सुन तस्करी: गोरे, एसएसपी 'मामा' र भुजुङको 'डरलाग्दो' सेटिङ

सुन तस्करी: गोरे, एसएसपी 'मामा' र भुजुङको 'डरलाग्दो' सेटिङ

काठमाडौँ: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीमा संलग्न अभियुक्तहरुले डरलाग्दो तथ्य खोलेका छन् । देशको अर्थतन्त्रलाई नै धरासायी बनाउने गरी सुन तस्करी भएको तथ्य बाहिरिएको हो । 

३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न बनेको समितिले विमानस्थलबाट हुने सुन तस्करीको पाटोलाई केलाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोग पत्रमा सुनका मालिक गोरे भनिने चुडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी भएको उल्लेख गरिएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियुक्त टेकराज मल्लसँग बयान लिँदा उनले चार-पाँच किलो हुँदै १६ किलोसम्म तस्करीको सुन विमानस्थल बाहिर पुर्‍याई गोरेलाई बुझाएको उल्लेख गरेका छन्। उनले गत माघ नौ गत साढे ३३ किलो सुन आफू र रोहित आचार्यले ल्याई विमानस्थलका कर्मचारी सानु बनलाई दिएको बताएका छन्। 

प्रहरीलाई दुई करोड २० लाख

गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेलापरेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्व डीआइजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डिएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ । 

बिमाबापत गोरेले परिवारलाई ५० लाख रुपैयाँ दिने बताएपछि सुन ओसारपसारमा लागेको बयान उनले दिएका छन्। गोरेले मल्ललाई राहदानी समेत बनाउन लगाएर दुवई पठाएका थिए। 

दुबईबाट चार किलो सुन ल्याएको बयान मल्लले दिएका छन्। उनले यसैगरि ५, ७, ८ र १६ किलोसम्म सुन दुबईबाट ओसारपसार गरेको बयानमा उल्लेख गरेका छन्। उनले आफु गोरेको विश्वासिलो पत्रा रहेको स्वीकार गरेका छन्।

अर्का अभियुक्त मोहन काफ्लेले मासिक ५० हजार तलब दिने सम्झौता अनुसार गोरेसँग काम गर्न थालेको बताएका छन्। उनले एक पटक २३ किलो सुन एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यालयमा लगेर बुझाएको बतयान दिएका छन्। 

को हुन् 'एसएसपी मामा' 

खत्रीलाई दिएको सुन गोरेसँगको सल्लाह बमोजिम खत्रीका बडीगार्ड र सवारीचालक लगायतले पास गराएको काफ्लेले बयानमा उल्लेख गरेका छन्। गोरेका विश्वासपात्र समेत रहेका काफ्लेले गोरेले आफ्नो डायरीमा एसएसपी ‘मामा’ भनेको श्याम खत्री नै हुनुपर्ने बताएका छन्। 

खत्रीलाई दिएको डेढ करोड रकम आफ्नै समुहले दिएको बयान काफ्लेले दिएका छन्। सीआईबीले ३३ किलो सुन बरामद गर्दा विमानस्थलबाट बाहिर पठाउन सहयोग गरेबापत गोरेले खत्रीलाई एक करोड रुपैयाँ दिन बाँकी रहेको कुरा गोरेले आफूलाई गराएको काफ्लेले बयानमा उल्लेख गरेका छन्। सुन कारोबारको हिसावकिताब भने गोरे र हत्या गरिएका सनम शाक्यले नै राख्दै आएको काफ्लेले खुलाएका छन्।

पक्राउ परेर मुद्दा चलाईएका अर्का अभियुक्त नरेन्द्र कार्कीले एसएसपी खत्रीलाई २०७३ असारमा बानेश्वरस्थित ह्वाईटहाउस कलेज अगाडि १६ लाख रुपैंया दिएको बयानमा खुलाएका छन्। 

नेपाल एयरलाइन्सका कर्मचारी राजु महर्जले एक पटकमा १५ देखि १८ लाख रुपैंया बुझ्दै आएको र सो क्रम १५ पटक सम्म भएको जानकारी सरकारी वकिलसमक्ष गराएका छन्। 

थाईको जहाजमा तस्करी

अर्का अभियुक्त थाई एयरलाईन्सका कर्मचारी हेमन्त गौतमले ९० देखि सय पटकसम्म सुन ओसारपसार भएको बयान दिएका छन्। थाईकै अर्का कर्मचारी सम्बीरप्रसाद तोलाङ्गेले हप्तामा दुई पटक सुन तस्करी हुने गरेको र प्रत्येक पटक ६० हजार रुपैयाँका दरले आफुले पाउँदै आएको बताएका छन्। 

उनले विमानस्थलमा आत्महत्या गरिएका भनिएका सानु बनले नै आफुलाई सुन पास गराएबापत रकम दिँदै आएको खुलाएका छन्।

अर्का अभियुक्त कपिलराज पुरीले गोरेले भने अनुसार सुन भुजुङ गुरुङलाई दिने र गुरुङले त्यो बापत पैसा दिने गरेको उल्लेख गरेका छन्। उनले भुजुङले ३३ किलो सुन लुटेको आरोप लगाएका छन्। 

थाई एयरलाइन्सका लोडर बालकृष्ण श्रेष्ठले ५० देखि ६० पटक भएका सुन तस्करीमा आफुले सघाएको स्वीकारेका छन्। उनले एक पटक सुन पास गराएबापत ३७ हजार रुपैयाँ पाउँदै आएको बताएका छन्।

भुजुङको घरमा स्टोर 

थाई एयरलाइन्सकै अर्का कर्मचारी दोराम खत्रीको बयान रोचक छ। उनले जहाजको शौचालय भित्र कम्बोडले बेरिएको सुन पास गराउँदै आएको र त्यो सुन भुजुङको घरमा पुर्‍याएको कुरा बयानमा उल्लेख गरेका छन्। 

सुन भुजुङको घरमा पुर्‍याइदिएबापत ५० हजार देखि दुई लाख ५० हजारसम्म पाउँदै आएको स्वीकारेका छन्। थाई एयरकै पुण्ड लामाले थाई एयरको फ्लाईट नमबर टिजी ३१९ मा कम्तिमा महिनामा ८ देखि १० पटक सुन तस्करी हुने गरेको बयान दिएका छन्। अधिकांश सुन सिंगापुर र दुबईबाट आउने गरेको खुलासा लामाले गरेका छन्।

थाई एयरका टेक्निसियन गोपाल कुमार श्रेष्ठले बयानमा भुजुङ गुरुङलाई १२ पोका (१२ किलो) सुन पुर्‍याइदिएबापत ११ लाख ५५ हजार रुपैंया दिएको खुलाएका छन्। 

भुजुङका भान्जा फाल्दुङमार्फत बानेश्वर, थापागाउँमा रहेको गोरेको डेरामा श्रेष्ठले २० देखि २५ पटक सुन पुर्‍याएको स्वीकारेका छन्। विमानस्थलकै कर्मचारी राजु महर्जनले सुन तस्करीलाई सघाएबापत ८० हजार देखि दुई लाखसम्म पटकपटक गरी गोरेमार्फत रकम बुझेको स्वीकारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.