एन्फा निर्वाचन गर्न बाटो खुला

एन्फा निर्वाचन गर्न बाटो खुला

काठमाडौं : पटकपटक सरेर अन्योलमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यही वैशाख २२ गते हुने भएको छ। बुधबार मात्र एन्फा संस्थापन पक्षका केही पदाधिकारीले निर्वाचन विधिसम्मत नभएको भन्दै काठमाडौं जिल्ला अदालतमा दायर गरेको रिटमा बिहीबार अदालतले निर्वाचन गर्नसक्ने आदेश दिएपछि २२ गते निर्वाचन गर्नका लागि बाटो खुलेको हो।

रिटमा पक्ष र विपक्षका वलिकलको छलफलपछि काठमाडौं जिल्ला न्यायाधीश रमेशराज पोखरेलले निर्वाचन रोक्नुपर्ने कुनै कारण नभएको भन्दै एन्फा निर्वाचन २२ गते नै गर्नसक्ने आदेश दिएका छन्। काठमाडौं जिल्ला अदालतले एन्फा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको र यस विषयमा यसअघि नै पाटन उच्च अदालतले निर्णय गरिसकेकाले अन्तरिम आदेश दिनु नपर्ने ठहरसमेत गरेको छ।

एन्फा निर्वाचन समितिका संयोजक सुजित केसीले अदालतले नै निर्वाचन गर्न फुकुवा गरेकाले २२ गते एन्फाको निर्वाचन भएरै छाड्ने बताए। ‘हामीले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेका छौं। निर्वाचनका लागि जिल्ला फुटबल संघका प्रतिनिधि, विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधिसमेत आइसकेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समेत निर्वाचनको स्वीकृतिपत्र दिइसकेको अवस्था छ। अब निर्वाचन रोकेर रोक्न सकिन्न’, केसीले अन्नपूर्ण पोस्ट्सँग भने।

बुधबार मात्र २२ गतेका लागि तय भएको एन्फा निर्वाचन रोक्नका लागि विभिन्न जिल्ला फुटबल संघका पदाधिकारीले काठमाडौं जिल्ला अदालतमा निषेधाज्ञा रिट दर्ता गरेका छन्। निर्वाचन विधानसम्मत नभएकाले रोक्नका लागि संघका पदाधिकारीले रिट दर्ता गरेका थिए। काठमाडौं जिल्ला अदालतका रिट दर्ता गर्ने संघका पदाधिकारीमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, बाराका महमद समिउल्लाह, कञ्चनपुरका गणेश चन्द, कैलालीका मोहित शाह, पर्साका मानदेव हजारा, सातदोबाटो फुटबल क्लबका अशोक विष्टलगायत थिए। रिट दर्ता गर्ने सबै संस्थापन पक्षका थिए।

रिटमाथि बिहीबार निवेदकको पक्षबाट अधिवक्ता सुनिल पोखरेल, भीमार्जुन आचार्य, लक्ष्मण थपलिया, ऋषिराम घिमिरे, प्रतापसिंह ठकुरी, गोकुल भण्डारीले बहस गरेका थिए। विपक्षीका तर्फबाट हीरा रेग्मी, बिधम्भरकृष्ण पराजुली, विष्णु लुइँटेल, यज्ञराज पोखरेल, रुद्र नेपाल, सुशीलप्रसाद फुयाल, नवराज थपलिया र पुष्पराज पौडेलले बहस गरेका थिए।

एन्फाको यसअघि चैत १४ गते तय भएको निर्वाचन रोक्न भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघका पदाधिकारीले पाटना उच्च अदातलमा रिट दिएका थिए। तर, पाटन उच्च अदालतले वैशाख १२ गते रिट खारेज गरेपछि एन्फा निर्वाचन समितिले वैशाख २२ गतेका लागि निर्वाचन मिति तय गरेको थियो।

संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार मणि कुँवर समूहले मंगलबार पत्रकार सम्मेलन गरी २२ गते हुन लागेको एन्फाको निर्वाचन विधिसम्मत नहुने भन्दै निर्वाचनमा आफूहरूको सहभागिता नरहने बताएका थिए। निर्वाचन साधारणसभा बोलाउन ६० दिनको सूचना हुनुपर्ने प्रावधान भए पनि त्यो नभएको कुँवर पक्षको भनाइ थियो। निर्वाचनको दुई दिनअघि काठमाडौं जिल्ला अदालतले पुनः निर्वाचन गर्ने बाटो खुला गरिदिएपछि एन्फा निर्वाचनले सार्थकता पाउन लागेको हो। निर्वाचनका लागि फिफा, एएफसी र राखेपको स्वीकृति रहेकाले निर्वाचनले नयाँ निकास दिने अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले बताए।

एन्फा निर्वाचनका लागि अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ। आगामी चार वर्षका लागि अध्यक्ष पदमा कुँवर र शेर्पा दुईजनाको मात्र उम्मेदवारी परे पनि चार उपाध्यक्ष पदका लागि भने नौजना मैदानमा छन्। ११ सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको छ। महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितले चयन गर्ने प्रावधान छ। एन्फा चुनावमा ४५ जिल्ला, ए डिभिजनका १४, बी डिभिजनका नौ, सी डिभिजनका पाँच, महिला, रेफ्री, प्रशिक्षक र खेलाडी समितिका चार गरी ७७ मत रहेको छ। एन्फा कार्यसमितिको निर्वाचन यसअघि २०७० कात्तिकमा भएको थियो। चारवर्षे कार्यकाल गत कात्तिकमै सकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.