विधि र प्रक्रिया मिचिएको लोकतन्त्र
आँप रोपे आँप फल्छ, फूल रोपे फूल फुल्छ भन्ने तत्वबोध हुँदाहुँदै बिष रोपेर अमृतको आशा गर्ने हामी जनसाधारण प्रवृत्तिले गर्दा पनि लेखनकार्य क्रमशः शिथिल हुन लागेको अनुभूति हुँदैछ। चौतर्फी लथालिंग सबै भताभुंग हुँदै जाने लोकतन्त्ररुपी मन्त्र जप्दाजप्दा देशमा परिवर्तन किन र केका लागि भन्ने गहिराइमा पुग्न कयौं बर्बादी बेहोर्नुपर्ने हो ? यकिन गर्न निक्कै हम्मे छ। यसका लागि समयमै चेत आइदिए कलमले गति लिन्थ्यो कि ? यो अपेक्षालाई हामीले मर्न दिनु भएन। अँध्यारो छिचोलेपछि उज्यालो किरण अवश्य भेटिन्छ भनेजस्तै अझ पनि आशाको दीयो मुलुकभित्र धिप्धिपाइरहेको यथार्थ चित्र अन्तरमनको नयनबाट कहिँ कतै प्रष्टसँग देख्न र बुझ्न सकिन्छ। नत्र रोपेको कुरा ढिलो चा“डो फलेरै छोड्छ–जे जे रोप्यौं त्यहीत्यही फल्दैछ। जसको भोग गर्न बाध्य भएका छौं। भोग्दै छौं। केही फक्रिँदैछ केही टिप्ने समय भइसक्यो।
समावेशी समानुपातिकको बीउबाट आफन्तवाद र धनवाद फलायौं। लोकतन्त्र त रोप्यौं विधि र प्रक्रियाको टुसा नै निमोठ्नाले राष्ट्रनिर्माताको प्रतिमा फुटाउने कार्य तीव्र बनायौं। लुट फलायौं, झुठ फलायौं, त्यतिले नपुगेर गुट अनि उपगुटलाई झा“गिन दिई सिंगो देशलाई टुट र फुटमा पुर्याउने विदेशी चंगुललाई फुल्न र फल्न दियौं। लोकतन्त्रलाई उचित जगेर्ना नगर्दा हो वा अरूको इसारालाई मूर्तरुप दिनाले हो– समावेशी समानुपातिकको फल जात–जात र धर्म–धर्ममा बाँडफाँट गर्यौं। अहिले स्वाद लिइलिई चाखिरहेका छौं, मज्जा मानिरहेका छौं।
साउनमा आ“खा फुटेको गोरु जस्तै सधैं हरियो मात्र देख्न थाल्छन् र पुनः फलाक्दै जान्छन्–अब देश बर्बाद भयो रे, लोकतन्त्र मासियो। वामपन्थी शासनले अस्तित्व जोगाउन हम्मे पर्ने भयो। मुलुक जोगाउने ठेक्का उनको मात्र ठान्दैछन्। अझ जोड गर्छन्–यिनीहरू म भन्दा लम्पसारवादी हुन्। विकास गर्दैनन्, विनास मात्र गर्छन यिनीहरूले। हामी मात्र विकासप्रेमी हौं भन्दै आत्मतुष्टि लिने प्रयत्न गरेकागर्यै छन्। होइन कहिले बुद्धि फिर्छ यिनको ? ऐतिहासिक गौरव गाथा स्थापित गरिसकेको यो समूहले आफ्नो अनुहार किन बिर्सिएको होला ? उदेक लाग्छ, हातमा आएको मणिलाई अरूको उक्साहटमा फलाम भनेर मिल्काउनेलाई जति कराए जति उफ्रे पनि जनसाधारणले तत्काल विश्वास गर्नुपर्ने आधार भेटेनन्। त्यसैले कराउँदै खुम्चिँदै गर्नु उनीहरूको नियति बन्न पुगेको छ।
विषय वस्तुको गाम्भीर्यता बुझ्न कोही÷कसैबाट सामान्य प्रयत्नसम्म गरिएन। त्यसैले भुँडीअनुसार लाउने र खाने चलन दिनानुदिन तीव्ररूपमा बढ्दो छ। आयल निगमका टंकी घट्घटी पिउ“दा पनि तिर्खाको धित मर्दैन भन्छन्। निरिहजनहरू मेलम्चीको अपेक्षामा घुटुघुटु थुक निल्दै अमृत पिएको सन्तुष्टि लिन अझै विवश बनाइएका छन्। धुलो धुवाँसँगै जीवन जिउनुपर्ने र फोक्सो सुकाउनु नेपालीको पहिचान बनिसकेको छ। यथार्थ यही हो। हरेकलाई रगरग थाहा छ। त्यसैले किन लेख्ने ? लेख्नुको कुनै औचित्य म भेटिरहेको छैन। मलाई खुट्याउन नै हम्मे परिरहेको छ के लेख्ने भनेर ?
वि.सं. २०६२–२०६३ मा ठूलो आन्दोलन भयो। संसारमा बिरलै हुने आन्दोलनरुपी जनसागरको एउटै उद्देश्य थियो–शान्ति र स्थिरता। तत्पश्चात मर्ने मार्ने काम त रोकिएकै हो, स्थिरताका लागि भने टुकी बाल्नुपर्ने परिस्थिति निर्माण भयो। सरकारमा स्थिरता भएन। पटकपटक अस्थिरताको पुनरावृत्ति भइरह्यो। शासकहरूको उद्दण्डता बढ्न थाल्यो, विदेशीको इसारामा विदेशीले नै मुलुक चिथोर्न गा“ज्न र दल्न थाले। यति बिघ्न दले कि जसले जसरी जतिबेला च्याते, थोपरे, खेलाए, चलाए पनि देशले सहनुपर्ने भयो। विश्व मानचित्रमा नेपाल त्यस्तो देश हो जहाँ लोकतन्त्रको नाममा कानुन नियम केही मान्नु पर्दैन। विधिविधान जति च्याते पनि हुन्छ।
जनसाधारणको लागि ऐन, ठूलाबडाको लागि चयनको परिस्थिति निर्माण गरियो। धर्मसंस्कृतिमाथि व्यापक प्रहार गरियो। गरिबीलाई भजाएर खन्खन्ति द्रव्य छर्ने कार्य तीव्र पारियो, पारिँदैछ। बेथिति यतिसम्म बढ्यो कि विषालु च्याउ खाएर मर्ने सहिदको कोटीमा दर्ज भए। लोग्नेस्वास्नीको झगडामा देश ठप्प हुन थाल्यो। यस्ता यावत् गतिविधि भोगेर आयौं। अझै भोग्दैछौं। यसरी भोगेर आएका कटु यथार्थ लेखेर उप–बुजु्रक हुने उत्साह मलाई बिल्कुलै पलाएन। साथीभाइ, इष्टमित्र, बन्धु–बान्धव छर–छिमेकीबाट मभित्रको सिर्जना जति जागृत गराउन खोजे पनि लेख्नैपर्ने सामान्य आ“ट ममा उजागर हुन सकिरहेको छैन।
तराईमा एकजना मित्र थिए– झंगु्र। झंगु्र रिषिदेव, मुसर जातिका। गरिब भए पनि साहसी थिए। दलित हुन्, जेहेन्दार मेहेनेती र पढेलेखेका युवा थिए। त्यसैगरी अर्का मित्र थिए मणि चेम्जोङ। उनी पूर्वी पहाडी जिल्लाका रैथाने हुन्। मणि चेम्जोङ पढाइमा औसत भए पनि अतिरिक्त गतिविधिमा नम्बर एकमै पर्थे। दुवैले पहिचान र अधिकारको आन्दोलनमा नेताजीको आदेशमुताविक ठूलै योगदान गरेका हुन्। झँग्रु त झन्नै शहिद भइसकेका थिए। उनलाई ताकेर हानेको गोली संयोगवश हुलमुलमा जीउ जोगाउन नजान्ने बटुवाको छातीमा लागि ती बटुवा ठहरै भएका हुन्। चेम्जोङको जीवन पनि कम कष्टदायी थिएन। बहुत पीडा भोगेर आएका युवा हुन् दुवैजना। समयले गति लियो। देशमा परिवर्तन भयो। नेताजी शासन सत्ता सम्हाल्न पुगे। झँग्रु र चेम्जोङ पनि पढाइ सकेर कामको खोजिमा लागे।
दुवै इमान्दार र जेहेन्दार भएकाले व्यापकरूपमा कामको खोजी भयो। नेताजीहरूले पनि पूर्ण आश्वासन दिन कुनै कसर बाँकी राखेनन्। यत्तिकैमा एउटा बैंक तथा बित्तीय संस्थामा समावेशीसहित केही सिट माग भएछ। दुवै तीक्ष्ण र जेहेन्दार भएकाले उत्साहका साथ परीक्षामा सामेल भए। साथीभाइहरू समेत भन्ने गर्थे – झंगु्र त खुल्ला र समावेशी दुवैमा उत्कृष्ट नतिजा ल्याउँछन् भनेर। मणि चेम्जोङको समावेशीमा कसैले ठाउँ लिन सक्दैन भन्ने साथीहरूको यकिन थियो। उनीहरू दुवै ढुक्क थिए जागिर पाइने भयो भनेर। अन्ततः नतिजा आयो दुवैको नाम खुल्ला तथा समावेशी कतै थिएन। पछि थाहा भयो–जसको उक्साहट र निर्देशनमा झंग्रुले जीवन समर्पण गरे उनै नेताकी कान्छी श्रीमतीकी सहोदर बहिनीका पति मधेसी दलित कोटाबाट नाम निकालेछन्। उता चेम्जोङले मानेको नेताको साली र साढुभाइ जनजाति कोटाबाट उत्तीर्ण भएछन्।
यो कुनै दन्त्य कथा होइन, संघीय लोकतन्त्रलाई उचित व्यवस्थापन गर्न नसक्दा उब्जिएको परिणति मात्र हो। यसैमा जीउन मात्र होइन रम्न पनि सिक्नु परेको छ। भर्खरै थाहा भयो झंग्रु र चेम्जोङ कतारको दोहामा प्रचण्ड तापको रापसँग कुनै एउटा फलाम कारखानामा मितेरी गाँस्न पुगिसकेका छन् रे। अब त दुवैको जीवनमा पीडा र कष्टको अनुभूति गर्नु नपरोस् भन्ने कामनाबाहेक के पो गर्न सकिन्छ र ? यी दुइ त प्रतिनिधिपात्र मात्र हुन्। त्यसैले यहाँ लेखेर बोलेर केही होला भन्ने लाग्दैन।
लेख्ने र बोल्नेलाई हाँसोको पात्र बनाइने प्रचलनले जरा गाडिसकेको छ। फेरि पनि भन्न मन लाग्छ–ज्ञान सीप र उत्कृष्टताको मापन जबसम्म हुँदैन तबसम्म लेख्नुको कुनै तुक छैन। जति कर गरे पनि लेख्ने जाँगर चल्न नसक्ने दृष्टान्त पेश गरेको मात्र हुँ, र पनि अझै अलिकति उत्साह जीवितै छ, मर्न दिनु पनि हुँदैन। अब लेख्ने, बोल्ने र गर्ने कार्य नव प्रतिभाले नयाँ दृष्टिकोण लिएर अगाडि सर्ने अवस्थालाई नियाल्नुपर्छ। ज्ञान सीप र दक्षताले मूर्त रुप पायो भने थन्किएर बसेका प्रतिभावान सिर्जना क्रमशः कागजमा रगडिने जमर्काे गर्दै लेख्ने पद्धतिको पुनरावृत्ति अवश्य हुनसक्ला।