रिफ्युलरका कारण प्रधानमन्त्रीकै उडान प्रभावित

रिफ्युलरका कारण प्रधानमन्त्रीकै उडान प्रभावित

काठमाडौं : विमानस्थलमा रहेको इन्धन डिपोबाट इन्धन ओसारेर आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाजमा इन्धन भर्ने सवारीसाधन (रिफ्युलर) का कारण प्रधानमन्त्रीको भ्रमण समेत प्रभावित हुन थालेको छ । वैशाख १ मा रारा सम्बोधनका लागि मुगु उड्ने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेको हेलिकोप्टर ४० मिनेट ढिला उडेको थियो ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भराईले त्यस दिन रिफ्युलरका कारण समयमा हेलिकोप्टर उडाउन नसकिएको बताए । ‘रिफ्युलर नभएर हामीले ठूलै बदनामी कमाउन थालेका छौं’, उनले भने, ‘यो समस्या समाधानका लागि हामीले पहल थालेका छौं ।’

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई रिफ्युलर छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान संख्या थपिँदै गए पनि रिफ्युलरको संख्या थपिएको छैन । यसका कारण एउटा जहाजले हवाई इन्धन भर्न कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म पालो कुर्नुपर्छ । हवाई इन्धन भर्न लामो समयका कारण हवाई जहाजको उडान तालिका प्रभावित हुँदै आएको छ । पछिल्लो समय त्रिभुवन विमानस्थलसहित यो ढिलाइ सामान्य भइसकेको छ ।

राराको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली विमानस्थल पुगेको दिन आन्तरिकतर्फ दुईमध्ये एक १२ हजार लिटर क्षमताका रिफ्युलर परिचालन गरिएको थियो । एउटा रिफ्युलर बिग्रेर थन्किएको थियो । सानो क्षमताको रिफ्युलर सञ्चालनमा भएकाले आन्तरिकतर्फको नियमित र निर्धारित उडान समय तालिकाको जहाज र अन्य हेलिकोप्टरको इन्धनको माग परिमाणअनुसार डिपोबाट तीनदेखि पाँच पटकमा इन्धन ओसार्दै भर्नुपरेको थियो ।

वैशाख १ मा रारा सम्बोधनका लागि मुगु उड्ने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेको हेलिकोप्टर ४० मिनेट ढिला उडेको थियो ।

रिफ्युलरले इन्धन लिन लाइनमा बसेका सबै जहाज र हेलिकोप्टरलाई १२ हजार लिटरमध्ये ११ हजार लिटर इन्धन वितरण गरेको थियो । रिफ्युलरमा एक हजार लिटर इन्धन मात्रै बाँकी थियो । प्रधानमन्त्री चढेको हेलिकोप्टरलाई करिब चार हजार लिटर हवाई इन्धन आवश्यक परेको थियो । अर्को रिफ्युलर भएको भए मागअनुसार एकै खेपमा प्रधानमन्त्री चढेको हेलिकोप्टरमा लोड दिन सकिन्थ्यो । उक्त रिफ्युलरमा भएको एक हजार लिटर तत्कालै १० मिनेट लगाएर हेलिकोप्टरमा इन्धन लोड गरिएको थियो । त्यसपछि खाली भएको रिफ्युलरलाई डिपोमा ल्याएर पुनः २० मिनेटको समय लगाएर लोड गरी दोस्रो पटकमा प्रधानमन्त्री चढेको हेलिकोप्टरमा करिब १० मिनेट लगाएर इन्धन लोड गरिएको थियो ।

रिफ्युलरको विकल्प : हाइड्रेन्ट रिफ्युलिङ सिस्टम

देशभरका विमानस्थलमा उडान र अवतरण गर्ने जहाजमा इन्धन भर्ने ‘रिफ्युलर’ को चर्को अभाव व्यहोर्दै आएको निगमले विकल्प खोज्न सुरु गरेको छ । निगमले भएकै रिफ्युलरको प्रयोग गरी छोटो समय लगाएर तेल वितरण गर्न विभिन्न प्रकारको विकल्पको खोजीमा लागेको छ । विकल्पमध्ये निगमले अहिले त्रिभुवन विमान स्थलको सिभिल इन्जिनियरिङ विभागलाई तत्कालको समस्या समाधान गर्न ‘हाइड्रेन्ट रिफ्युलिङ सिस्टम’ जडान गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । यो प्रविधि जडान गर्नुपर्ने विषयमा निगमले दुईपटक गहन रूपमा सरोकारवाला निकायसँग छलफल पनि गरिसकेको छ ।

हाइड्रेन्ट रिफ्युलिङ सिस्टम जडान गरी पाइपलाइनमार्फत जहाजमा निकै कम समय उपभोग गरी इन्धन वितरण गर्न सकिन्छ । आवश्यकताका आधारमा थप रिफ्युलरको व्यवस्थापन नहुँदासम्म यो प्रविधिको माध्यमबाट धेरै हदसम्म समस्या समाधान गर्न सकिने निगमको निष्कर्ष छ । निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले भने, ‘अहिले देशभरको विमानस्थलमा रिफ्युलरको चर्को अभाव व्यहोर्न हामी बाध्य भएका छौं । यो समस्यालाई तत्कालै जादुको छडीले समाधान गर्न सक्ने अवस्था छैन । हामी सकेसम्म तत्कालीन समस्यालाई समाधान गर्न यो विकल्प तयार गरी सिभिल एभिएसनसामु प्रस्ताव गरेका छौं ।’

विमानस्थलमा रहेको १ नम्बर जहाजको पार्किङदेखि दक्षिणतर्फ निर्माण योजना अघि बढ्दै गरेको २ नम्बर पार्किङस्थलमा हाइड्रेन्ट रिफ्युलिङ सिस्टम जडान गर्ने योजना सारिएको छ । यो योजनाअनुसार विमानस्थलको डिपोदेखि निर्माण हुने नयाँ पार्किङ स्थलसम्म भूमिगत पाइपलाइन ओछ्याइने छ ।

पाइपलाइनको एउटा प्वाइन्ट नयाँ पार्किङस्थलमा राखिनेछ । जहाजको आवश्यकता हेरेर डिस्पेन्सरको सहयोगमा कम समयमै अत्यधिक परिमाणमा इन्धन लोड दिन सकिन्छ । भट्टराईले भने, ‘अहिले पार्किङको निर्माण गर्ने क्रममै यो काम गर्न सकियो भने खर्च पनि कम लाग्छ र तत्कालै समस्या पनि समाधान हुन्छ । निर्माण गर्न र उपकरणमा लाग्ने सम्पूर्ण खर्च पनि हामीले नै व्यहोरिदिने हो ।’

निगमले रिफ्युलरको चर्को समस्या समाधान गर्न अहिले इन्डियन आयल कर्पोरेस (आईओसी) सँग पनि पछि फिर्ता गर्ने शर्तमा २७ हजार लिटर क्षमताको एक थान रिफ्युलर माग गरेको छ । तर, माग गरिएको यो रिफ्युलर आउन पनि लामो समय कुर्नुपर्ने निगमले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.