गतिहीन राजनीति
शासक वृत्तबाट भइरहेको वाचावचनसहितका वक्तव्यबाजीले परिवर्तनको पहिया तीव्र गतिमा घुम्ने हो कि जस्तो आभास हुन्छ। हाम्रो आर्थिक–राजनीतिक जीवनमा नयाँ उफानको पूर्वावस्था हो कि जस्तो देखा पर्छ। तर झन्डै तीन दशकदेखि यिनै शासक र प्रतिपक्षका हातमा रहेको सत्ताका कारण दूषित भएको देशको आर्थिक, सामाजिक र राजनीतिक जीवन दूषित पानीले भरिएको जमेको तलाउको अवस्थामा छ। त्यही दूषित तलाउमा अहिले केही हलचल, केही गति र केही लहर उठेको आभास भए पनि परिणाम अज्ञात छ।
सामान्यतया जमेको तलाउमा सानै ढुंगाले पनि केही सानातिना लहर उठ्छन् नै, तर त्यो दीर्घजीवी वा तलाउको शुद्धीकरणका लागि सारयुक्त हुँदैन। शुद्धीकरणका लागि तलाउमा जमेको गन्दगी र दूषित पानी निखार्न आवश्यक हुन्छ र निकासको बाटो खन्नैपर्छ। तर पनि लहर उठ्नु र हलचल देखिनु आफैंमा गतिको आभास हो। यो लहर वा उफानले के रूप लेला त्यसबारेमा अहिल्यै अति आशावादी वा निहिलिस्टिक दृष्टिकोण लिइहाल्नुपर्ने बेला भने भएको छैन। त्यसका लागि यस उफानले दिशाबोध गराउनु आवश्यक हुन्छ। जसरी नदीमा आउने उफान दिशासहित अन्तिम लक्ष्यतिर उर्लिरहेको हुन्छ र त्यसले बाटोका वाधा–व्यवधान पार गरी नदीको गन्दगी पखाल्दै आफ्नो गन्तव्यमा पुग्न निश्चित दिशा लिएको हुन्छ। तर तालमा उठ्ने लहरहरू किनारामा नपुग्दै सेलाउने अथवा थकित अवस्थामा किनार छुन पुगे पनि अर्थहीन हुन्छन्।
यो निकासबिनाका लहरहरूको नियति हो। दिशा र गतिसहितको नदी प्रवाह बाटोका वाधा पार गर्दै गन्तव्यमा पुग्नु उसको नियति हो। त्यस्तै सामाजिक परिवर्तनका लागि उठ्ने उफानहरूले नदी प्रवाहको चरित्र लियो भने लक्ष्यमा पुगिन्छ, अन्यथा यसको नियति तलाउमा उठने लहर वा दूघको उफानमा परिणत हुन्छ।
सामाजिक जीवन आफैंमा एउटा प्रवाह हो। त्यसलाई सही दिशा दिन र लक्ष्यमा पुर्याउन भगीरथको दृढता र अर्जुनको लक्ष्यबोध आवश्यक हुन्छ। त्यो दृढता र दूरदर्शिता यहाँका राजनीतिक नेतृत्वले लिन सक्नुपर्छ, यदि आज गरिएका वाचा र वक्तव्यबाजी तिनका अठोट र लक्ष्य हुन् भने। सत्ताको बागडोर हातमा लिएपछि यो तिनको राजनीतिक अभिभारा र सामाजिक दायित्व हो।
नेपाली जनताले अनुहार परिवर्तनका लागि मात्र होइन, यही दायित्व पूरा गर्दै समाज परिवर्तनका लागि विगतका शोषण र विभेद अन्त्य गरी शान्ति, समानता र नवनिर्माणको दिशामा देशलाई डोर्याउँदै ‘समाज फेर्नेे’ आशा र विश्वाससहित कम्युनिस्टहरूलाई सत्ताको बागडोर सुम्पेका हुन्। यो जनताको चोखो विश्वास हो। त्यस विश्वासलाई व्यावहारिक रूप दिन र यस जमेको तलाउको गन्दगी सफा गर्दै निर्मल जलाशय बनाउनु उनको राजनीतिक दायित्व र आफ्ना सिद्धान्तप्रतिको इमानदारी हो। यो प्राप्ति वक्तव्यबाजी र सपना बाँड्ने कामबाट मात्र हुँदैन, त्यसका लागि व्यावहारिक कदमको आवश्यकता अनिवार्य हुन्छ। वाचा र आश्वासन बाँड्ने काम त पञ्चायतकालदेखि आजसम्म हुँदै आएका छन्। अब परिणाम चाहिएको छ।
अहिले झन्डै एकलौटी रूपमा सत्ता कम्युनिस्टहरूको हातमा छ। संसदीय प्रणालीमा यस्तो अवस्था कमै प्राप्त हुने गर्छन्। तर हेक्का राख्नुपर्ने कुरा के हो भने समाज परिवर्तनका लागि राजनीतिक सत्ता प्राप्त गर्नु पहिलो आवश्यकता भए पनि यो आफैंमा अन्तिम यथेष्ट भने होइन। त्यसका लागि राजनीतिक सत्ता निश्चित दर्शन र लक्ष्यबाट निर्दिष्ट हुनु र सत्ताधारीहरूकोे जीवन व्यवहार तदनुरूप हुनु अनिवार्य आवश्यकता हो। अन्यथा सरकार परिवर्तनको कुनै खास अर्थ रहँदैन, चाहे त्यो सरकार समाज ‘परिवर्तन’ को लक्ष्यका अनुयायी कम्युनिस्टहरूकै हातमा किन नहोस्। त्यसले समाजवादको लक्ष्य प्राप्त गर्न त परै जाओस्, समाजवादमा संक्रमणको दिशासम्म पनि समात्न सक्दैन।
यसका साथै सरकारका राजनीतिक क्रियाकलाप, गन्तव्यको स्पष्टता, उपलब्ध साधनस्रोत र माध्यमको समुचित व्यवस्थापन, अनुगमन, मूल्यांकन, संशोधन र परिमार्जन अति आवश्यक सर्त हुन्। अर्को शब्दमा भन्ने हो भने क्रान्तिकारी परिवर्तनका लागि ठोस सामाजिक–आर्थिक कार्यक्रम, स्पष्ट वैचारिक हतियार, वस्तुनिष्ठ योजना र अनुगमन, कार्यनीति र व्यवहार नभएको कम्युनिस्ट सत्ताले केही आर्थिक–सामाजिक सुधार त गर्न सक्छ, तर त्यसले सामाजिक उत्पादन प्रणाली र उत्पादन सम्बन्धमा परिवर्तन (विशेषगरी स्वामित्वको स्वरूप र वितरण प्रणलीमा) गरी नयाँ सामाजिक–आर्थिक संरचनामा प्रवेशको बाटो खोल्न सक्दैन। यो सैद्धान्तिक कुरो मात्र नभएर व्यवहार प्रमाणित यथार्थ पनि हो।
आफ्नो सन्दर्भमा भन्ने हो भने आजको अवस्थामा उत्पादन प्रणाली वा उत्पादन सम्बन्धमा परिवर्तनको अर्थ समाजवादी रूप र सारसहितको नयाँ संरचनाको निर्माण नभई वर्तमान संरचनाभित्रै क्रमिक रूपमा समाजवादी आर्थिक संरचनाका भ्रूण जन्माउने, हुर्काउने र विस्तार गर्दै लैजाने काम हो। आजको सत्ता प्राप्ति कम्युनिस्टहरूले राज्यसत्तामा पूर्ण विजय प्राप्त गरेको अवस्था नभई राजनीतिक सत्ता मात्र प्राप्त गरेको अवस्था हो, यसमा हेक्का राख्नु आवश्यक छ।
राज्यसत्ताको पूर्ण विजयका लागि अझै धेरै चरण पार गर्नुपर्ने हुन्छ। त्यसका लागि अहिले प्राप्त राजनीतिक सत्ताको माध्यमबाट राज्यसत्ताका यावत् अंग–आर्थिक आधारदेखि उपरी संरचनाका वैचारिक, सामाजिक, न्यायिक, सांस्कृतिक, सुरक्षा संयन्त्र आदि पक्षमा व्यापक परिवर्तनका साथै राजनीतिक चिन्तन र परिपाटी आदिमा परिवर्तनको आवश्यकता पर्नेछ र यसका लागि लामो समय र व्यवस्थित संघर्षको आवश्यकता पर्नेछ र यसका साथै सत्ताको विवेकपूर्ण सञ्चालन र लक्ष्यसापेक्ष वस्तुपरक नीति लिएर अगाडि बढ्नु आवश्यक हुन्छ। त्यसमा पनि आर्थिक आधारमा परिवर्तनले मात्र नयाँ समाज निर्माण हुन सक्दैन, यसले सामाजिक चेतना, मनोविज्ञान र स्पष्ट वैचारिक आधारको निर्माणको पनि माग गर्छ। सामाजिक परिवर्तनलाई लक्ष्यसापेक्ष दिशा र गति दिन तदनुरूप वैचारिक आधारको निर्माण मुख्य हतियार हुनुका साथै सबल साधन पनि हो।
अहिले राजनीतिक चहलपहल त देखिएको छ, तर यसको चारित्र केलाउने हो भने भुमरीमा रुमलिएको पानीको उफानजस्तै दिशाहीन गतिशीलता देखा पर्छ।
मार्क्सवादी दृष्टिकोणबाट हेर्ने हो भने अहिले यहाँका कम्युनिस्ट पार्टीहरूका (सत्ताधारी र बाहिर रहेका समेत) कार्यकर्तामा (केही हदसम्म नेतृत्वपंक्तिमा समेत) त्यस्तो सैद्धान्तिक प्रतिबद्धता र वैचारिक परिपक्वताको सुदृढ आधार तयार भइसकेको देखिँदैन। कम्युनिस्ट सत्ताका आधार मानिने सामान्य गरिब शोषितपीडित जनता तथा श्रमजीवी वर्गको त कुरै भएन। मार्क्सवादी सैद्धान्तिक र वैचारिक परिपक्वताको पहिचान मार्क्सको अन्धानुकरण वा कम्युनिस्ट आन्दोलनका हिजोका नाराहरूको सुगारटाईबाट होइन, मार्क्सवादसम्मत दृष्टिकोणबाट आजका विश्वको वस्तुगत यथार्थको समष्टिगत मूल्यांकन र हाम्रो समाजवादी लक्ष्य र वर्तमान अवस्थाबीचका अन्तरद्वन्द्व र अन्तरसम्बन्धको पहिचान गर्दै आफ्नो सन्दर्भमा त्यसको परिभाषा गर्न सक्ने क्षमता र व्यवहारबाट अभिव्यक्त हुने कुरा हो, जसको अभाव स्पष्टरूपमा देखिन्छ।
सैद्धान्तिक पक्षधरता र वैचारिक परिपक्वताका आधारमा हेर्ने हो भने यहाँको कम्युनिस्ट आन्दोलन र श्रमजीवी वर्गभन्दा नवोदित पुँजीपति वर्ग बढी वर्ग सचेत र संगठित छ। सम्भव हदसम्म अन्तर्राष्ट्रिय एकाधिकार पुँजीको थिचाइबाट आफूलाई जोगाउँदै नवउदारवाद र विश्वव्यापीकरणको प्रवाहसँग तालमेल गर्दै देशलाई पुँजीवादको विकासतिर लैजान प्रयासरत देखिन्छ। यसका लागि उसले सत्ताका कमीकमजोरीको उपयोग गर्दै उसको सहयोग र समर्थन जुटाउँदै अगाडि बढ्दैछ। निश्चित हो, यस प्रक्रियामा यहाँका ठूला पुँजीपति माथिमाथि उठ्दै एकाधिकारको दिशामा अगाडि बढ्नेछन् भने सानातिना पुँजीपति तन्नम हुँदै किनारा लाग्दै जानेछन्। वर्तमान अवस्थामा त्यस जमातको सहयोग जुटाउन सापेक्षिक रूपमा बढी समृद्ध र एकाधिकारपरस्त पुँजीपति तप्का र तिनका बीचको अन्तरद्वन्द्वको अवस्थाबारे पनि सोच्नुपर्ने आवश्यकता छ।
आजको अवस्थामा जसलाई संविधानतः समाजवादउन्मुख संरचना निर्माणको चरण भनि परिभाषित गरेको छ र सत्ता कम्युनिस्टहरूको हातमा छ, सबैले स्विकारेको समाजवादउन्मुखताको आर्थिक–सामाजिक परिवर्तनको कार्यक्रमप्रति, सबैलाई निर्विकल्प रूपमा स्वीकार नभए पनि चर्को विरोधको अवस्था रहँदैन। यस अवस्थामा समाजवादउन्मुखताको दिशाबोध गराउने र पूर्वाधारसमेत तयार गर्ने साझा आर्थिक–सामाजिक परिवर्तनको वस्तुपरक कार्यक्रम के हुने ? यो अहं प्रश्न हो। यसको निक्र्यौल गर्नु वर्तमान सत्ताको काम हो।
सक्षम र अनुशासित प्रशासनिक संयन्त्रबिना आमूल परिवर्तनकारी कुनै पनि योजना कार्यान्वयन हुन सक्दैन। यसका लागि वर्तमान प्रशासनिक संयन्त्रको शुद्धीकरण (प्रशासनमा रहेको भ्रष्टाचार, माफियातन्त्र, बाहिरिया घुसपैठ, राजनीतिक भ्रष्टाचार, आदिको सन्दर्भमा) र पुनगर्ठनका साथै आम श्रमजीवी जनताको आर्थिक, सामाजिक र राजनीतिक अधिकारको संरक्षण र आर्थिक जीवनमा सुधारका लागि गाँस, वास, कपास तथा शिक्षा स्वास्थ्य, काम र आरामका अधिकार सुनिश्चित गर्नु र एउटा न्यायिक, समतामूलक, शोषण र थिचोमिचोरहित जनकल्याणकारी राज्यसत्ताको निर्माणको दिशा समात्नु पहिलो पाइला हुनेछ।
देश गरिबी, बेरोजगार र भोकमरीको मारमा छ। तर कहिलेकाहीं गरिबी अभिशाप मात्र होइन, तीव्र परिवर्तनका लागि सर्वमान्य आधार पनि प्रस्तुत गर्छ। यस अर्थमा हामीलाई सहरीया गरिब र बेरोजगार, ग्रामीण क्षेत्रको गरिबी र शैक्षिक बेरोजगार आदिले विभिन्न क्षेत्रमा उत्पादनमूलक स्वेच्छिक सहकारिताको विकासका लागि धरातल दिएको छ। आवश्यकता छ तिनलाई विभिन्न क्षेत्रमा पेसागत स्वेच्छिक समूहमा संगठित गरी आर्थिक, तकनिकी र व्यवस्थापकीय तालिम र उत्पादनको बजारीकरणमा समेत सहकारिताकै आधारमा आबद्ध गर्ने। तर यस प्रक्रियामा तिनलाई सहकारिताको उपादेयताबारे सजग र शिक्षित गर्नुपर्ने आवश्यकता रहन्छ, अन्यथा यसले कालान्तरमा नयाँ निम्नवर्गीय जमातलाई जन्म दिनेछ। स्वेच्छिक सामूहिकताको सफल कार्यान्वयनबाट एकातर्फ सहकारिताको विकासले उत्पादन प्रणाी र स्वामित्वको स्वरूपमा परिवर्तन ल्याउनेछ भने अर्कोतर्फ बेरोजगारको अन्त्य पनि गर्नेछ। वर्तमान सत्ताले यो दिशा लिएछ भने सत्ता दीर्घजीवी हुनका साथै समाजवादको लक्ष्यतिर प्रस्थान गर्न सक्छ। यो विश्वका लागि नौलो अभ्यास हुनेछ।
क्रान्तिकारी शक्तिहरूले सत्ता हातमा लिएपछिको सबभन्दा कठिन चरण तब सुरु हुन्छ, जब सत्ताले आमूल परिवर्तनका लागि माथिबाट पुराना सामाजिक–आर्थिक आधार, शासन प्रणाली, राज्यसंयन्त्र आदिमा परिवर्तनको प्रक्रिया सुरु गर्छ। त्यस अवस्थामा राजनीतिक, आर्थिक, सामाजिक, वैचारिक प्रतिरोधी शक्तिहरूका साथै पुरानाहरूको असहयोग र प्रतिरोधमा पनि अगाडि आउँछन्। यो सैद्धान्तिक कुरा मात्र होइन। आजको सामान्य राजनीतिक वक्तव्यबाजीले पैदा गरेको वर्तमान लहरमा यही दृश्य अगाडि आइरहेको यथार्थ हाम्रोसामु छ, चाहे त्यो यातायात र ढुवानी सेवाको विरोध होस् अथवा बैंकिङ क्षेत्रको असहयोग अथवा निजी शैक्षिक र स्वास्थ्य क्षेत्रको।
प्रशासन संयन्त्रमा हाबी रहेको भ्रष्टाचारको सञ्जाल, माफियातन्त्र तथा बाह्य शक्तिहरूको घुसपैठबाट हुने प्रतिरोध हाम्रा थप समस्या हुन्। सत्तासंयन्त्रको भ्रष्टीकरणमा भ्रष्ट राजनीतिक शक्ति तथा भ्रष्ट कर्मचारीतन्त्रको गठजोड, ट्रेड युनियनका नाममा राजनीतिक कार्यकर्ताको दादागिरी, आईएनजीओको महाजाल, तस्करतन्त्रको हुँकार, वैदेशिक शक्तिहरूको तरबार आदि मुख्य कारण हुन् र यी सञ्जाल विगत र वर्तमानका सत्ताधारी पार्टी नेतृत्वहरूले जन्माएका र पालेका सन्तान हुन्। यसबाट मुक्ति नपाएसम्म न प्रशासनिक यन्त्रको शुद्धीकरण सम्भव छ न त भ्रष्टाचारबाट मुक्त नै। यस प्रतिरोधलाई परास्त गर्न वर्तमान सरकारसँग आवश्यक जनसमर्थन छ तर त्यसका लागि सर्वप्रथम सत्तासीनहरू स्वयंको र तिनका कार्यकर्ताको शुद्धीकरण आवश्यक छ।
हो, वर्तमान कम्युनिस्ट सत्ता विगतका क्रन्तिकारी शैलीबाट नभई संसदीय निर्वाचन प्रणालीबाट प्राप्त परिणाम भएकाले यसका केही संवैधानिक, राजनीतिक र अन्तर्राष्ट्रिय मूल्यमान्यताका सीमारेखा छन्, जसलाई सहजै उल्लंघन गर्न सकिँदैन। तर चाहना भए बाटो नभएको अवस्था भने होइन। यसका लागि सत्तापक्षको दृढता र प्रतिपक्षको खबरदारीसहितको सहयोगी आचरणको आवश्यकता छ।
अहिले राजनीतिक चहलपहल त देखिएको छ, तर यसको चारित्र केलाउने हो भने भुमरीमा रुमलिएको पानीको उफानजस्तै दिशाहीन गतिशीलता देखा पर्छ। यो अन्यौल सत्ताधारीहरूमा मात्र होइन प्रजातान्त्रिक समाजवादी भन्न रुचाउने प्रमुख प्रतिपक्षी कांग्रेस खेमामा पनि उत्तिकै देखापर्छ। यसमा समयसँगै सुधारको आवश्यकता छ।