जहाँ बुद्ध जयन्तीकै दिन बलि चढाइन्छ
लहान : आज बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा।आजको दिन काटमार नगर्ने चलन छ। तर सिरहाको लहान नगरपालिकास्थित ढोढनामा रहेको राजदेवी पञ्जावती मन्दिरमा बलि चढाउनेको भीड लागेको छ।
लहान बजारदेखि ७ किलोमिटर उत्तरमा पर्ने ढोढनामा रहेको सानो डाँडामा राजदेवी पञ्चावतीको मन्दिर छ। भाकल गर्दा मनोकामना पुरा हुने जनविश्वास छ। मनोकामना पूरा भएपछि बोका, कुखुरा, हाँस, परेवालगायतको बलि चढाउने गरेको स्थानीय पशुपति भट्टले जानकारी दिए। उनका अनुसार बली चढाउनेको संख्या वर्षेनि बढ्दै गएको छ। अन्य वर्षको तुलनामा यो वर्ष बलि चढाउनेको संख्या बढी देखिएको छ।
तर बिहानैदेखि पानी परेकाले भक्तालुहरुलाई समस्या भएको छ। राति करिब २ बजेदेखि बलिका लागि बोका लिएर लाइन बस्नेको भीड लागेको छ। स्थानीयका अनुसार वैशाख पुर्णिमाको दिन बलि दिने चलन सयौं वर्षदेखि चलिआएको छ। मन्दिरका पुजारी डम्बरबहादुर भट्टका अनुसार मन्दिर स्थानमा भएको क्षेत्रमा ठूलो जङ्गल र चरण क्षेत्र थियो। यहाँ स्थानीय गाइगोरु चराउँथे।
तर प्रत्येक दिन एउटा न एउटा गाई हराउन थाले। त्यसपछि धामी स्वर्गीय दिलाराम भट्टले त्यस स्थानमा गई तन्त्रसाधना गरेपछि राति सपनामा देवीले दर्शन दिएर वैशाख पूर्णिमाको दिन पूजापाठ गर्नुका साथै बलि चढाए समस्या टर्ने बताइन्। त्यही दिनदेखि बली दिने प्रथाको सुरुवात भएको हो।
उनी भन्छन्, 'सुरुमा स्थानीयले मात्र पूजापाठ गर्थे र बली चढाउथे। विस्तारै पूजापाठ र बलि चढाउनेको संख्या बढ्दै गयो। अहिले भारत विहारबाट समेत हजारौं मानिस बली चढाउन यहाँ आउँछन्।' राजदेवी माताको पूजापाठ गर्दा मनोकामना पूरा भएपछि कतिपयले बहुमूल्य धातु सुन समेत चढाउने गरेको पूजारी भटट् बताउँछन्। मन्दिरमा चढाउने नगद र धातुबाट गाउँलेले मन्दिरको विकासमा लगाउने गरेको उनको भनाई छ।
लहान बजारदेखि राजदेवी मन्दिरसम्मको सडकमा बिहानैदेखि भीडभाड देखिएको छ। भीडभाडले चारपाङ्ग्रे गाडी समेत पुग्न हम्मेहम्मे भएको छ। सडक व्यवस्थानका लागि ठूलो संख्यामा ट्राफिक र सुरक्षाकर्मी परिचालन गरिएको छ।मेला स्थलमा खानेपानीको अभाव देखिएको छ। सडक फराकिलो बनाउन नसक्दा आवतजावतमा एकदमै समस्या देखिएको लहान नपा- ५ का गोविन्द पासवानले गुनासो गरेका छन्।