डेढ दशकदेखि फोहोर खोज्दै हिमालमा

डेढ दशकदेखि फोहोर खोज्दै हिमालमा

काठमाडाैं :  पिके भन्छन्, ‘मेरो विशेष चासो हिमाल–सफाइमा हो।’ अन्तर्वार्ताको मध्यतिर पिके उदास देखिए। हिमालबारे निकै चिन्ता गरे। हाम्रा हिमाल हरेक दिन फोहोर हुँदै गएकामा उनलाई दिक्क लागेको थियो। हिमाल फोहोर भएको समाचारले उनमा थप चिन्ता र तनाव थपिदिँदो रहेछ।

हिमाल–सफाइ नै उनको जीवनको एक मात्र ‘सपना’ बनेको छ। सेतो हिउँमाथि फालिएका फोहोर काँधमै बोकेर उनी तलतिर झर्छन्। उनको घरमै छ– १५ बोरा फोहोर। भन्छन्, ‘फोहोर ‘डिस्पोज’ पनि त गर्न मिल्दैन नि !’ डिस्पोज गर्न नमिल्ने हिमालका फोहोर उनले आफ्नो घरमा ‘जतन’साथ राखेका छन्। हिमाल सफा गरेर सहर फोहोर पार्नुहुन्न भन्नेमा पनि सचेत छन्। त्यसैले डिस्पोज गर्न नमिल्ने फोहोर उनको घरमै छ। डिस्पोज गर्न मिल्ने फोहोरचाहिँ उनी हिमालतिरै व्यवस्थापन गर्छन्।

पिके अर्थात् पिके शेर्पा। मानवीय गतिविधिले हिमाल फोहोर भइरहन्छ। त्यही हिमाललाई डेढ दशकदेखि सफा गरिरहेका छन्– पिके शेर्पा।

पिकेको अभियान र स्वयं पिके मिडियातिर उति ‘चर्चा’ मा छैनन्। तर, पिकेमाथि प्राइभेट स्कुलमा कक्षा ७ को किताब ‘मिठो नेपाली शृंखला’मा पढाइ हुन्छ। पिके एक्लै, चुपचाप आफ्नै सपनाको बाटो ओहोरदोहोर गरिरहन्छन्।

सहरमा पिके भेटिनु आश्चर्य हुन्छ कुनै बेला। उनी मुडी छन्। रुकस्याक बोकेर हिमालतिर यायावर भई डुल्नु उनको विशेष रुचि हो। जस्तो २०१७ मा मनास्लु हिमाल पुगे र त्यताको फोहोर बोकी उनी सहर पसे।

फोहोर : एक गिफ्ट

उनलाई हिमालको माया लाग्छ। हिमाल ‘भगवान्’ हो शेर्पाहरूको। हिमाल नै हो उनीहरूको जीवनदाता पनि। त्यसैले हिमाल फोहोर भएपछि उनलाई साह्रै चित्त दुख्छ।

उनी बेलाबेला फोहोरकै प्रतिकात्मक ‘गिफ्ट’ बनाएर राज्यलाई दिन्छन्। हिमालको फोहोर ‘गिफ्ट’ दिएर हिमाल सफाइमा चनाखो बन्न राज्यलाई उनले दिएको दबाब हो यो।

उनकै नेतृत्वमा सगरमाथा, कञ्चजंघाजस्ता हिमाल र अन्य धेरै पिकमा सफाइ अभियान नै चलेको छ। यसका लागि उनी विभिन्न संघसंस्थाबाट पनि सहयोग लिन्छन्। साथीभाइ जुटाउँछन् र हिमाल सफा गर्न शिखरतिर उक्लिन्छन्।

‘हाम्रा हिमालमा मान्छे पठाएर पैसा कमाउने मात्र होइन, त्यसको सफाइमा पनि विशेष ध्यान दिनुपर्छ’ उनी भन्छन्, ‘नभए सेतो हिमालको सुन्दरता गुम्न समय लाग्दैन।’

पहिलोपटक २०१० मा हिमाल सफा गर्न हिँडेका थिए, पिके। त्यो पहिलो संस्थागत पहल थियो। त्यसो त त्यसअघि पनि हिमालतिर पुग्दा उनी फोहोर बोकेर पहाडतिर झर्थे। त्यसयता उनी दर्जनौँपटक दर्जनौँ हिमाल पुगेका छन् र फोहोर हुँदै गरेका सेता हिमालबाट बियरका सिसी, चाउचाउका खोल, कपडालगायत प्राविधिक सामग्री बटुलेका छन्।

फोहोर संकलनकै लागि उनी दुई–दुईपटक सगरमाथा र कञ्चनजंघा उक्लिए। आइसल्यान्ड पिक, लार्के पिक, मेरापिकलगायत हिमाल सफाइमा पनि उनले योगदान गरिसके।

हिमाल सफाइ कार्यक्रम गर्न केही साथीसँग मिलेर पिकेले २०१० मा ‘फ्रेन्ड्स अफ सेभ द हिमालय’ नामक संस्था खोले। यही संस्थामार्फत पिके र उनको टिमले पहिलोपटक सगरमाथा सफा गरेका थिए। उनको टोलीमा २० जना सहभागी थिए। ‘त्यतिबेला हामीसँग प्रशस्त पैसा थिएन। तैपनि, ८ हजार मिटरमाथि पुगेर हामीले सगरमाथा सफा गर्‍र्यौं’ पिके भन्छन्। त्यसबेला उनको टोलीले १८०० केजी फोहोर काठमाडौं ल्याए, डिस्पोज गर्न सकिने फोहोर हिमालमै जलाएका थिए। त्यसैबेला उनीहरूले सगरमाथामा भेटिएका दुई वटा लास हेलिकोप्टरबाट काठमाडौं पठाएका थिए। ‘हिमालबाट लास झार्न निकै कठिन हुन्छ,’ उनले भने, ‘एक जनाले मात्र बोक्न सक्दैन– ५, ६ जना लाग्नुपर्छ। संयमित भएर बोक्नुपर्छ नत्र आफ्नै ज्यान खतरामा पर्छ।’ यसरी उनी थुप्रैपटक हिमालका लासको साक्षी बनेका छन्।

पिकेको घरमै छ– १५ बोरा फोहोर। हिमालबाट बोकी ल्याएको डंगुर फोहोर उनले सुरक्षित राखेका छन्– कपनस्थित आफ्नो घरमा। के उनी फोहोरप्रेमी हुन् ?

२०१० मा सगरमाथा हीरक जयन्ती मनाइएको थियो। त्यस अवसरमा म्याराथन दौडनेलाई फोहोर बोकाएर नाम्चे पठाएका थिए। ‘एक–एक किलोको फोहोर पोको पारेर म्याराथनमा दौडिनेहरूलाई कम्मरमा बाँधिदियौँ,’ उनी सम्झन्छन्, ‘सगरमाथा बेस क्याम्पबाट उनीहरूले त्यो फोहोर नाम्चेबजारसम्म ल्याइदिए।’

हालसम्म सगरमाथाबाट मात्रै झन्डै २५ सय केजी फोहोर संकलन गरेको बताउँछन् उनी।

असलमा उनी हिमाली गाइड हुन्।

हिमाल उनका लागि उत्साह मात्र होइन, जस्तो अरू आरोहीमा हुन्छ। अरू आरोहीले हिमाल आरोहण क्रममा फालेका फोहोर व्यवस्थापनबारे उनी गाइड भएर पुगिरहँदा पनि सोचिरहेकै हुन्छन्। ‘फोहोरको डंगुर नै छ भने म एक्लैको केही लाग्दैन’, पिके भन्छन्, ‘सफा ठाउँमा अलिअलि फोहोर छरिएको छ भने ती फोहोर टिप्दै हिँड्छु। मेरो काम देखेर टुरिस्टहरू हाँसिरहेका हुन्छन्।’ त्यहाँ टिपिएका फोहोर बोकेर उनी काठमाडौं आइपुग्छन्। हिमाल चढेर सहर फर्कंदा उनका झोलामा कुनै आकर्षक वस्तु होइनन्, फोहोर मात्रै भेटिन्छन्।

टान (ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल)को आयोजनामा हुने काठमाडौं सफाइ कार्यक्रममा पनि उनी दौडिइरहेकै हुन्छन्। त्यसो त हिमाल मात्र होइन, उनको टोलीले दजनौंपटक ठमेल पनि सफा गरिसकेको छ।

जलवायु परिवर्तनमा सन्तुलन कायम राख्न हरेक व्यक्ति सजग हुनुपर्ने उनको मान्यता छ। भन्छन्, ‘जलवायु परिवर्तनप्रति सचेत बनाउन सरकारलाई फोहोरको गिफ्ट दिएका हौं।’

हराएको बालापन

ताप्लेजुङको मैया खोलामा ३५ वर्षअघि जन्मिएका थिए, पिके शेर्पा। १० जनाको परिवार। कमजोर आर्थिक अवस्था। खान लाउन पनि धौ–धौ हुने। बालककालमा उनी यस्तै परिवेशबीच हुर्किए। ‘केही जग्गा थियो तर त्यतिले वर्षमा तीन महिना पनि खान पुग्दैनथ्यो,’ उनी भन्छन्।

उनी कहिलेकाहीँ स्कुल पनि जान्थे। महिनामा एकपटक। १ घण्टाको दूरीमा थियो स्कुल। उनलाई आमाको सल्लाह थियो, ‘पढेर ठूलो मान्छे बनिँदैन। काम गर्नुपर्छ, स्कुल नजा।’ उनी घरमै बस्थे काम गरेर।

आमा बेलाबेला कुट्थिन् उनलाई। कारण ? ‘मैले धेरै खाएँ रे ! कपीमा धेरै लेखेँ रे ! चप्पल लगाएँ रे !’

बालककालका ती दृश्यको सम्झनाले उनमा उदासी थपिदिन्छ।

१३ वर्षको उमेरदेखि उनी अरूको भारी बोक्न टाढा–टाढा जान थाले। ‘जापानिजको भारी बोक्नुपथ्र्याे,’ उनले भने। भारी बोकेर हप्तौँ हिँड्थे– इलाम, पाँचथर, तेह्रथुमतिर। भारी बोकेबापत दैनिक २० रुपैयाँ पाउँथे। त्यो पैसाले सहरबाट नुन, तेल बोकेर घर पुग्थे। बाँकी पैसा आमालाई दिन्थे। पैसा पाएपछि आमा खुसी हुन्थिन्।

८ कक्षाको जिल्लास्तरीय परीक्षा दिएपछि उनी मोरङतिर हिँडे, दाइ दिदीलाई सघाउन। त्यहाँ उनका दाइ, दिदीले खेत ठेक्कामा लिएर उब्जनीको काम गरिरहेका थिए। ‘बाली एकदमै कम फल्थ्यो। साहुलाई तोकिएबमोजिम दिइसकेपछि बाँकी अन्न हामीले लिनुपथ्र्याे,’ उनले सम्झिए, ‘अलिअलि बाँकी रहन्थ्यो। त्यो बेचेर हामी घरमा पैसा लैजान्थ्यौँ।’ झन्डै डेढ वर्ष मोरङ आएर काम गरे उनले। त्यसपछि घर फर्किए।

सुदूर गाउँदेखि राजधानीसम्म

घरमा केही समय बसेपछि उनी माइलोमामाको छोरो (दाइ)सँग काठमाडौं हिँडे– पैसा कमाउन। तर, राजधानीमा दुःखका चाङ थिए, उनलाई पर्खिरहेका।

दाइले उनलाई एउटा सानो कोठामा पुर्‍याए। ‘कोठा एकदमै गन्हाएको थियो। लुगामा ढुसी नै परिसकेको थियो,’ उनी सम्झन्छन्। काठमाडौं आइपुगेको केही दिनपछि दाइ कोठामा आउन छाडे। आउँदै आएनन्। उनी आपतमा परे। खाने केही थिएन। गोजीमा ५०/६० रुपैयाँ थियो। घरबेटी पैसा माग्न आउँथे, उनलाई छटपटी हुन्थ्यो। कोठबाहिर गए हराइन्छ कि भन्ने डर थियो मनमा। १०÷१२ दिन कोठाबाटै निस्केनन्। त्यसपछि उनी बिरामी परे।

घुमाउरो बाटो र साइनबोर्ड खुबै ख्याल गरेर हिँड्न थाले उनी। जहाँबाट कोठासम्म फर्किन सक्छु भन्ने आत्मविश्वास हुन्थ्यो त्यहीँसम्म मात्र पुग्थे।

एकदिन साइँला मामाको छोरा उनलाई लिन सामाखुसीस्थित कोठैमा आइपुगे। पिकेलाई आफ्नो कोठा लिएर गए।

टर्निङ प्वाइन्ट

मामाको छोराले भारी बोक्ने काममा लगाइदिए। काठमाडौं आएको डेढ महिनापछि बल्ल काम पाएका थिए। टुरिस्टको भारी बोकेर ट्रेकिङ जानुपर्ने। ‘पैसा कमाउन काठमाडौं आइपुगेको थिएँ। त्यसैले जे गर्न पनि तयार थिएँ,’ उनले भने।

नयाँ जागिरको पहिलो दिन टुरिस्टको भारी बोकेर उनी जोमसोम सोझिएका थिए। एक महिनाको ट्रेकिङका लागि। दैनिक ८० रूपैयाँ आउँथ्यो। दोस्रोपटक उनी बेलायती नागरिकसँग लाङटाङ हिँडे– १४ दिनका लागि। दिनको सय रुपैयाँ दिने वाचा गरेका थिए, बेलायतीले। टुरिस्टहरू टिप्स पनि दिन्थे।

पैसा कमाएर घर पठाउनुपर्छ भन्ने थियो मनमा। ‘एक छाक चिउरा खान्थेँ, अर्काे छाक भात,’ भन्छन्, ‘यो ट्रेकिङ हिँड्दाको कुरा हो। सुत्नकै लागि भए पनि बेलुका त भात खानुपथ्र्याे। एक छाक नखाएपछि पैसा पनि जोगिन्थ्यो।’

उनी भारी बोकेरै मनास्लु, एभरेस्ट, अन्नपूर्ण, जोमसोमसम्म पुगे। कहिलेकाहीँ ‘बोस’ले गाली गर्थे। कहिलेकाहीँ पिट्थे। त्यसबेला उनी १६÷१७ वर्षका थिए। भारी त गाउँमै पनि बोकेकै हुन्। तर, महिनौंसम्म भारी बोकेर हिँड्नुपर्दा गाह्रो हुन्थ्यो। भारी बोक्नु छँदै थियो, हप्की खानु पनि दैनिकी बनेको थियो। जीवन दुःखै दुःखको भारी बोकेर हिँड्नुपर्ने लामो यात्रा रहेछ भन्ने निष्कर्षमा पुगेका छन् उनी।

डेढ वर्ष भारी बोकेपछि उनी गाउँ फर्किए।

गाउँमा गएर एसएलसी आउन ६ महिना बाँकी हुँदा कक्षा १० मा भर्ना भए, मास्टरको सोर्स लगाएर। ९ कक्षा नपढेको बताउँछन्। एसएलसीमा नेपाली विषयमा फेल भए। पछि पूरकमा पास भए। एसएलसीपछि उनले गाउँमै प्रौढ शिक्षा पढाए। गाउँमै काम गरे।

गाउँमा खासै कमाइ भएन। फेरि काठमाडौं हान्निए। उनकी दिदी काठमाडौंमै थिइन्। उनी गलैंचा उद्योगमा काम गर्थिन्। दिदीसँगै बस्न थाले। गलैंचा उद्योगमा काम गरे। टुरिस्टलाई ट्रेकिङमा लिएर गए। ‘अलिअलि पढाउने ज्ञान पनि भएकाले गलैंचा उद्योगमा काम गर्ने महिलालाई पनि पढाउन थालेँ,’ उनी भन्छन्।

फेरि हिमालतिरै

ट्रेकिङमा विस्तारै पाइला लम्काउँदै गए। उनको चिन्ता त हिमालमै थियो। हिमाल फोहोर भएकोमा भित्रभित्रै चिन्तित हुन्थे। हिमाल सफा गर्नुपर्छ भन्नेमा उनको विशेष ध्यान थियो। टुरिस्टलाई हिमाल चढाएर पैसा कमाउने मात्र होइन, हिमाल सफा पनि राख्नुपर्छ भन्नेमा उनको जोड थियो।

ट्रेकिङमा सँगै हिँडेका साथीलाई फोहोर उठाउन सल्लाह दिन्थे। टुरिस्टको असिस्टेन्ट गाइड भएपछि उनले उति भारी बोक्नु पर्दैनथ्यो। ‘भारी बोक्नु नपरेपछि मलाई फोहोर बोकेर हिँड्न झनै सजिलो भयो,’ उनी भन्छन्।

श्वेत हिमाल हाम्रा सान हुन्। तिनको सफाइमा ध्यान नदिने हो भने हिमाली सुन्दरता ध्वस्त हुने उनको तर्क छ।

ट्रेकिङसँगै उनले पर्वतारोहणको पनि तालिम लिए। त्यसपछि हिमाल चढ्न थाले। कहिले ‘शेर्पा’ बनेर हिमाल चढे, कहिले ‘गाइड’ बनेर। कहिले सफाइ अभियान लिएर।

धेरै खर्च हुने भएकाले एकल प्रयासमा हिमाल सफाइ अभियान चलाउन गाह्रो हुने उनको अनुभव छ। कञ्चनजंघा हिमाल सफाइका लागि उनी खर्च जोहो गर्न हिँडिरहेका छन्। ‘सबैले आफ्नो ठाउँबाट सकेजति सहयोग गर्ने हो भने यो देशलाई सुन्दर राख्न धेरै समय लाग्दैन’, उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.