कस्तो हुनुपर्छ सहर ?
सिन्ध नदीको किनारमा उठेको मोहनजेदारो र हडप्पा सभ्यता होस् वा युफ्रेटस् र टिग्रिसको किनारमा सिर्जना भएको मेसोपोटामियाको सभ्यता, ३५ सय वर्षभन्दा पहिलादेखि मानव जातिले सुरु गरेको नगर सभ्यताको यात्रा आधुनिक सहरीकरणसम्म विकास र विस्तार भएको छ। झुण्ड–झुण्डमा सिकार र अन्न संकलनबाट सुरु भएको मानव विकासको यात्रामा सहर उत्पादन, उपभोग र पुनः उत्पादनको उच्च रूप हो। सभ्यताको यो सहर यात्रा वर्तमान विश्वमा समृद्धि, विकास, उन्नति र सिर्जनाको प्रतिविम्ब बनेको छ। भविष्य सहरको हो।
आर्थिक समृद्धि र विकासको नारासँगै नेपाली अर्थ–राजनीतिमा सहरीकरणको तीव्रताले स्थान पाएको छ। सँगसँगै सहरीकरणको बहस पनि स्थापित भएको छ। सिंगो संसार सहरीकरण उन्मुख भएको सन्दर्भमा सहर बहसको विषय बन्नु स्वाभाविक मात्र नभई अपरिहार्य पनि हो। सहरीकरणको बहसले सहरबारे हाम्रो बुझाइ, सहरीकरणको नेपाली यात्राको साँचो तस्बिर, हाम्रा चुनौती, जटिलता र सम्भावना उजागर गर्नेछ। सहरको मानक के हो ? सहरिया जीवनको न्यूनतम मापदण्ड के हो ? सहरका विशेषता के हुन् ? सहरीकरणको यात्रामा हरेक मोडमा खडा हुने प्रश्न यिनै हुन्।
सहर केवल संरचना र मानिसको भीड होइन। सहर मान्यता र धारणाहरूको समष्टि पनि हो। विद्वानहरूले सहरलाई आआफ्नो कोणबाट परिभाषा दिएका छन्। अर्थराजनीतिका ज्ञाताको नजरमा सहर उत्पादन प्रणालीको अभिव्यक्ति हो भने योजनाविद्को नजरमा व्यवस्थित बस्ती र सेवाको सहजप्राप्ति। एक कविको निम्ति सहर अभिव्यक्तिको उन्मुक्त मैदान हो भने एक गृहणीको निम्ति भ्याइनभ्याइको दैनिकी। सहरप्रतिको धारणा फरक हुन सक्छ। तर, कुनै पनि गलत हुन सक्दैन। सहर आफैंमा विशाल आयतनसहितको विम्ब हो। यद्यपि नेपाली सहरीकरणको यात्रा भने त्यो हदसम्मको सुन्दर छैन।
इटालीका क्रिस्टोफर कोलम्बस अमेरिकी महादेशमा पुग्नुअघि सुनको द्वार बनाइसकेको नेपाली नगरसभ्यताको यात्रा मध्यविन्दुमा बाटो बिर्सिएको यात्रीको स्थितिमा छ। सहर सबैभन्दा पहिला भूमिको समुचित व्यवस्थापन हो। भूमिको व्यवस्थापनले उपयोगिताअनुसार भूमिको वर्गीकरणलाई जनाउँछ। तर, ‘मेट्रोपोलिटन’ भनिएका नेपालका महानगरपालिकादेखि हालसालै घोषणा गरिएका ‘ग्रामीण नगरपालिका’सम्म भूमिको वर्गीकरण भएको छैन। बसोबास र व्यावसायिक क्षेत्र एकै ठाउँमा भएको, सहरको बीचोबीच इँटाभट्टादेखि उद्योगको चिम्नि पुत्ताइरहेको चित्र नेपाली सहर हो। सहरमा जनसंख्या बढेको छ तर त्यो अव्यवस्थित छ।
नेपाली सहरीकरणको अर्को ठूलो समस्या हो, उपभोगमुखी उत्पादन प्रणाली। कृषिजन्य अर्थतन्त्रमा अतिरिक्त उत्पादन प्रणाली भएसँगै संसारभर नगरसभ्यताको थालनी भएको हो। नगरराज्यको अवधारणा पनि त्यति नै प्राचीन हो। औद्योगिकीकरणले नगरसभ्यताको त्यो यात्रालाई छलाङ दियो। मूलतः युरोपमा उद्योगमा आधारित सहरीकरणले तीव्रता पायो। यद्यपि सहरीकरणको यो कथा आँसु र पीडामुक्त छैन।
ग्रामीण भूभागहरूको चक्लाबन्दी, भूमिबाट किसानहरूको बेदखल र श्रमशक्तिबाहेक अन्य सबैथोक गुमाएका बेरोजगारहरूको भीडले औद्योगिक सहरको जन्म गराएको हो। औद्योगिक पुँजीको विस्तार, लगानी र पुनःउत्पादनले वित्तीय पुँजी जन्माएसँगै सहरले सेवा प्रवाह र वित्तीय मैदानको रूप पनि पायो। कृषि–अर्थतन्त्र र औद्योगिकीकरण जति उत्पादनमूलक नभए पनि वित्तीय सहर पूर्णतः परनिर्भर भने हुँदैन। विडम्बना, नेपाली सहरहरू अहिले सबैजसो उपभोगमुखी छन्। सेवा व्यापार यहाँको अर्थतन्त्रको मेरुदण्ड भए पनि सहरहरूले पुँजीको पुनःउत्पादन गर्न सकेका छैनन्।
सहर केवल संरचना होइन यो सभ्यता पनि हो। स्वछन्दता र स्वतन्त्रता यसका विशेषता हुन्। साथसाथै आत्मानुशासन पनि सहरको अर्को चिनारी हो। फुटपाथ, फाहोरदानी र फोहोर व्यवस्थापन, खुला स्थान, पुस्तकालय, जमघट हुने पब्लिक स्पेसहरू सहरका आत्मा हुन्। विडम्बना यी सबै नहुँदा नेपाली सहर आत्माविहीन बनेका छन्।
भएका सार्वजनिक जग्गा मासेर, अव्यवस्थित बसोबास बढाएर, उपभोगमा सीमित नेपाली सहरलाई आत्मा दिनु नै सहरीकरणको नेपाली यात्राको गन्तव्य हुनेछ।