६० घरको एउटै शौचालय, घण्टौँ लाइन बस्छन् स्थानीय

६० घरको एउटै शौचालय, घण्टौँ लाइन बस्छन् स्थानीय

जुम्लाः चन्दननाथ नगरपालिका–५ का ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको काम भन्दा पहिले शौचको चिन्ताले सताउँछ । 

‘किनकी घरमा शौचालय छैन, खुल्ला शौच गर्न पाइँदैन । टोलमा भएको एउटै शौचालयमा जो पहिले पुग्यो, त्यसैले शौच गर्न पाँउछ’, उनले भने, ‘शौच गर्न बिहानै उठ्नुपर्छ, आफुलाई शौच लागेको बेला शौचालयमा हुल हुन्छ, घरमा शौचालय बनाउने जग्गा पनि छैन ।’     

ज्ञानबहादुर जस्तै जिल्ला सदरमुकामस्थित कालेखोली टोलका ६० घरपरिवारले धेरै बर्षदेखि एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सबै टोलबासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौ लाइनमा बस्नु पर्ने बाध्ययता रहेको चन्द्रलाल सुनारले बताए । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नु परेको हो । 

साँघुरो बस्तीमा गुजुक्कै परेर घरैघर जोडिएको कालेखोली टोलका दलित समुदायसँग शौचालय बनाउने जग्गा नभएपछि नगरपालिकाले बनाइदिएको सार्वजनिक शौचालय प्रयोग गर्न उनीहरु बाध्य भएका हुन् । 

‘शौचालय निर्माणका लागि हामीसँग घर लगाएको जग्गाबाहेक छैन । सार्वजनिक शौचालयमा हुल गरेर शौच गर्न लाज लाग्छ, तर बाध्यता छ । आफ्नै घरमा शौचालय बनाएर आरामले शौच गर्ने कसलाई चाहाना हुन्न’ स्थानीय हजमला विकले भनिन्, ‘समुदायमा शौचालय नभएको थाहा पाउँदा पाउँदै, जिल्लालाई किन खुला दिसा, पिसामुक्त घोषणा गरियो ? हाम्रो समुदायको यो समस्या कसले सुन्छ ।’   

आधुनिक शौचालय निर्माण  

कालेखोली टोलका दलित समुदायले भोग्दै आएको शौच गर्ने समस्या समाधानका लागि चन्दननाथ नगरपालिकाको सहयोगमा वडापालिकाले निर्माण गरिरहेको सुविधासम्पन्न आधुनिक शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । 

वडाध्यक्ष अर्जुनसिंह कठायतका अनुसार १० लाख मा निर्माण हुने आधुनिक शौचालयमा सोलार, विद्युत्, नुहाउने चिसोतातो पानीसहित आवाश्यक सामाग्रीका साथै महिला, पुरुष छुट्टाछुट्टै, अपांग र बालमैत्री हुनेछ ।  

आधुनिक शौचालय निर्माणपछि कालेखोली टोलका समुदयायले भोग्दै आएको शौच गर्ने समस्या हट्ने वडाध्यक्ष कठायतले बताए । ७५ प्रतिशत काम सम्पन्न भएकोले वैशाख मसान्तसम्म शौचालय निर्माण गरी समुदायलाई हस्तान्त्रण गरिने उनको भनाइ छ । दुईतलामा निर्माणाधीन शौचालय माथिल्लो ६ कोठा शौच गर्नका लागि र तल्लो तलामा ब्यापारिक प्रयोजनका लागि दुई सटर बनाइएका छन् । 

टोलभरका स्थानीयले प्रयोग गर्दै आएको सार्वजनिक शौचालय पुननिर्माण भएरहेकाले तत्कालका लागि समस्या भइरहेको उपभोक्ता समितिका अध्यक्ष ज्ञानवहादुर विश्वकर्माले बताए ।

‘शौचालय निर्माणपछि चौकीदारको व्यवस्था गरिने छ । त्यही टोलका ६० घरधुरीले निशुल्क र अन्यले न्युनतम शुल्कमा शौच गर्नेछन्’, उनले भने । शौचालय चन्दननाथ गुठीको नाममा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको छ ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.