प्रकाशकीय : समृद्धि यात्रामा रचनात्मक भूमिका
लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै समाजमा सत्य–तथ्य सूचना सम्प्रेषण गर्नु मिडियाको सबैभन्दा ठूलो दायित्व हो । नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि (थ्रीएनआई) अन्तर्गत अन्नपूर्ण मिडिया नेटवर्क यही मर्म र दायित्वबोधसहित निरन्तर बढिरहेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका दिन १६ औं वार्षिकोत्सव मनाइरहँदा हामी एकपटक फेरि प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा दरिलो प्रतिबद्धता दोहोर्याउन चाहन्छौं ।
लामो संक्रमणकाल सकिएर देश नयाँ राजनीतिक चरणमा प्रवेश गरिसकेको छ । नयाँ संविधान कार्यान्वयनतर्फ बढेको छ । तीन तहका निर्वाचन सकिएका छन् र मुलुकले स्थानीय, प्रदेश र केन्द्र सरकारको अभ्यास गरिरहेको छ । मुलुक एकात्मक राज्यप्रणालीबाट संघीय प्रणालीमा प्रवेश गरिरहँदा हामीले हाम्रो भूमिकालाई अझ महŒवपूर्ण ठानेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानलाई ऐतिहासिक उपलब्धि मान्दै यसको प्रभावकारी कार्यान्वयनको पक्षमा हामी खरो उत्रिएका छौं । र, राजनीतिक संक्रमणकालपछिको स्थायित्वसँगै आर्थिक समृद्धि र विकासको मुलुकले देखेको सपना साकार पार्न हाम्रो रचनात्मक भूमिका रहनेछ ।
मुलुकको सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको मुद्दालाई केन्द्रमा राखेर सूचना सम्प्रेषण गर्दै गर्दा हामी विस्तारित हुँदै अघि बढ्दै पनि छौं । अन्नपूर्ण मिडिया नेटवर्कसँग यतिबेला दैनिक ब्रोडसिटका अलावा एपीवान एचडी टेलिभिजन, रेडियो अन्नपूर्ण, न्युजपोर्टल अन्नपूर्णपोस्ट्डटकम, साप्ताहिक टेब्लोइड अन्नपूर्ण सम्पूर्ण र अंग्रेजी साप्ताहिक द अन्नपूर्ण एक्सप्रेस छ ।
यी सबै माध्यमबाट हामी सामान्य मानिसका जीवनदेखि राष्ट्रिय जीवनका नीतिहरूसम्म हरेक विषयवस्तुलाई पाठकको रुचि र आकर्षणका आधारमा मिडिया सामग्रीको विकास गर्नमा केन्द्रित छौं, हुन्छौं । सँगै, सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न तह, तप्का र समुदायका जनताको आवाजलाई मिडियामार्फत मुखरित गर्ने, राष्ट्रिय सुरक्षा, समसामीप्यका आधारको छिमेक र मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धहरूमा जिम्मेवारी बोधका साथ उभिने, राष्ट्रिय अखण्डता र राष्ट्रियताका पक्षमा वकालत गर्ने प्रणबाट हामी पछि हट्ने छैनौं । कसैप्रति आग्रह÷पूर्वाग्रह नराखी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारिता हाम्रो मूल मन्त्र रहँदै आएको कुरा पुनः आमपाठकसमक्ष दोहोर्याउन चाहन्छौं ।
अन्नपूर्ण पोस्ट्को १६ अौं वार्षिकोत्सवको यो सुखद अवसरमा हाम्रा आमपाठक, विज्ञापनदाता, वितरक, शुभचिन्तक सबैबाट थप उर्जा र हौसला प्राप्तिको अपेक्षा गर्दछु । र, अन्नपूर्ण मिडिया नेटवर्क परिवारप्रति देखाउनुभएको सदाशयताको कदर गर्दै सुझाव र सहयोगको अपेक्षासहित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
क्याप्टेन रामेश्वर थापा
अध्यक्ष
अन्नपूर्ण मिडिया नेटवर्क