‘मेडिकल कलेज पूर्ण क्षमतामा चलाउन पाउनुपर्छ’

‘मेडिकल कलेज पूर्ण क्षमतामा चलाउन पाउनुपर्छ’

 भक्तपुर :  नेपालमा भएका मेडिकल कलेज सबैले पूर्ण क्षमतामा चलाउन पाउनुपर्ने माग गरिएको छ। काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को मंगलबार भएको १९औं वार्षिकोत्सव समारोहमा वक्ताहरूले नेपाली युवायुवतीले स्वदेशमै डाक्टरी पढ्न पाउनुपर्ने माग गरेका हुन्।

नेपाली मेडिकल कलेजलाई पूर्ण क्षमतामा चल्न नदिँदा डाक्टरी पढ्न नेपाली युवायुवती बिदेसिन बाध्य भएको उनीहरूको भनाइ थियो।

‘नेपाली मेडिकल कलेजलाई नियन्त्रित गरिँदा पूर्ण क्षमतामा सञ्चालन हुन पाएका छैनन्’, उनीहरूले भने, ‘तर नेपाली युवा डाक्टरी पढ्न विदेश जान बाध्य छन्। यसले करोडौं रुपैयाँ पनि बिदेसिएका छन्।’

वार्षिकोत्सव समारोह उद्घाटन गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजू श्रेष्ठले विश्वविद्यालयका मेडिकल कलेजहरू नेपालको मेडिकल शिक्षामा नमुना हुँदै आएको दाबी गरे।

उनले काठमाडौं विश्वविद्यालयले यस वर्षदेखि आठ सय विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए।

‘यसलाई रकममा रुपान्तरण गरिए एक अर्बभन्दा बढी हुन्छ’, उपकुलपति डा. श्रेष्ठले भने, ‘यस्तो कार्य हामीले मात्रै गर्न सक्छौं। त्यसैले कक्षा कोठामा सीमित हुँदै आएको हाम्रो शिक्षालाई समुदायमाझ लान ढिलाइ नगरौं।’

काठमाडौं मेडिकल कलेजका अध्यक्ष रवीन्द्रराज पाण्डेले केएमसीले डाक्टरी पढाइका लागि एक सय ५० सिट नै पाउनुपर्ने माग गरे। एक सय ५० सिट क्षमताको केएमसीलाई अहिले एक सय सिटमात्रै डाक्टरी पढाउन स्वीकृति दिइएको छ।

आफूहरूको माग सुनुवाई नहुँदा डाक्टरी पढ्न नेपाली युवा बिदेसिन बाध्य भएको उनको भनाइ थियो।

उनले केएमसीले डाक्टरी पढाइको गुणस्तरमा कुनै सम्झौता नगरेको सुनाए।

‘मेडिकल काउन्सिलले लिने परीक्षामा नेपालमै पढेका र विदेशमा पढेर आएकाहरूको उत्तीर्ण प्रतिशतबाटै यसको पुष्टि हुन्छ’, अध्यक्ष पाण्डेले भने, ‘त्यसैले नेपालमा भएका मेडिकल कलेजलाई क्षमताअनुसार पढाउन दिनुपर्छ।’

कार्यक्रममा केएमसीका प्रमुख कार्यकारी अधिकृत डा.दामोदरप्रसाद पोखरेलले कलेजले प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ पढाउने व्यवस्था गर्न लागिएको जानकारी दिए।

चिकित्सा विज्ञानतर्फ स्नातक र स्नातकोत्तर तह, दन्त र नर्सिङतर्फ स्नातकको पढाई भइरहेको केएमसीका करिब सात सय शैयाको काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटमा अस्पताल रहेको छ।

केएमसी अस्पतालको बहिरंग र अन्तरंगतर्फ क्रमशः दैनिक एक हजार एक सय र पाँच सय ५४ जनाको उपचार हुने कलेजका प्राचार्य प्रा.डा. चन्दा कार्कीले जानकारी दिइन्।

उनका अनुसार कलेजबाट हालसम्म एक हजार चार सय १० जना डाक्टर उत्पादन भइसकेका छन्। त्यस्तै एक सय १६ जनाले मेडिकलमा स्नातकोत्तर र तीन सय २३ जनाले नर्सिङमा स्नातक गरिसकेका छन्।

हाल एमबीबीएसतर्फ सात सय ४९, दुई सय ९१ जना दन्ततर्फ स्नातक र एक सय ८४ जना नर्सिङतर्फ स्नातक र एक सय १० जना चिकित्सातर्फ स्नातकोत्तर अध्ययनरत रहेको प्राचार्य प्रा.डा. कार्कीले जानकारी दिइन्।

कार्यक्रममा कलेजका प्राध्यापकहरूले स्थापना गरेका १० वटाभन्दा बढी स्वर्ण पदक विधागत रूपमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको थियो।

त्यस्तै अस्पतालका विभिन्न विभागमा रहेर सर्वोत्कृष्ट कार्य गर्ने प्राध्यापक, डाक्टर, कर्मचारीलाई समेत नगद केएमसी एक्सिलेन्सी अवार्डसहित सम्मान गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.