अब झोलामा खोला हाल्ने परिपाटीको अन्त्य : मुख्यमन्त्री भट्ट
धनगढी : प्रदेश नम्वर ७ लाई उज्यालो प्रदेश वनाउन उर्जामैत्री कानुन निर्माण गर्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन । बुधबार धनगढीमा आयोजित वैकल्पिक उर्जा प्रवर्धन तथा यसमा प्रदेश सरकारको भूमिका विषयक कार्याशाला गोष्ठिीमा बोल्दै मूख्यमन्त्री भट्टले झोलामा खोला हाल्ने परिपाटीले वैकल्पिक उर्जाको क्षेत्रमा प्रगति हुन नसकेको बताए ।
‘अहिलेसम्म झोलामा खोला हालेर च्याखे थाप्नेहरुले गाउँघर उज्यालो हुन दिएनन्, अब यस्तो प्रवृति हटाउन प्रदेश सरकार लाग्छ र उज्यालो प्रदेश हुन्छ’ उनले भने । प्राकृतिक स्रोतहरुको पहिचान तथा सही परिचाल नगर्न सकेमात्रै प्रदेश ७ को शिघ्र विकास सम्भव हुने उनको भनाई छ ।
उज्यालो प्रदेश वनाउने अभियानमा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले प्रदेश नम्वर ७ लाई पनि मुख्य प्राथमिकतामा राखेकोमा धन्यवाद दिदै भट्टले केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रदेश सरकार तत्पर रहेको बताए ।
कार्याशालामा प्रदेश सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सरकारका मन्त्री, सांसदहरु तथा उर्जा क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो । अहिलेसम्म प्रदेश नम्वर ७ का ४८ प्रतिशत जनता मात्रै विद्युतको पहुँचमा छन् ।