राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन कार्यालयमा तालाबन्दी
सुर्खेतः राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजना निर्माणका क्रममा स्थानीयाबसी र कामदारबीचको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार तालाबन्दी गरिएको हो ।
आयोजनाबाट प्रभावित र मजदुृरहरुसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा तालान्दी गरिएको हो ।
विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयबासीहरुका तर्फबाट सरोकार समिति र मजदुर यूनियनले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।
मागै माग
आयोजना निर्माण गर्दा अतिप्रभावितस्थल भेरीगंगा नगरपालिका–५ हात्तिखाल र गेरुबानीमा दीर्घकालिन रुपमा शुद्ध खानेपानी योजना निर्माण गर्नुपर्ने सहमति हालसम्म कार्यान्वयन नभएको सरोकार समितिको आरोप छ ।
यस्तै, विद्युत, सिँचाइ लिफ्टिङ्गको दीर्घकालिन समाधान गर्नुपर्ने, आयोजना निर्माण क्षेत्रको जनता प्रावि र सरस्वति प्राविमा ध्वनि तथा वायु प्रदुषणरहित पर्खाल व्यवस्थापन गर्नुपर्ने माग सरोकार समितिले राखेको छ ।
हात्तिखाल र गेरुवानीअन्तर्गत पर्ने मुल सडक तथा रिङ्ग रोडमा पक्की नालासहित विभिन्न खोलाहरुमा आवश्यकताअनुसार कल्भर्ड तथा ह्युम पाइप तत्काल व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा दीर्घकालिन तटबन्धनको तत्काल व्यवस्था गर्ने सहमति भएपनि हाल कुनै काम नगरेकाले आयोजनाले विगतमा भएका सम्झौताहरु कार्यान्वयमा आफुहरु विश्वस्त नभएको प्रभावितहरुको भनाइ छ ।
प्रभावितक्षेत्रमा स्थायी रुपमा बसोबास गर्ने स्थानीयबासीका लागि उपयोगी सीपमुलक, कृषि तथा पशुपालन, स्वरोजगारमुलक तालिम सञ्चालन गर्न स्थानीय समुदायको माग छ ।
वनभोज पार्क चाहियो ?
यस्तै, खेलमैदान र वनभोज पार्क निर्माण गर्नुपर्ने पनि माग गरिएको छ । विभिन्न बाहानामा आयोजना तथा चिनिया कम्पनीबाट निकालिएका दक्ष–अदक्ष कामदारहरुलाई प्रत्यक्ष कामदारको रोहवरमा सहमति गरि तत्काल रोजगारी दिनुपर्ने माग मजदुर युनियनको छ ।
उनीहरुले काम गरिहेका कामदारलाई रोजगारीबाट निकालिएकोमा आपत्ति जनाउँदै पुनः काम दिन माग पनि गरेका छन् । यस्तै, कामदार तथा श्रमिकहरुको मासिक रुपमा एक दिन बिदा दिनुपर्ने र दिनको पूर्ण तलबभत्ता उपलव्ध गराउनुपर्ने माग मजदुरहरुका छन् ।
पहिल्यै पुरा भए माग
यता आयोजनाका निर्देशक शिवकुमार बस्नेतले असन्तुष्ट पक्षका मागहरु पहिले नै पुरा भइसकेको बताउँदै केही माग कार्यान्वयन भइरहेको अवस्थामा आयोजनालाई प्रभावित गर्न तालाबन्दी गरिएको आरोप लगाए ।
‘हामी स्थानीय र मजदुरको मागप्रति संवेदनशील छौं, त्यसैले केही पहिले नै पुरा गरिसकेका छौं र केही माग पुरा हुने चरणमा छन्’, उनले भने, ‘नेपालमै नमूना प्रोजेक्टको धमाधम काम भइरहेको अवस्थामा तालाबन्दी गर्नु राम्रो होइन, चित्त नबुझेको कुरा छफफल गर्नुपर्यो । तालबन्दी गरेर काम कसरी अगाडि बढ्छ ?’ उनका अनुसार भेरी बबईको सुरुङ निर्माण मंगलबारसम्म चार किलोमिटर सम्पन्न भइसकेको छ ।