फस्टाउँदो सेकेन्ड ह्यान्ड व्यापार
चितवनका अशोक महर्जनको गाडी चड्ने इच्छा काठमाडौं अटो मोबाइल सेन्टरले पूरा गरिदियो । उनले गत महिना हुन्डाई ब्रान्डको सेकेन्ड ह्यान्ड गाडी खरिद गरेपछि उनको गाडी चढ्ने इच्छा पूरा भएको छ । वर्षौंदेखि नयाँ गाडी किनेर चढ्ने इच्छा बनाएका उनलाई साथीले थोरै मूल्यमा ब्रान्डेड गाडी चढ्न पाइने उपाय बताए । धेरैवटा सेकेन्ड ह्यान्ड गाडी पाउने सोरुममा पुगे । आफूले चाहेका गाडी खरिद गर्न उनी धेरैवटा सेकेन्ड ह्यान्ड गाडीको सोरुम पुगे । आफूलाई चित्त बुझ्ने आई ट्वान्टी कार किने । बजार मूल्यभन्दा ३५ प्रतिशत कम मूल्यमा उनको गाडी चढ्ने इच्छा पूरा भयो ।
गोठाटारका दीपक थापाले आफूले चढ्दै आएको गाडी बिक्री गरेर ल्यान्डरोभर किने । दुई वर्ष सुजुकी गाडी चढेका उनको एकाएक ल्यान्डरोभरप्रति आकर्षण बढ्यो । पछि उनलाई थोरै मूल्यमा पनि बढी मूल्य पर्ने आकर्षक गाडी किन्न सकिने थाहा भएपछि सन् २००९ मा बजारमा आएका ल्यान्डरोभर किने । ३० लाख रुपैयाँमै ६०÷६५ लाख पर्ने गाडी चढ्न पाएपछि उनी मख्ख छन् ।
बजारमा प्राय सबै ग्राहकको रोजाइमा पर्ने उक्त गाडी किनेर चड्ने इच्छा उनलाई पाँच वर्षअघि नै जागेको थियो । तर, बजेटले नभ्याएपछि उनले त्यतिबेला आँट गर्न सकेनन् । पछि मित्सुबिसी किनेर चढे । राम्रो पनि लागेको थियो । त्यतिबेला अहिले किनेका गाडीको मूल्य सेकेन्ड ह्यान्ड नै भए पनि ४५ लाखभन्दा कम मूल्यमा पाइने थिएन । सामान्य मूल्यमा आरामदायी गाडी चढ्ने इच्छा पूरा भएको छ ।
लाजिम्पाटका अरुण शाहले अमेरिकाबाट फोन गरेर उनकी श्रीमती रोशनी शाहलाई जापानी कम्पनीको सुवारु गाडी किन्न भने । पाँच वर्ष अमेरिका बसेका उनले ७० लाख रुपैयाँसम्मका गाडी किन्न भनेका थिए । श्रीमानले भनेको ब्रान्डको गाडी खरिद गर्न उनी नक्सालस्थित विजय मोटर्समा पुगिन् । त्यहाँ उनले गाडीको मूल्य बुझ्दा करोडभन्दा माथि रहेछ । हुन्डाई गाडी चढ्दै आएकी उनलाई गाडी आरामदायी लागे पनि बजेटले नभ्याउने भएपछि त्यत्तिकै छाडिदिएकी थिइन् । पछि कम्पनीले राम्रो कन्डिसनमा रहेको सेकेन्ड ह्यान्ड गाडी आएको छ, बजार मूल्यभन्दा आधा मूल्यमा भनेपछि उनले त्यहीँ गाडी खरिद गरिन् ।
बजार मूल्यभन्दा केही वर्ष पुरानो मोडल भए पनि सुवारु गाडी चढ्न पाउने भएपछि उनको एकातिर आधा बजेट बचेको छ भने अर्कोतिर फरक मोडेलको गाडी चढ्ने इच्छा पनि पूरा भएको छ । उनले भनिन्, ‘पछिल्लो समय गाडी चढ्नको नयाँ नै किन्नु पर्छ भन्ने छैन’, उनले भनिन्, ‘युज भएका गाडी बजारमा छानिछानी किन्न पाइन्छ ।’ थोरै पैसाले पनि महँगा गाडी किन्ने इच्छा पूरा गरिदिएको शाहले बताइन् ।
कम आयस्रोत भएका मध्यमवर्गीय सर्वसाधारणले गाडी चड्ने इच्छा सेकेन्ड ह्यान्ड गाडी बेच्ने कम्पनीले पूरा गरिदिएको छ । सानो बजेटबाट आफूले चाहेको ब्रान्डेड गाडी चढ्न पाउने भएपछि यसको बजार फस्टाउँदै गएको हो । सानो बजेटमा सवारीसाधन प्रयोग गर्न पाइने भएकाले सेकेन्ड ह्यान्ड सवारीसाधनको कारोबार ५० को दशकदेखि नै फस्टाउँदै आएको व्यवसायीहरू बताउँछन् ।
बाटोे विस्तार, मध्यमवर्गीय जनसंख्याको वृद्धि, रेमिटेन्सलगायत आर्थिक कारोबारबाट उपभोक्ताको आयस्रोत बढ्दै जाँदा सेकेन्ड ह्यान्ड गाडीको कारोबार विस्तार हुँदै गएको हो ।
खासगरी रिकन्डिसन बजारमा दुई वर्षको अवधिमा २५ देखि ३० प्रतिशत गाडीको मूल्य घटिसकेको हुन्छ भने पाँच वर्षपछि त गाडीको मूल्य ५० प्रतिशतले घट्छ । गाडी खरिद गरेको समय र बजारको आवश्यकताअनुसार गाडीको मूल्य फरक पर्ने व्यवसायीको भनाइ छ ।
बजार बढ्दै गए पनि रिकन्डिसन सवारीसाधनको बजारका बारेमा व्यवसायीहरू पनि त्यति जानकार छैनन् । उनीहरूका अनुसार कसैले अटो बजारभन्दा रिकन्डिसन सवारीसाधन पाँच गुणाले बढी भएको बताउँछन् । तर, पनि एउटा रिकन्डिसन हाउस तथा सेकेन्ड ह्यान्ड गाडीको सोरुमका लागि भने दुईदेखि पाँच करोडसम्म सामान्य लगानी आवश्यक पर्ने व्यवसायीहरू बताउँछन् ।
यो व्यवसायबाट राम्रो नाफा बस्ने भएपछि १२÷१५ करोड रुपैयाँ लगानी गरेर रिकन्डिसन हाउस खोल्ने व्यवसायी धेरै छन् । व्यवसायीका अनुसार करिब एक सय हाराहारीमा यस्ता सेकेन्ड ह्यान्ड गाडीका बिक्री कक्षहरू रहेका छन् भने त्यत्तिकै सम्पर्कका आधारमा पनि यस्तो व्यापार हुने गरेको छ । सम्पर्कमा व्यापार गर्दा सरकारलाई कर तिर्न नपर्ने व्यवसायीहरू बताउँछन् ।
राम्रो नाफा बस्ने भएपछि १२/१५ करोड रुपैयाँ लगानी गरेर रिकन्डिसन हाउस खोल्ने व्यवसायी धेरै छन् । एक सय हाराहारीमा सेकेन्ड ह्यान्ड गाडीका सोरुम छन् भने सम्पर्कका आधारमा पनि व्यापार हुने गरेको छ ।
तेज एन्ड करण इन्टरप्राइजेजले ३० वर्षअघि नेपालमा पहिलोपटक रिकन्डिसन गाडीको खरिदबिक्री सुरु गरेको हो ।
विश्व बजारमा गाडीका मोडेल परिवर्तन भइरहने भएकाले उपभोक्ताको इच्छा पनि परिवर्तन भइरहन्छ र उनीहरूमा नयाँ मोडेलको गाडी किन्ने चाहना हुन्छ । यसले गर्दा पनि उच्च तथा मध्यम वर्गका उपभोक्ताले छिटो छिटो गाडी परिवर्तन गर्न चाहन्छन् । त्यस्ता गाडीहरू बजारमा आउँदा कम आयस्रोत भएका उपभोक्ताको इच्छा पूरा भएको छ । गाडी फेरिरहने सौखिनहरूका लागि पनि पुरानो सवारीसाधन उचित मूल्यमा बेच्न पाउने भएकाले उनीहरूको सवारीसाधन फेर्ने सोख पूरा हुने गरेको राम्रो मोटर्सका कार्यकारी निर्देशक विशाल बथ्वालले बताए ।
फस्टाउँदै गएको रिकन्डिसन व्यवसायका कारण बजेट र रोजाइ अनुसारका सवारीसाधन किन्न पाउने अवसर सिर्जना भएको छ । रिकन्डिसन सेन्टरहरूले प्रयोग भइसकेको सवारीसाधनलाई परीक्षण एवं मर्मत गरी पुनः बिक्री गर्छन् । खासगरी सवारीसाधन गुडेको दुरी र अवस्थाका आधारमा मूल्य निर्धारण गरी गाडी किन्छन् र त्यही गाडीलाई मर्मत गरी त्यसमा केही कमिसन राखेर बिक्री गर्दै आएका छन् । यस्ता गाडी नयाँ गाडीभन्दा निकै कम मूल्यमा पाइने बथ्वालले बताए ।
सेकेन्ड ह्यान्ड बजारमा उच्च मूल्यका गाडी खरिद गर्ने ग्राहक पनि उत्तिकै भएको राम्रो मोटर्सका कार्यकारी निर्देशक बथ्वालले बताए । ‘पछिल्लो समय बजार बढ्दै गएको छ’, उनले भने ‘पहिला व्यवसाय सुरुगर्दा ५÷६ ब्रान्डका गाडीमात्र थिए ।’ अहिले डेढ दर्जन पुगेका छन् । यहीँ अनुसार बजारमा पनि नयाँ÷नयाँ मोडेलका गाडीहरू आउने गरेका छन् । उपभोक्ताको रोजाइअनुसार गाडी पाइने भएकाले पनि राम्रो मोटर्समा २० दिनभन्दा बढी गाडी नरहने उनले बताए ।
बजारमा विभिन्न ब्रान्डका गाडी छन् । तीमध्ये टोयोटा, हुन्डाई, ल्यान्डरोभर, डाइहात्सु, स्यान्ट्रो मित्सुबिसी, किया, सुजुकीलगायत गाडी बढी चल्ने गरेका छन् । बैंकले गाडीमा फाइनान्स गर्न थालेपछि गाडीको व्यापार बढ्न थालेको उनले बताए । ‘बैंकले ६/७ वर्ष पुराना गाडीलाई पनि फाइनान्स गरिदिन्छ’, उनले भने ‘फाइनान्सका हिसाबले पुरानो गाडीमा लगानी गर्न अझ सुरक्षित हुन्छ ।’
बजारमा जतिसुकै महँगा गाडी भए पनि उपभोक्ताले भने सस्तो मूूल्यका सवारीसाधन बढी रुचाउने गरेका छन् । एउटै उपभोक्ताले ८÷१० पटकसम्म गाडी परिवर्तन गरेको राम्रो मोटर्ससँग रेकर्ड भएको उनले बताए । बजार मूल्यका आधारमा यस्ता गाडीको मूल्य तोक्ने गरिन्छ ।
व्यवसायीका अनुसार समयमा गाडी सर्भिस गराए लामो समयसम्म टिक्नुका साथै खर्च पनि बचत हुने काठमाडौं अटो मोबाइल सेन्टरका सञ्चालक शैलेन्द्र श्रेष्ठले बताए । २५ वर्षअघि यस व्यवसायमा प्रवेश गरेका श्रेष्ठले ११ वर्षदेखि सेन्टर खोलेर बसेका हुन् । यो अवधिमा व्यापार राम्रो छ । व्यवसाय बढ्दै गएको छ । प्रतिस्पर्धा बढेको छ । ‘प्रतिस्पर्धाका साथै चुनौती पनि थपिएको छन्’, श्रेष्ठले भने, कतिपय अवस्थामा गाडी पास गर्नेदेखि फाइनान्सका विषयलाई लिएर झमेला आउँछ ।’ बैंकले फाइनान्स गर्दा पुराना गाडी भन्नेबित्तिकै बढी ब्याज लिन्छ । गाडी मूल्यांकनमा पनि कहिले काही समस्या आउँछ ।
प्राय बैंकहरू सेकेन्ड ह्यान्ड गाडीमा फाइनान्स नगर्ने बैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘केही बैंकले भने गाडी खरिद गरेको अवधि हेरेर कर्जा प्रवाह गर्ने गरेका छन्’, उनले भने । बैंकबाट नयाँ गाडी किन्न लिएको कर्जाको समय सीमाभित्र ऋणीले कर्जा चुक्ता गरेन भने चाहीँ यस्ता गाडी लिलाम गर्ने गरेको उनले जानकारी दिए । ‘कुल अटो लोनमा एक÷दुई प्रतिशतमात्र यस्तो अप्ठेरो पर्ने गरेको छ’, उनले भने, ‘हामीलाई लिलाम गर्छौं ।’ बंगलादेश बैंकको भने कुनै रिकन्डिसन हाउससँग यस्तो सम्झौता भएको छैन । चालू आवको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले अटो र यसका पार्टपूर्जामा २४ अर्ब १७ करोड लागनी गरेका छन् । सेकेन्ड ह्यान्ड गाडी खरिदका लागि फाइनान्स कम्पनी र सहकारीले फाइनान्स गर्ने गरेको केही व्यवसायीको भनाइ छ ।
यो विश्वासको आधारमा चल्ने व्यापार हो । त्यसैले उनको सेन्टरमा नेपालभरिकका ग्राहक आउने गरेको उनले बताए । नगद भयो भने एकै दिनमा गाडी पास हुन्छ भने फाइनान्स गर्नुपर्ने अवस्थामा १५/२० दिनसम्म लाग्ने गरेको काठमाडौं अटोे मोबाइल सेन्टरका सञ्चालक श्रेष्ठले बताए । ‘व्यवसाय सुरु गर्दा मासिक ८÷१० वटा गाडी बिक्री हुन्थ्यो’, उनले थपे, ‘अहिले व्यापार बढेर २०÷२५ वटासम्म हुने गरेको छ ।’
औपचारिक रूपमा नेपालमा पहिलो पटक त्रिपुरेश्वरमा तेज एन्ड करण इन्टरप्राइजेजले रिकन्डिसन गाडीको खरिदबिक्री सुरु गरेको हो । कम्पनीले पुरानो सवारीसाधन बिक्री गरी नयाँ सवारीसाधन किन्न चाहने र रिकन्डिसन गरिएका पुराना सवारीसाधन बिक्री गर्ने सेवा सुरु गरेको थियो । कम्पनीले ३० वर्षअघि यस्तो व्यापार सुरु गरेको हो । ५० को दशकपछि मात्र सेकेन्ड ह्यान्ड सवारीसाधनको कारोबार फस्टाएको तेज एन्ड करण इन्टरप्राइजेजका प्रोप्राइटर तेजकरण जैनले बताए ।
‘सडकको विस्तार र मध्यमवर्गीय उपभोक्ताको सवारीसाधन मोह बढ्दै गएका कारण यो व्यवसाय दिनदिनै बढ्दै गएको छ’, उनले भने, ‘थोरै पैसामा गाडी चढ्न पाएका छन् । नयाँ गाडी किन्दा बैंकको ब्याजलगायत कारणले महँगो पर्ने भएपछि उपभोक्ताको आकर्षण प्रयोग गरिएका गाडीमा परेका हुन् ।’ साखगरी नयाँ गाडी किन्दाभन्दा पुरानो गाडी किन्दा उपभोक्तालाई फाइदा हुन्छ’, उनले थपे, ‘गाडीको मूल्य थोरै अवधिमा पनि ह्वात्तै घट्छ ।’
‘अहिले सेकेन्ड ह्यान्ड गाडी र मोटरसाइकलको कारोबार धेरै फस्टाएको छ’, बानेश्वरमा वर्कसप तथा रिकन्डिसन मोटरका देसवान चौधरीले भने, ‘कम मूल्यमा सवारीसाधन पाउने भएपछि ग्राहकलाई पनि फाइदा हुन्छ हामीलाई पनि फाइदै हुन्छ ।’ सेकेन्ड ह्यान्डमा गाडी किन्न पाउनेभएपछि थोरै आयस्रोत भएका व्यक्तिको समेत सवारीसाधनमा पहुँच पुगेको उनले बताए ।
चौधरीका अनुसार रिकन्डिसनमा आफ्नो बजेट अनुसार सेकेन्ड ह्यान्ड गाडी किनेर प्रयोग गर्ने, ड्राइभिङ सिक्नेबित्तिकै केही अवधिसम्म पुरानो गाडी चलाएर हात बसाउने, त्यसपछिमात्र नयाँ गाडी किन्न चाहने उपभोक्ताहरू वर्कसपमा आउने गरेका छन् । गाडी चढ्न चाहने तर, नयाँ गाडी किन्न नसक्ने उपभोक्तालाई सेकेन्ड ह्यान्डको गाडीको कारोबारले सजिलो बनाइदिएको छ ।
पहिला व्यक्तिगत रूपमा हुने कारोबार अहिले संस्थागत र व्यवस्थित हुन थालेकाले उपभोक्तालाई फाइदा भएको उनको भनाइ छ । सेकेन्ड ह्यान्डको कारोबार बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले पनि यस्तो गाडी किन्दा वित्तीय सेवा दिन थालेका छन् ।