'नेपालको पुनर्जागरणको अर्थ र आधार' बजारमा
काठमाडौं : डा. निर्मलमणि अधिकारीको ४३ औं पुस्तक 'नेपालको पुनर्जागरणको अर्थ र आधार' सार्वजनिक भएको छ। जरो किलो प्रतिष्ठान नेपाल र सहृदयता समाज नेपालको आयोजनामा बुद्ध जयन्तीको अवसरमा पञ्च कन्याहरूले पुस्तक लोकार्पण गरेका हुन्।
काठमाडौंको नेपाल ल क्याम्पसमा सोमबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण भएको हो। पुस्तकमा अथातो पुनर्जागरण, पुनर्जागरण र आधुनिकता, पुनर्जागरणको नेपाली पथ, नेपालीपन, राष्ट्रराज्य र राज्यराष्ट्र, पुनर्जागरण सचेतानासँग असङ्गत राजनीति, आर्दश र लक्षः वैज्ञानिक सत्ययुग र सुनिश्चित आधार लगायतका विषय समेटिएका छन्।
पुस्तक लोकार्पण कार्यक्रममा जरो किलो महाअभियानका संस्थापक उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले पुस्तकले नेपालमा पुनर्जागरणको तरंग पैदा हुने बताए। नेपालको वर्तमान व्यवस्थाका सम्पूर्ण आयामलाई पुस्तकले धक्का दिने कार्यक्रमका वक्ताहरूले बताए।
पुस्तकका लेखक डा. अधिकारी अनुसन्धान, लेखन, प्रशिक्षण र प्राध्यापनमा सहभागी छन्। डा. अधिकारीको आह्वानमै जरो किलो महाअभियानको स्थापना भएको थियो।
अधिकारीले आफ्नो नयाँ पुस्तकले नेपालको पुनर्जागरणको संकथनलाई स्पष्ट दिशा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए।