मेला भर्न एम्बुलेन्स प्रयोग
सिरहा : एम्बुलेन्स बिरामीलाई सेवा दिने सवारी साधन हो तर सोमबार सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोढनामा लाग्ने मेला हेर्न प्रयोग भएको छ । यसरी एम्बुलेन्स प्रयोग गरी मेला भर्न आउनेलाई सहज भए पनि अरूलाई समस्या भएको श्रद्धालुले बताएका छन्।
ढोढनामा रहेको राजदेवी मन्दिरमा भाकल गर्नेहरूले वैशाख पूर्णिमाका दिन बलि चढाउने गर्छन् । यही बेला मन्दिरमा धार्मिक मेला पनि लाग्ने गरेको छ । ‘एक त भीडका कारण आवतजावतमा समस्या छ, त्यसमाथि एम्बुलेन्स आयो’, अर्नमा गाउँपालिका वडा नम्बर ५ कृष्णपुरका महेश यादवले भने, ‘हामीलाई कठिन भए पनि एम्बुलेन्समा जाने यात्री सहजै मन्दिरसम्म पुगे ।’ उनका अनुसार अरूले सवारी साधन दुई किलोमिटर परै राखी पैदल हिँडेर मन्दिर गएका थिए ।
उदयपुरको कटारी, धनुषा, लहान, सिरहालगायत ठाउँबाट एम्बुलेन्स चढी मेला भर्न आएका थिए । ‘बिरामीलाई सेवा दिने साधनलाई यसरी व्यक्तिगत काममा प्रयोग गर्नु उचित होइन’, सिरहा नगरपालिका वडा नम्बर ७ का सरोज पासमानले भने, ‘नियम-कानुनले केही चलेको छैन, जसलाई जे गरे पनि हुने रहेछ ।’ आफूलाई पैदल मन्दिरसम्म पुग्न हम्मेहम्मे भएको उनले सुनाए ।
झरी परेपछि मेला भर्न र बलि चढाउन आएकाहरूलाई आवतजावतमा कठिनाइ भएको छ । लहान बजारबाट मन्दिरसम्म पुग्ने सडक कालोपत्रे नहुँदा झरी परे ठाउँ-ठाउँमा पानी जमेको छ । विगतमा वैकल्पिक बाटो पनि प्रयोग गरिन्थ्यो तर यस वर्ष वर्षाले अवरुद्ध भएको छ । ट्र्याक्टर, जिप, कार, बस खुट्टी खोला हुँदै जाने गरेका थिए तर यो वर्ष झरी परेपछि आउजाउ गर्न समस्या भएको जनाइएको छ ।