राष्ट्रिय पुरुष भलिबल : प्रदेश ४ लाई उपाधि
कपिलवस्तु : प्रथम कपिलवस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रदेश ४ ले जितेको छ। फाइनलमा प्रदेश ७ लाई ३–१ को सेटमा हराउँदै प्रदेश ४ ले उपाधि जितेको हो।
घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेटमा नौ अंक जोडेपछि प्रदेश ४ ले प्रदेश ७ लाई २५–१६ ले पछि पारेको थियो। प्रदेश ४ ले दोस्रो सेटमा २४–२६ ले गुमाए पनि खेलमा फर्कंदै लगातार दुई सेट २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो। प्रदेश ४ का लागि घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै २९ अंक जोडेका थिए। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए।
प्रदेश ७ का टेकराज अवस्थीले २३ अंक जोडे पनि टोलीलाई पराजयबाट बचाउन सकेनन्। टेकराजले प्रतियोगिताको बेस्ट स्पाइकरको उपाधि जिते। त्यस्तै प्रदेश ४ का राजन दर्लामीले उत्कृष्ट डिफेन्स, पर्वत मगरले उत्कृष्ट ब्लकरको उपाधि जिते। प्रतियोगिताको बेस्ट सेटरको उपाधि प्रदेश ७ का लोकेन्द्र गिरीले जित्दा बेस्ट सर्भरको उपाधि प्रदेश ५ का प्रताप खवासले हात पारे।
सेमिफाइनलमा प्रदेश ४ ले प्रदेश ३ लाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो भने प्रदेश ७ ले प्रदेश ५ लाई हराउँदै उपाधि नजिक पुगेको थियो।
बैरियाको बाल उच्च माविको कोर्टमा तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश ५ ले बाजी मार्यो। प्रदेश ५ ले प्रदेश ३ लाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान हात पार्यो। कपिलवस्तु जिल्ला खेलकुद विकास समितिको आयोजनामा वैशाख १४ देखि भएको प्रतियोगिताको विजेता प्रदेश ४ ले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्यो।
यस्तै उपविजेता प्रदेश ७ ले ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझायो। तेस्रो स्थान हात पारेको प्रदेश ५ ले ३३ हजार तीन सय ३३ रुपैयाँ पायो। विजेतालाई सांसद विष्णु पन्थी लगायतले पुरस्कृत गरे।