देउवाले मुख्यमन्त्रीलाई भने, ‘कांग्रेसलाई पनि साथमा लिनुस्’
धनगढी: पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशको समृद्धीका लागि आफु साथमा रहेको बताएका छन ।
उनले सक्रिय भएर प्रदेशको विकासका लागि लाग्न सुझाव पनि दिए । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा लागि धनगढी आएका पुर्व प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच उद्घाटन पुर्व मंगलबार विहान देउवाको धनगढीस्थित निवासमा भेटवार्ता भएको हो ।
प्रतिनिधि सभाको चुनावका बेला देउवा पत्नी आरजले किनेको घरमा विहान दुबैबीच भेटवार्ता भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिए ।
मुख्यमन्त्री भट्टलाई देउवाले प्रतिपक्षलाई पनि समेट्दै सहमति गरेर अघि बढेमा राम्रो हुने सुझाव दिएका छन् । ‘प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर लैजानुस, विकास निर्माणका काममा सक्रिय हुनुहोस’, देउवाको भनाइ उधृत गर्दै ओलीले भने, ‘प्रतिक्षीलाई पनि सक्रिय भएर लाग्न उत्प्रेरणा दिनुहोस ।’ ओलीले राजधानी र प्रदेशको नामाकरणबारे पनि गम्भीर वार्ता भएको जानकरी दिए ।
‘देउवाले प्रदेशको राजधानीको स्थानबारेमा केही भन्नुभएन, तर त्यसमा पनि सहमति खोज्नुस भन्नुभयो । अझ नामबारेमा सबैलाई सहमतिमा ल्याएर मात्रै अघि बढ्दा राम्रो हुन्छ भन्ने सुझाव देउवाको थियो’, दुवै नेताको सम्बाद उधृत गर्दै ओलीले भने ।
मुख्यमन्त्री भट्टले पुर्वप्रधानमन्त्री देउवालाई प्रदेशको समृद्धि, विकास, नामाकरण र राजधानीबारेमा सकारात्मक सहयोगको आग्रह गरेका छन् ।
‘यो प्रदेशमा राष्टिय गौरवका योजनाहरु थोरै छन्, राष्टिय गौरवका योजनाहरुको संख्या बढाउनका लागि प्रदेश सरकारले संघीय सरकारलाई निर्णय नै गरेर अनुरोध गर्ने तयारी गरेको छ, त्यसमा तपाईको साथ र समर्थन चाहिन्छ’ मुख्यमन्त्री भट्टले देउवलाई आग्रह गरेको ओलीले बताए ।
‘जवाफमा देउवाले भने प्रदेश नम्बर ७ को विकास र समृद्धिका लागि म तपाईँको साथमा छु, ढुक्क भएर जनतालाई विकासको अनुभुती हुने गरि काम गर्नुस ।’ देउवाले अहिले संघीयता परिपक्व भइनसकेकाले प्रदेश सदनमा सकेसम्म मतविभाजन नहुने गरी काम गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन ।
पुर्वप्रधानमन्त्री र यस क्षेत्रको नेता भएकाले पनि दुबै बीचमा सोमबार नै भेटघाट गर्ने समय तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव ओलीले बताए । मुख्यमन्त्री चयन भएपछि देउवा र मुख्यमन्त्री भट्टको यो पहिलो भेटवार्ता हो ।