राष्ट्रिय स्वतन्त्रता र आत्मनिर्भरता

राष्ट्रिय स्वतन्त्रता र आत्मनिर्भरता

एक्काइसौं शताब्दीमा आइपुग्दा पनि अझै तुलनात्मक रूपले साना मानिएका देशको सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रतामाथि विदेशी शक्तिको हस्तक्षेप अन्त्य हुन सकेको छैन । समानतामा आधारित द्विपक्षीय एवं बहुपक्षीय सम्बन्धको विस्तारका लागि ठूला अथवा शक्तिशाली राष्ट्रले पञ्चशीलका मान्यतालाई स्वीकार गरी व्यवहारमा पनि देखाउनुपर्छ । यथार्थमा यस्तो नहुने हुँदा आजको विश्वमा पनि द्वितीय विश्वयुद्धअगाडि जस्तै ठूला र साना राष्ट्रहरूका बीचको अन्तरविरोध समाप्त हुन सकेको छैन । राष्ट्रहरू स्वतन्त्ररूपमा आफ्नो भाग्य निर्माण गर्न चाहन्छन् र आफ्नै राष्ट्रिय प्राथमिकताका आधारमा द्विपक्षीय एवं बहुपक्षीय सम्बन्ध विस्तार गर्न चाहन्छन्, तर उनीहरूको यस्तो आकांक्षा र प्रयासमाथि बाहिरी हस्तक्षेपले बाधा हाल्ने गरेको छ ।

उदाहरणका लागि दक्षिण र उत्तर कोरियामाथि बाहिरी दबाब र हस्तक्षेप नभएको भए ती दुई राष्ट्र या त आजसम्म एउटै राष्ट्र भएका हुन्थे अथवा एक आपसमा समानताका आधारमा मैत्रीपूर्ण सम्बन्ध विस्तार गरेको अवस्थामा हुने थिए । भर्खरै उत्तरी कोरियाली नेता र दक्षिण कोरियाका राष्ट्रपतिका बीचमा शिखर वार्ता सम्पन्न भएको छ र उनीहरूले निकट भविष्यमा कोरियाको एकीकरण हुने र त्यो छिटै हुन नसकेमा मैत्रीपूर्ण सम्बन्ध बढाउने आशा र विश्वास देखाए । तर दुवै देशका नेताहरूलाई थाहा छ- उनीहरूले जतिसुकै इमानदारी साथ यस्तो आकांक्षा राखे पनि कोरियन राजनीतिमा अमेरिकाको हस्तक्षेपको कारणले अमेरिकाले नचाहेसम्म त्यो सम्भव हुने छैन ।

 अमेरिकाको प्रमुख चिन्ता कतै आफ्नो प्रभाव क्षेत्र गुम्छ कि र कतै दुई देश मिलेर गए भने अमेरिकाले अर्बौं डलरको मूल्यका हातहतियार बिक्रीबाट पाउने लाभ गुमाउनुपर्छ कि भन्ने हो । आज उत्तर कोरियासँग आणविक हतियार र खासगरी अमेरिकासम्म प्रहार गर्न सक्ने आणविक हतियारसहितको क्षेप्यास्त्र नभएको भए अमेरिकाका लागि उत्तर कोरिया र दक्षिण कोरियाका बीचमा द्वन्द्व बढिरहेको अवस्थामा नै बढी फाइदा हुने थियो र त्यसबाट उसको अर्थतन्त्र अझै बलियो हुँदै जाने थियो । उत्तर कोरियासँग अणुबमजडित क्षेप्यास्त्र हुँदा र तिनको निशाना आफ्नै देश बन्न सक्ने खतरा भएकाले मात्र अमेरिकाले जसरी पनि उत्तर कोरियालाई निशस्त्रीकरण गर्नुपरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति तुलनात्मक रूपमा उदार र शान्तिका पक्षपाती भएकाले उनले साहस गरेर उत्तर कोरियाली नेतासँग मित्रताको हात बढाएका छन् । तर उनलाई थाहा छ- उनका जति राम्रा प्रयास भए पनि अमेरिकाको स्वीकृति नहँुदासम्म दुई देशको बीचको सम्बन्धमा तात्विक अन्तर आउँदैन । उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिका बीचमा प्रस्तावित वार्ता भयो भने पनि अमेरिकाले एकतर्फी रूपमा सर्त राख्ने र जसरी पनि उत्तर कोरियालाई निशस्त्रीकरण खोज्ने प्रयास हुन सक्छ । अहिले दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियाको सुरक्षाको चिन्ता अथवा उसको सुरक्षाको प्रत्याभूति र विद्यमान नाकाबन्दी हटाई उसलाई आर्थिक लाभका अवसर पनि सँगसँगै दिलाउनुपर्छ भनेका छन् ।

नेपालले कुनै पनि देशमाथिको अत्यधिक निर्भरतालाई हटाएर सकेसम्म बहुआयामिक विकासका लागि चीनलगायतका अन्य देशहरूसँगको बहुआयामिक सम्बन्ध विस्तार गर्नुपर्छ । जसले गर्दा देश आत्मनिर्भरताको बाटोमा लम्कियोस् ।
 

 तर अमेरिकाको तर्फबाट सर्वप्रथम विनसर्त सबै आणविक हतियार नष्ट गर्नुपर्ने र आणुबम बनाउने सबै सुविधा परित्याग गर्नुपर्ने प्रस्ताव आउन सक्छन् । यसरी एकतर्फी रूपमा सर्त आएको खण्डमा र उत्तर कोरियाको सुरक्षाको प्रत्याभूति नभएमा दुई देशले चाहँदाचाहँदै पनि शान्ति र मित्रताको बाटो अवरुद्ध हुन सक्छ । यो एउटा उदाहरण मात्र को कि कसरी आजको शताब्दीमा शक्तिशाली राष्ट्रहरू र स्वतन्त्रताप्रेमी राष्ट्रहरूका बीचमा अन्तरविरोध कायमै छ । यसको अर्थ शक्तिशाली राष्ट्रहरूका बीचमा अन्तरविरोध छैन भन्ने होइन, तर अन्तरविरोध मुख्य गरेर व्यापारिक लाभमाथि केन्द्रित छ । शक्तिशाली राष्ट्रहरूको राष्ट्रिय स्वतन्त्रताको चिन्ता त्यस्तो कमजोर राष्ट्रहरूको तुलनामा कम हुन्छ । उदाहरणका लागि आज अमेरिका र चीन अनि रूस र युरोपियन राष्ट्रका सदस्य राष्ट्रहरूका बीचमा पनि अन्तरविरोध छ, तर त्यसको प्रकृति फरक छ ।

नेपालको सन्दर्भमा पनि राष्ट्रिय स्वतन्त्रताको रक्षा एउटा प्रमुख चिन्ताको विषय हो । केही समयअघि नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा गए र उनले पनि यसअघिका प्रधानमन्त्रीहरूले जस्तै सत्ता सम्हालेपछि पहिलो भ्रमण भारतकै गर्ने परम्परा निर्वाह गरे । उनलाई थाहा थियो- उनले त्यसो नगरेका भए त्यसको परिणाम उनको प्रतिकूल हुने थियो । २००७ सालदेखि नै यहाँका शासकहरूले भारतको इच्छाअनुसार वैदेशिक नीति अवलम्बन गर्ने गरेको र त्यसो नगरी स्वतन्त्ररूपमा भारतको चाहना विपरीत केही कदम उठाउँदा आफ्ना पूर्वज प्रधानमन्त्रीहरूले भोगेको परिणाम पनि प्रधानमन्त्रीलाई थाहा नै थियो ।

 त्यसैले उनले पनि सुरक्षित बाटो नै अनुसरण गरे । नेपालको आफ्नो विकासका लागि छिमेकी मुलुकहरू मैत्रीपूर्ण सम्बन्ध भएका देशहरूसँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ । यसै अनुरूप चीनसँग नेपालको सम्बन्ध विस्तार हुँदैछ र भर्खरै चीनको यात्राबाट फर्केका विदेशमन्त्रीले चीनसँग बहुआयामिक सम्बन्ध विस्तार गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभअन्तर्गत नेपालले धेरै परियोजनाहरू कार्यान्वयनमा ल्याउन सक्छ र त्यसबाट नेपालको पूर्वाधार विकासका साथसाथै अन्य क्षेत्रमा धेरै मद्दत पुग्न सक्छ । तर नेपालको चीनसँगको सम्बन्धमा खासगरी नेपाललाई चीनको रेल मार्गले जोड्ने र चीनसँग भएको पारवहन सन्धिअुनसार चीन भएर अन्य मुलुकसँग नेपालको व्यापारिक सम्बन्ध बढाउने कुरा महत्वपूर्ण छन् ।

 चीन र नेपालले इमानदारीपूर्वक कार्ययोजना अघि बढाउन खोजे पनि यसमा भारतको कस्तो दृष्टिकोण रहन्छ र भारतले त्यसलाई सहजरूपमा लिन्छ कि लिँदैन भन्ने प्रश्न पनि अहं छ । अन्य देशलाई हानी नोक्सानी नहुने गरी दुई देशका बीचमा सम्बन्ध बढाउँदा पनि तेस्रो देशल के भन्छ र के गर्छ भनी डराइरहनुपर्ने अवस्थाले राष्ट्रिय स्वतन्त्रता खण्डित गर्छ । हो नेपालले आफ्नो भूमिकालाई कुनै अर्को राष्ट्रको विरुद्धमा कतैबाट पनि उपयोग गर्न दिनु हुँदैन । तर आफ्नै विकास र समृद्धिका लागि पनि अर्को देशको कारणले गर्दा अड्किरहनुपर्ने उदाहरणले एक्काइसौं शताब्दीको विडम्बनालाई नै प्रदर्शित गर्दछ । यस्तो अवस्था विद्यमान रहँदासम्म समानतामा आधारित सम्बन्ध स्थापित हुन सक्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि गरेको भारत भ्रमणमा पनि नेपालले भोग्नुपरेका यी समस्याका सम्बन्धमा छलफल भएन । उदाहरणका लागि नेपाल र भारतबीचमा विगतमा भएका असमान सन्धि र तिनको कारणले नेपालले आफ्नो स्वतन्त्रता र जलस्रोतको उपयोगमा भोग्नुपरेका वाधाको समाधान नहुँदासम्म नेपालको स्वतन्त्रताले पूर्णता पाउने छैन । यस्ता विषयमा राष्ट्रिय अडान दह्रोसँग उठाउन सक्ने नेतृत्वबाट नै नेपालको स्वाभिमान र स्वतन्त्रतालाई सुदृढ बनाउन सकिनेछ । 

परिपक्व नेतृत्व भएपछि मात्र देशको आधारभूत आर्थिक संरचनाको विकास सम्भव हुन्छ । देशको कमजोर आर्थिक व्यवस्था रहँदासम्म अन्य देशले पनि गम्भीरतापूर्वक लिँदैनन् । आजको संसारमा सम्पूर्णरूपमा आत्मनिर्भर कुनै पनि राष्ट्र हुन सक्दैन, तर आधारभूत कुरामा पनि परनिर्भरता रहिरह्यो भने देशको स्वाभिमान माथि उठ्न सक्दैन । उत्तर कोरियाकै कुरा गर्दा आज अमेरिकी राष्ट्रपति त्यहाँका नेतासँग वार्तागर्न तयार हुनुको पछाडि पनि त्यो देशले तुलनात्मक रूपमा आधारभूत कुरामा आफूलाई आत्मनिर्भर बनाउन सकेको कारणल नै हो । उत्तर कोरियाले आधुनिक ज्ञानविज्ञानको क्षेत्रमा उपलब्धि हासिल गरेको हुँदैनथ्यो भने उसलाई अन्य राष्ट्रले गम्भीरतापूर्वक लिने थिएनन् ।

नेपालको सन्दर्भमा पनि जब हामी आत्मनिर्भरको बाटो अघि बढेर आधारभूत विकासका कार्य पूरा गर्नेछौं त्यतिबेला मात्र अन्य राष्ट्रले हामीलाई गम्भीरतापूर्वक लिनेछन् । आज भारत र नेपालको बीचको सम्बन्धलाई पनि समानताका आधारमा अगाडि बढाउन देशको विकास पहिलो सर्त हो । यसका लागि नेपालले भारतमाथिको अत्यधिक निर्भरता हटाउनुपर्ने हुन्छ । सबैमा एउटै राष्ट्रमाथि निर्भर हुने हो भने समान हैसियतको स्थान पाउन सकिँदैन । त्यसैले पनि चीन अथवा अन्य देशसँगको सम्बन्ध विस्तार गर्दा भारतको के प्रतिक्रिया होला भन्ने डरबाट मुक्त हुनैपर्छ ।

उत्तर कोरिया आफ्नो आयातनिर्यातका लागि चीनमाथि अत्यधिक निर्भर थियो । अन्य देशहरूले साथ छोडेमा पनि चीनले पश्चिमी देशहरूले लगाएको आर्थिक नाकाबन्दीमा साथ दिने छैन भन्ने विश्वास उत्तर कोरियाली नेताहरूमा रहेको हुन सक्छ । तर चीनले अमेरिकी नेतृत्वका पश्चिमी देशहरूले संयुक्त राष्ट्रसंघको माध्यमबाट लगाएको नाकाबन्दीलाई चीनले पनि साथ दिएपछि उत्तर कोरियाली नेताहरूलाई नयाँ ढंगबाट सोच्नुपर्ने बाध्यता भयो । 

त्यसैले पनि अनपेक्षितरूपमा छिटोछिटो उत्तर कोरियाली नेताले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने इच्छा देखाएर केही महिनाअघि सियोलमा भएको ओलम्पिक खेलमा आफ्ना खेलाडीलाई पठाएर सबैलाई आश्चर्यमा पारिदिए । चीनले पनि उसको विरुद्धको नाकाबन्दीमा साथ दिएपछि उत्तर कोरियाले वैकल्पिक बाटाहरू खोजेको हुनुपर्छ । त्यसैले चीनले पनि उत्तर कोरिया र दक्षिण कोरियाबीचको बढिरहेको सम्बन्धलाई चासोका साथ हेरिरहेको छ र कतै उत्तर कोरियाले लिएको कदमले गर्दा कोरियन प्रायद्वीपका चीनको भूमिकाको महत्व कम भएर जाने त होइन भन्ने प्रश्नले पनि चिनियाँ राजनीतिक तहमा चिन्ता उत्पन्न गराएको देखिन्छ ।

नेपालको सन्दर्भमा पनि हामी भारत तर्फबाट भएको नाकाबन्दीबाट धेरैपटक पीडित भइसकेका छौं । त्यसैले त्यसबाट पाठ नसिकेर सधैं एउटै देशमाथि आ िश्रत भइरहने हो भने भोलि पनि हिजोको जस्तै अवस्था आउन सक्छ । त्यसैले नेपालले चीनसँग र चीनको भूमि भई अन्य देशहरूसँगको व्यापारिक सम्बन्धका सबै सम्भावनाका विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यसको अर्थ यो होइन कि हामी भारतको सट्टा अर्को देशमाथि निर्भर हुनुपर्छ । हामी एकोहोरो रूपमा भारत अथवा चीन कसैमाथि आ िश्रत हुनु हुँदैन।

 हाम्रा सम्बन्धमा आपसी हित र एकअर्काको राष्ट्रिय स्वतन्त्रताप्रतिको सम्मानका आधारमा हुनुपर्छ । कुनै पनि देशसँगको सम्बन्ध दया मायाका आधारमा स्थापित हुन सक्दैन । आजको युगमा स्थापित हुने सम्बन्ध लेनदेनका आधारमा हुन्छ । अमेरिकाको नजिकको र अमेरिकी सहयोगबाट शक्तिशाली भएको इजरायलले पनि समयसमयमा अमेरिकी सरकारले चहेजस्तो गरेको हुँदैन । आज इजरायल यति सक्षम भएको छ कि भोलि अमेकिारले उसलाई दिने सहयोग बन्द गरिदिए पनि त्यो देशको अस्तित्व संकटमा नपर्ने कुरा त्यहाँका नेताहरू मान्छन् । 

प्रधानमन्त्री ओलीले नेपालमा अब विकासवाद र समृद्धिबाट आउने कुरा गरेका छन् । यसका लागि नेपालले कुनै पनि देशमाथिको अत्यधिक निर्भरतालाई हटाएर सकेसम्म बहुआयामिक विकासका लागि चीनलगायतका अन्य देशहरूसँगको बहुआयामिक सम्बन्ध विस्तार गर्नुपर्छ र छिट्टै देशलाई आत्मनिर्भर बनाउन सक्ने विकासका कमहरूलाई निश्चित समय अवधिमा पूरा गरेर देखाउनुपर्छ । यसरी नै देशको समृद्धि र स्वतन्त्रतालाई सँगसँगै लैजान सकिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.