विदेशमै बेपत्ता नेपाली कामदार

विदेशमै बेपत्ता नेपाली कामदार

धादिङ : सिद्धलेक गाउँपालिका १ पीपलनलाङका समीर सिलवाल २०५९ साल फागुन २८ गते रोजगारीका लागि मलेसिया गए । मलेसिया पुगेको ३ महिनापछि सिलवालले ‘राम्रो काम पाएको र आफ्नो अवस्था पनि राम्रो रहेको’ भनेर घरमा चिठी लेखे । त्यसपछिका तीन वर्ष फोन पनि आएन चिठी पनि आएन । समीरका बुवा पूर्णप्रसाद सिलवालले भने, ‘काम रामै्र छ भनेर चिठी पठाएको छोराले यताबाट पठाएको चिठीको उत्तर पनि पठाएन, फोन पनि गरेन ।’

गाउँमा फोन थिएन । २०६२ सालको पुस महिनामा पृथ्वीराजमार्गस्थित मलेखु पेट्रोलपम्ममा आफ्नो परिवारलाई बोलाइदिन आग्रह गर्दै मलेसियाबाट फोन आयो । छोरासँग बोली मिसाएको अन्तिम पटकको सम्झना गर्दै आँखाभरि आँशु बनाएर पूर्णप्रसादले भने, ‘छोरोको फोन आएको भोलिपल्ट हामी बुढाबूढी र कान्छो छोरा–बुहारी मलेखु पम्पमा गयौँ । त्यो दिन फोनमा छोराले रुदै आफूलाई कम्पनीले फसाएको र तलब नदिएकाले घरमा सम्पर्क गर्न नपाएको कुरा सुनायो ।’ अब जसोतसो विदेश जाँदा लागेको ऋण तिर्ने पैसा जम्मा गरेर २०६३ सालको दसैंतिर जसरी पनि फर्कन्छु भनेर कुरा टुंग्याएका समीर त्यसपछि १२ वटा दसैं बितिसक्दा पनि घर फर्किएनन् ।

पूर्णप्रसादलाई छोरा मलेसियाको कुन कम्पनीमा काम गथ्र्यो अथवा उ कुन कम्पनीमा काम गर्ने भनेर गएको हो केही थाहा छैन । ‘विदेश जान्छु भन्यो, घर छाड्ने अघिल्लो दिन गाउँमा ऋण गरेर एक लाख रुपैयाँ हातमा हालिदिएर विदा गरेको हुँ ।’ पूर्णप्रसादले भने, ‘उसलाई विदेश पठाउने सलाङ आरुवासटारको शालिकराम सिलवाल र मैदी उखुबारीको शिव सेढाई हुन्, त्यो बाहेक अरु केही थाहा छैन, कागजपत्र पनि छैन ।’

छोराको खोजी गरिपाउँ भनेर पूर्णप्रसादले काठमाडौंमा रहेको मलेसियाको दूतावास र विभिन्न संघसंस्थामा निवेदन पनि दिए । छोराको सास वा लास पत्ता लगाउन समीरकी आमाले कैयौं ठाउँ पुगेर ज्योतिषको सहारा पनि लिइन् । १२ वर्षसम्म बेपत्ता छोरो फर्किएला भन्ने आशमा रहेकी समीरकी आमा चन्द्रकुमारीको २०७४ वैशाखमा मृत्यु भयो । ‘छोराकै पीरले कालले चाँडै लग्यो’, पूर्णप्रसादले भक्कानिँदै भने, ‘अन्तिम समयमा पनि त्यही छोराको नाम लिइरहेकी थिई ।’

घरमा कान्छो छोराबुहारी रहे पनि हराएकै छोराको बढी याद आइरहने पूर्णप्रसादले बताए । आर्मीको जागिर खाने पूर्णप्रसादको कान्छो छोराले पनि संकटकालका बेला जागिर छाडे । कान्छी बुहारीलाई ‘ब्लड क्यान्सर’ भएपछि २२ लाख रुपैयाँ खर्च गरे पनि बुहारी बचाउन सकेन सिलवाल परिवारले । पूर्णप्रसादका कान्छो छोराल अहिले गाउँमा फोटोकपी पसल चलाइरहेका छन् । पूर्णप्रसाद भन्छन्, ‘१५ वर्ष भयो समीरको अनुहार नदेखेको, गाउँमा नयाँ मान्छे आउँदा पनि आफ्नै छोरा आएजस्तो लाग्छ । अब म पनि कति दिन बाच्छु होला र ! मर्नुअघि एकपटक उसको अनुहार हेर्ने धोको छ ।’

रसबहादुर गुरुङका ३१ वर्ष

३० वर्षको भरभराउँदो उमेरमा कमाउन भारत गएका नीलकण्ठ नगरपालिका वडा नं २ सिम्लेका रसबहादुर तामाङ आजसम्म घर फर्केका छैनन् । तीन महिनाकी गर्भवती श्रीमती छाडेर बिदेसिएका थिए, रसबहादुर । श्रीमान् बिनाका ३१ वर्षसम्म दुःखका पहाड छिचोलिन उनकी श्रीमती दुधिमाया गुरुङले । तर पनि रसबहादुर फर्केर आएनन् न त पैसा नै पठाए ।

३० वर्षको भरभराउँदो उमेरमा कमाउन गएका नीलकण्ठ नगरपालिका वडा नं २ सिम्लेका रसबहादुर तामाङ आजसम्म घर फर्केका छैनन् । तीन महिनाकी गर्भवती श्रीमती छाडेर बिदेसिएका थिए, रसबहादुर । श्रीमान्बिनाका ३१ वर्षसम्म दुःखका पहाड छिचोलिन उनकी श्रीमती दुधिमाया गुरुङले । तर पनि रसबहादुर फर्केर आएनन् न त पैसा नै पठाए ।

यो अवधिमा दुधिमायाले श्रीमान मरे बाँचेको केही खबर पाइनन् । जेठो छोरो १० वर्षको र कान्छो छोरा आमाको पेटमै भएका बेला कमाउन भारत गएका बाउको बारेमा छोराहरूले पनि निकै खोजी गरे तर केही पत्तो लागेन ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि त्रिपालमा बसिरहेका बेला श्रीमान् रसबहादुरको फोन आयो भन्ने खबरले दुधिमाया झस्किइन् । सुरुमा बुढाले फोन गरे होला भनेर पत्यार पनि लागेन उनलाई । ‘घर छोडेको २९ वर्षपछि श्रीमानसँग बोल्न पाएँ, आँखाबाट बरर आँसु झ¥यो’, दुधिमायाले भनिन्, ‘मेरा श्रीमान् जिउँदै त रहेछन् भनेर खुसी लाग्यो ।’ तर अहिलेसम्म पनि उनी फर्किएका छैनन् ।

रसबहादुर मात्र होइन, दुधिमायाले श्रीमान्बिना हुर्काएको कान्छो छोरो इन्द्रबहादुर तामाङ पनि आठ वर्ष अघिदेखि मलेसियामा बेपत्ता छन् । जेठो छोरा राजु गुरुङ पनि कमाउन भारतको दिल्ली पुगेका छन् । ‘जेठो छोरा राजु बेला बेलामा घर आइरहन्छ, पैसा पठाइरहन्छ’, दुधिमायाले भावुक हुँदै भनिन्, ‘कान्छो छोरा इन्द्र र श्रीमान् घर नफकर्ने भए ।’

आठ छोराछोरी पाएका गुरुङ दम्पतीले चारवटा छोराछोरी मात्रै बचाउन सके । सबैभन्दा कान्छो छोरा श्रीमतीको गर्भमा आएदेखि घर छोडेका रसबहादुर न त घर फर्किए न त घर खर्च चलाउन पैसा नै पठाए । दुधिमायाका दुःखका दिन त्यहीँबाट सुरु भयो । आज फर्केला भोलि फर्केलान् भनेर श्रीमान् आउने दिन गन्दा गन्दै दुधिमायाका ३१ वर्ष बिते । ‘बुढाले छाडेर गए भनेर आफूले बालबच्चा छाडेर हिड्न सकिन’, दुधिमायाले भनिन्, ‘माइती र आफन्तको सरसहयोगले आजसम्म बचायो मलाई ।’

श्रीमान् बेपत्ता भएपछिका दिन सम्झिँदै दुधिमायाले भनिन्, ‘काखमा रहेका तीनवटै बालबच्चालाई विष खुवाएर आफू पनि मर्छु भन्नेसम्म सोचेँ, तर माइतीले त्यो दुर्घटना हुन दिएनन् । रातभर रक्सी पारेर दिनभर ग्यालेनमा बेचेर पनि घर खर्च चलाएँ ।’

बाबुको खोजी गर्न फोन गरेको ठेगाना पछ्याउँदै नागरिकता लिएर जेठा छोरा भारतको लद्धाकसम्म पुगेर बाबुको अवस्था त पत्ता लगाए तर फिर्ता ल्याउन सकेनन् । दुधिमायाले छोराको भनाइ उदृत गर्दै भनिन्, ‘यतिका वर्ष साहुले काममा लगाएर खानबाहेक एकसुको पैसा दिएको रहेनछ, पैसा दिने भाका सार्दा सार्दै वर्षौं बितेका रहेछन् ।’

‘ श्रीमान्ले ३१ वर्ष काम गरेको तलब ६०÷७० लाख रुपैयाँ लिनुपर्ने रहेछ । वर्ष दिनमा एकपटक कम्पनीमा आउने मालिकले भाका सार्दा सार्दै यत्रो वर्ष बितेको रहेछ’, दुधिमायाले भनिन्, ‘पैसाका लागि मैले घरपरिवार बिचल्लीमा पारेर जवानी बिताए, अब मैले पैसा लैजान नपाए यही मर्छु भनेर छोरासँग घर फर्किन मानेनछन् ।’

बाबा खोज्दै छोरीहरू

आफू तीन वर्षको हुँदा बिदेसिएका बाबुको अनुहार कस्तो छ भन्ने पनि थाहा छैन नीलकण्ठ नगरपालिका वडा नं ८ पाल्पाकी एलिजा लम्साललाई । विद्यालयमा बेला बेलामा बाबाको खोजी हुँदा साह्रै नरमाइलो लाग्ने गरेको उनी बताउँछिन् । ‘मेरो बाबा कस्तो हुनुहुन्छ, कहाँ हुनुहुन्छ केही थाहा छैन’, एलिजाले भनिन्, ‘बेला बेलामा अरुले सोधिदिँदा साह्रै नरमाइलो लाग्ने गर्छ ।’

२०६० साल चैत २५ गते बाबाआमा, श्रीमती र दुई छोरी छाडेर मलेसिया गएका कृष्णप्रसाद लम्साल आजसम्म घर फर्केका छैनन् । २०६३ साल भदौमा परिवारसँग टेलिफोन गरेर फागुनमा घर आउँछु भनेका कृष्णप्रसाद घर त आएनन्, खबर पनि आएन । आफ्नै जेठानको म्यानपावर कम्पनीबाट साढुभाइसँगै काम गर्न मलेसिया गएका कृष्णप्रसाद मलेसियाबाट घर जान टिकट काटे पनि घर आइपुगेनन् । कृष्णप्रसादकी श्रीमती पार्वती लम्सालले भनिन्, ‘मलेसियामा सँगै काम गर्ने बहिनीज्वाइले मेरा श्रीमान् घर जान भनेर प्लेनसमेत चढेको खबर दिनुभयो तर नेपाल आएपछि उहाँको अत्तोपत्तो छैन ।’

कृष्णप्रसादका बाबु षष्ठिप्रसाद लम्सालले भने, ‘दूध खाँदै गरेको अवस्थामा छोडेर गएका दुई छोरी हुर्किइसके । छोरीहरूलाई काकाले सँगै राखेर पढाए । तर पनि मन न हो, आफ्नो बाबा नहुँदा नरमाइलो मानिरहन्छन्, चाडपर्व आउँदा रोएरै दिन बिताउँछन् ।’

कान्छी छोरीलाई बाबाको कुनै याद नभए पनि जेठी छोरी भने सधैं बाबाको खोजी गर्ने गरेको षष्ठिप्रसादले बताए । कृष्णप्रसादकी जेठी छोरीले बेलाबेलामा बाबाको बारेमा फेसवुकमा लेखिरहन्छिन् । २०७४ मंसिर १४ गते फेसबुकमा निकै मार्मिक स्टाटस लेखेकी छिन् –बाबा हजुरको बारेमा कसैलाई केही नसोधभन्दा पनि कसैले सोधीहालेमा यो मन भक्कानिन्छ, नचाहँदा नचाहँदै पनि यी आँखा रसाइरहन्छन्, हजुरको माया खासै अनुभूति गर्न नपाए पनि अब भने माया पाउन मन छ, तपाईं जहाँ भए पनि एकपटक घर आइदिनुस् है ।’

‘हामीले नातिनीहरूलाई बाउको अभाव महसुस गर्न त दिएका छैनौं, तर आफ्नै बुवा भएजस्तो कहाँ हुँदो रहेछ र ? ’, बेपत्ता कृष्णप्रसादकी आमा खिनकुमारीले भनिन्, ‘उनीहरूलाई अरुले खाएको खान मन लाग्ला, अरुले लाएको लाउन मन लाग्ला, हामीले त अड्कलेर दिन्छौँ, हाम्रो आफ्नै मन त बुझाउन सकिएको छैन, ती अवोध नातिनीहरूले कसरी बुझाउने मन ? ’

कृष्णप्रसादका तीन दाजुभाइमध्ये एक भाइ पाँच वर्ष अघिदेखि कोरियामा छन् । एक भाई काठमाडौंमा सानो व्यवसाय गरेर बसेका छन् । बुवा षष्ठिप्रसादले भने, ‘मेरा दुई छोराहरूले जेठो छोराको अभाव महसुस गर्न त दिएका छैनन्, तर आफ्नै मन बुझाउन सकिएको छैन, किन घर आएन, केही नराम्रो आपत बिपतमा पो फस्यो कि भन्ने लागिरहन्छ ।’

आमा चिन्दैनन्, दीपेश र दीलिप

६ वर्ष र ९ वर्षका दुई छोरा सासुससुरालाई जिम्मा लगाएर दुई वर्षका लागि कुबेत गएकी नीलकण्ठ २ बसाहकी अस्मिता पौडेल पाँच वर्ष भयो घर नफिर्किएको । कमाउन जान्छु भनेपछि पठाएको भए पनि अहिलेसम्म पैसा पनि नपठाएको र भूकम्पपछि सम्पर्कसमेत नभएको अस्मिताकी सासु झलक कुमारी पौडेलले बताइन् । उनले भनिन्, भैंसीको दूध खुवाएर नातिहरूलाई हुर्काए, बेलाबेलामा आमा खोज्छन्, कहाँबाट खोजेर ल्याइदिउ अब मैले तीनकी आमा ? ’

श्रीमती सम्पर्कविहीन भएपछि श्रीमान् सानुबाबु पौडेल पनि मानसिक रूपमा विछिप्त छन् । बुहारीले फोन गर्न छाडेदेखि छोरो गाउँ डुलेर हिड्ने, ज्यालादारी काम गरेर कमाएको पैसा रक्सी खाएर सक्काउने, १५÷२० दिनसम्म घरमै नआउने गरेको सानुबाबुकी आमा झलक कुमारीले बताइन् ।

काकाहरूको सहयोगमा अस्मिताका दुई छोराहरू १४ वर्षका दीपेश र ११ वर्षका दीलिप स्कुल त गइरहेका छन् तर प्यारलाइसिस भएका ७६ वर्षीय झलकबहादुर पौडेल र ७० वर्षकी झलककुमारी पौडेललाइ ती दुई नातिकै चिन्ता छ । ‘हामी मर्ने बेला भइसक्यो, यीनका आमाको अत्तोपत्तो छैन, बाउ बहुलाएर गाउँमा हिड्या छ’, प्यारलाइसिस भएर एउटा हात नचले पनि बारीमा खनिखोस्री गरिरहेकी ७६ वर्षीय झलकबहादुर पौडेले भक्कानिँदै भने, ‘अब छोराबुहारीको भन्दा पनि यी नातिहरूको चिन्ता छ मलाई ।’

किन हराउँछन् विदेशमा

वैदेशिक रोजगारीमा गएर बेपत्ता भएको भन्दै २३ जनाका आफन्तले खोजी कार्य गरिदिन धादिङका प्रमुख जिल्ला अधिकारीसमक्ष निवदेन दिएका छन् । प्रवासी नेपालीलाई पर्ने समस्याबारे काम गर्ने संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) की सीता पन्थ भण्डारी भन्छिन्, ‘विदेशमा बेपत्ता हुनेहरू दुई किसिमका छन् । एक स्वेच्छाचारी र अर्को परिवन्दमा परेर ।’

एउटा कम्पनीमा काम गर्न भिसा लगाएर गएका काम राम्रो नभएपछि भागेर अर्को कम्पनीमा गएका हुन्छन्, जुन अवैधानिक हो । त्यसबेला पक्राउ परेको खण्डमा उनीहरूसँग केही कागजपत्र हुँदैन र लामो समयदेखि जेलमा हुन्छन् । ‘महिला कामदारको हकमा घरायसी कामदारको रूपमा जाने र चरम शोषणमा पर्ने, साहुले नै थुनेर राख्ने कारण सम्पर्कविहीन भएका उदाहरण छन्’, भण्डारीले भनिन््, ‘विदेशमा गएर हराउने अधिकांश नेपालीको घरमा विदेश गएको कागजपत्र कुनै पनि छैन, परिवारका सदस्यलाई कमाउन गएको देशको नाम मात्रै थाहा छ, कुन सहर, कुन कम्पनी केही थाहा हुँदैन, यतिसम्मकी कसले पठायो भन्नेसम्म पनि थाहा नभएपछि खोज तथा उद्धारमा समस्या हुन्छ ।’

धादिङबाट हराउनेमा १६ जना मलेसिया गएका छन् । मलेसियामै तीन वर्ष काम गरेर नेपाल फर्किएका आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका सचिव धर्मराज थपलिया भन्छन्, ‘काम गर्न गएको १०÷१२ वर्ष परिवारसँग सम्पर्क नहुनेहरू अधिकांश अवैधानिक कामदार हुन्छन् ।’

थपलियका अनुसार भनेजस्तो काम नपाएपछि भागेर अन्य कम्पनीमा गएर काम गर्ने र कुनै कागजपत्र नभएपछि बाहिर निक्लनेबित्तिकै जेल पर्ने भएका कारण पनि वर्षौंसम्म कम्पनीभित्रै थुनिएर परिवारसँग सम्पर्कविहीन हुने गर्छन् । ‘मलेसियामा जुवातास खेल्ने, रक्सी खाने, ‘गर्लफ्रेन्ड’ बनाउने समस्या पनि नेपालीहरूमा देखिएको छ’, थपलियाले भने, ‘यतिसम्म कि महिनादिन कमाउने उतै रमाउने, पैसा पठाउने बेलामा म लुटिए भनेर घरमा रुदै फोन गर्नेहरू पनि भेटिए ।’

कमाउन भनेर ऋण गरेर गएको अवस्थामा कमाएको पैसा खानलाउन मात्रै पुग्ने भएका कारण पनि कतिपयले घरपरिवारमा पैसा पठाउन नसकेर सम्पर्क गर्दैनन् । विदेशमा चार वर्ष बस्दा एक वर्ष परिवारसँग सम्पर्क नगरी बेपत्ता भएर घर फर्किएका कुम्पुरका दिलबहादुर श्रेष्ठले भने, ‘कमाएर घरमा पैसा पठाउन सकिनँ, घरबाट सधैं पैसा पठाउन प¥यो भनेर मात्रै फोन आउथ्यो । अनि एक वर्षसम्म घरमा सम्पर्कै गरिनँ ।’

चार वर्षदेखि जिल्ला प्रशासन कार्यालय धादिङमा एउटा गैरसरकारी संस्थाको सहयोगमा वैदेशिक रोजगारमा जानेका लागि आवश्यक सूचना तथा परामर्श दिन (पासपोर्ट बनाउन आउनेहरूका लागि) सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको छ । पासपोर्ट बनाउन आएका र उक्त सूचना केन्द्रबाट वैदेशिक रोजगारका लागि परामर्श लिएकाहरू सन् २०१४ यतामात्रै १५ हजार चार सय १५ जना पुगेका छन । तीमध्ये ६८ प्रतिशत एसएलसी वा सोभन्दा मुनि अध्ययन गरेका छन् । यसबाट के थाहा हुन्छ भने धादिङबाट वैदेशिक रोजगारीका लागि जानेमा शिक्षित थोरै छन् । सूचना तथा परामर्श केन्द्रकी संयोजक गंगा सुवेदी भन्छिन्, ‘विदेशको कानुन नजान्ने, आपत विपतमा परिवन्दमा पर्ने भएकाले पनि उनीहरू बेपत्ता हुनेमा पर्छन ।”


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.