कर्णाली यातायात संघका अध्यक्ष पक्राउ : केही व्यवसायी भारततर्फ पसे
धनगढी : दर्जन बढी बस व्यवसायी समिती रहेको प्रदेश ७ मा कैलाली प्रहरीले एकजना यातायात व्यवसायीलाई पक्राउ गरेको छ। कैलालीको कर्णाली रिभर साईड यातायात समितिका अध्यक्ष धिरज शाही पक्राउ परेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
उनलाई कर्णाली चिसापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिन्डिकेटको पक्षपोषण गर्दै सवारी साधन नचलाउने यातायात व्यवसायी संघका पदाधीकारीलाई पक्राउ गर्न गृहमन्त्रालयको कडा निर्देशन आएपछि प्रदेश नम्बर ७ भरी प्रहरी परिचालित गरिएको छ।
प्रदेशका अधिकांश समितिका पदाधीकारी फोन अफ गरेर बसेका छन। प्रहरीले पक्राउ गर्न थालेपछि कैलाली कञ्चनपुरका समितिका केही पदाधीकारी भारततर्फ भागेका छन्।
प्रदेश नम्बर ७ को कञ्चनपुरमा पवनदुत यातायात, महाकाली यातायात, कैलालीमा सुदूरपश्चिम यातायात, कर्णाली रिभरसाईड यातायात, मालिका यातायात, डडेल्धुरामा उग्रतारा यातायात र डोटीमा शैलेश्वरी यातायात गरी दर्जनौ सार्वजनिक यातायात समितिहरु रहेका छन्। चिसापानीमा पक्राउ परेका कर्णाली रिभर साईडका अध्यक्ष धिरज शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याउने तयारी भएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए।