार्ल माक्र्सले पनि यसैलाई आफ्नो दर्शनको मूल मन्त्र बनाए।