एउटा धाराले थेग्दै ५० धुरी
गौर : रौतहटको कटहरिया नगरपालिकास्थित मुसहर बस्तीमा धारा बिग्रिएपछि खानेपानी अभाव भएको छ। तीनवटा धारामध्ये दुईवटा बिग्रिएर पानी आउन छाडेको हो।
५० भन्दा बढी झुपडीमा बसोबास गर्दै आएका स्थानीय खानेपानीका लागि एउटा धारामा लाइन बस्नुपर्ने बाध्यता छ। बस्तीछेउ रहेको तरहरी खोला किनारमा दुई वर्षअघि काठमाडौंका एक व्यक्तिले १० हजार खर्च गरेर धारा जडान गरिदिएका थिए। स्थानीयवासी अहिले त्यही धाराका भरमा छन्।
‘दुईवटा धारा बिग्रियो, पानीको समस्या छ’, स्थानीय प्रदीप माझी मुसहरले भने, ‘धारा बनाउने पैसा छैन।’
नुहाउन तथा सरसफाइका लागि उद्योगको प्रदूषण मिसिएको तरहरी खोलाको पानी प्रयोग गर्दै आएको स्थानीयको भनाइ छ। एउटा मात्र धारा भएकाले पानीको धेरै समस्या भएको स्थानीय गीतादेवी माझीले बताइन्।
गर्मी मौसममा ट्युब वेल (कल) पनि सुक्छन्। जिल्लाका गरिब तथा दलित बस्तीमा कलबाहेक खानेपानीको अर्को विकल्प छैन। जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयले बर्सेनि सयौं ट्युब कल निःशुल्क वितरण गरे पनि गरिब र दलितका नाममा टाठाबाठाले लैजाने गरेको उनीहरूको गुनासो छ। ‘पानीको धारा छैन, शौचालय छैन, बस्न घर छैन’, स्थानीय कालीचरण माझीले भने, ‘गरिबको कुरा कसैले सुन्दैनन्।’
विभिन्न एनजीओ÷आईएनजीओसहित संसद् विकास कोष, गाउँपालिका र नगरपालिकाले पनि लाखौं बजेट ट्युबवेल (कल) जडान गरेको खर्च सार्वजनिक गर्दै आएका छन्। तर, दलित बस्तीमा धारा मर्मत तथा जडान पर्याप्त हुन सकेको छैन। मुसहर बस्तीमा खानेपानी तथा सरसफाइको अवस्था नाजुक रहेको नेपाल राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको भनाइ छ। भने, ‘दलितका नाममा धेरै धारा आएका छन् तर बस्तीसम्म पुग्न सकेको छैन।’
कटहरियाका मेयर सियाराम कुशवाहले बस्ती नै अन्यत्र सार्ने सल्लाह भइरहेको जानकारी दिए। उद्योगछेउ रहेकाले स्थानीय पीडित बन्दै आएका कारण उचित स्थानमा सारेर आधारभूत सुविधाको व्यवस्था गरिने मेयर कुशवाहको भनाइ छ।