गुठीले आफ्नै जग्गा उपभोग गर्न पाएन

गुठीले आफ्नै जग्गा उपभोग गर्न पाएन

काठमाडौं : गुठी संस्थानले आफ्नो स्वामित्वमा रहेको सुन्धारास्थित ९ आना १ पैसा जग्गामा सटर बनाउन ठेक्का लगायो। अमात्य सप्लायर्सको टेन्डर स्वीकृत भएर जग खन्न सुरु पनि गर्‍यो। गुठीको जग्गा पछाडि रहेका व्यापारी सटर निर्माणको विरोधमा उत्रिए। गुठीको जग्गा पछाडि रहेका व्यापारीका सटर छेकिएकाले स्थानीयलाई उचालेर व्यापारी विरोधमा उत्रिएका हुन््। विरोधबाट केही नलागेपछि उनीहरूले महानगरपालिकालाई पनि गुहारे। संरचना निर्माण सुरु भएपछि स्थानीयको विरोधको निहुँ बनाउँदै महानगरपालिकाले निर्माण रोक्न गुठीलाई निर्देशन दियो।

सुन्धाराको उक्त जग्गा गुठीले जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चसम्म मुद्दा लडेर पुर्जा प्राप्त गरेको छ। सुन्धाराको उक्त जग्गामा गुठीले सटर बनाउन खोज्दा स्थानीयको विरोध भन्दै महानगरपालिकाले संरचना बनाउन रोक लगाएको छ। वसन्तपुरस्थित सिंह सत्तलको ‘ठिक’ (सटर) को भाडा लगाउनसमेत महानगरले रोकेको छ। आफ्नो स्वामित्वमा रहेका सिंह सत्तलका २९ वटा सटर लामो समयदेखि गुठीले भाडामा लगाउँदै आएको छ। उता महांकाल मन्दिर प्रांगणको गुठी जग्गामा महानगरले पार्किङ बनाएर शुल्क उठाएको छ।

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन्। गुठीको जग्गा र भौतिक संरचनामा स्वामित्वको विषयमा महानगर र गुठीबीच धेरै ठाउँमा विवाद छ। गुठीलाई आफ्नौ जग्गा उपभोग गर्नसमेत अवरोध गरिएको गुठी संस्थान काठमाडौंका प्रमुख वैकुण्ठप्रसाद रेग्मी बताउँछन्। उनी काठमाडौंका विभिन्न स्थानका गुठी जग्गामा अरूले नै रजाइँ गरिरहेको दुखेसो गर्छन्। ‘हामी संरचना बनाउन खोज्छौं, नगरपालिकाले रोकिदिन्छ। आफ्नै संरचनामा सधैं लगाइरहेको ठाउँमा भाडा लगाउन सूचना जारी गर्छौं, त्यहाँ पनि नगरपालिकाले दिँदैन’, उनी भन्छन्।

गुठी संस्थानका प्रशासक श्रीनारायण चौधरी महानगरपालिकाले धेरै ठाउँका गुठी जग्गा उपभोगमा अवरोध गरिरहेको बताउँछन्। काठमाडौं महानगरको वडा नं ११ को र १० को थापागाउँ कार्यालयसमेत गुठीको जग्गामा छ। महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले व्यक्ति र गुठीबीच विवाद भएकाले सुन्धाराको निर्माण कार्य तत्कालका लागि रोकिएको दाबी गरे। ‘त्यहाँ व्यक्तिगत र सामूहिक चासो छ। व्यक्तिको सटर पूरै छेकिन्छ, त्यहाँ खुला ठाउँ होस् भन्ने स्थानीयको आशय छ’, उनले भने, ‘धरहरा बनाउने कुरा पनि छ, त्यसैले अहिलेलाई रोकिएको मात्रै हो।’ निर्माण रोक्न अदालतमा समेत मुद्दा परेको छ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल ( श्रेष्ठ) ले काष्ठमण्डप बनाउन गुठीसँग माग्दा माग्दै भाडामा दिएकाले समस्या भएको बताए। ‘काष्ठमण्डप निर्माणका लागि जग्गा थोरै हुने देखिएपछि हामीले मागेका थियौं’, उनले भने, ‘हामीले माग्दा माग्दै उहाँहरू (गुठी) ले जबर्जस्ती भाडाका लागि टेन्डर गर्नुभयो। काष्ठमण्डप हाम्रो मात्र होइन जनसरोकारको विषय हो।’ सिंह सत्तल निर्माणमा ६० प्रतिशत लगानी महानगरको छ। ‘जग्गा गुठीको हो तर हामीले ६० प्रतिशत लगानी गरेर सिंह सत्तल बनाएका हौं। सिंह सत्तल हस्तान्तरणसमेत भएको छैन’, उनले भने। नगरपालिका र गुठीले संयुक्त व्यवस्थापन गर्न सिंह सत्तल बनाइएको उनको तर्क छ।

महानगरको आदेशमा सुन्धारामा निर्माण रोकिएको गुठीका सटर। सुरेन्द्र काफ्ले


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.