महोत्सव रोक्न बाणिज्य संघको बजार बन्द
मुसिकोट : रुकुम उद्योग बाणिज्य संघको आह्वानमा शुक्रबार रुकुम पश्चिमको सदरमुकाम खलंगा बजार बन्द गरिएको छ । आगामी वैशाख २७ गतेदेखि जेठ ७ गतेसम्म खलंगामा आयोजना गर्न लागिएको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव–२०७५ मा महोत्सवको उद्देश्य विपरित व्यवसायिक स्टल राखेर स्थानीय व्यापारमा असर पार्न खोजेको भन्दै बाणिज्य संघले खलंगा बजार बन्द गरेको हो । बाणिज्य संघले दिउँसो १ बजेसम्म बजार बन्द गरेको छ ।
रुकुम यातायात प्रालि, युवा सञ्जाल रुकुम र ग्राण्डी ईन्टरनेशनल होलिडेज प्रालिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । वैशाख २१ गतेदेखि सुरु गरिने भनिएको महोत्सव तयारी नपुगेका कारण एक हप्ता सारिएको आयोजक समितिका संयोजक केशव रावलले जानकारी दिए ।
रुकुम उद्योग बाणिज्य संघले व्यवसायिक महोत्सव अरुले गर्न नपाउने बताउँदै आएको छ । उनीहरुले मुसीकोट नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् ।
उता आयोजक समितिका संयोजक रावलले उद्योग बाणिज्य संघले महोत्सवमा राखिने स्टलको विरोध गर्नु सरासर सिण्डिकेट भएको आरोप लगाएका छन् । ‘यो सरासर सिण्डिकेट हो । अरुले कुनै पनि सामान सस्तोमा बेच्छु भन्दा रोक्नु सिण्डिकेटको नमुना हो ,’ रावलले भने ‘यहाँ त महोत्सव आयोजना गर्ने कुरामै सिण्डिकेट लगाउन खोजियो । तर हामी जसरी पनि महोत्सव गरेरै छोड्छौ ।’