५० वर्ष लागेपछि जचाउनुहोस् प्रोस्टेट
भक्तपुर : वीर अस्पतालस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहप्राध्यापक डा. अनिल श्रेष्ठले ५० वर्ष उमेर लागेपछि प्रत्येक पुरुषलाई प्रोटेस्ट (पुरुष यौन ग्रन्थी) जचाउन सुझाव दिएका छन्। उमेर बढेसँगै प्रोस्टेट बढेर पिसाब तथा मूत्र थैलीसम्बन्धी विभिन्न समस्या हुने भएकाले त्यसको जाँच गरेर समस्याबाट छुटकारा पाउन सहप्राध्यापक डा. श्रेष्ठले सुझाव दिएका हुन्।
डा. इवामुरा मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा भक्तपुर उद्योग वाणिज्य संघ र लायन्स क्लव अफ भक्तपुर समन्वय समितिको आयोजनामा शनिबार भक्तपुरमा भएको प्रोस्टेटसम्बन्धी अन्तरक्रियामा उनले भने, ‘उमेरसँगै प्रोस्टेट बढ्ने प्राकृतिक नियम नै हो। यसको वृद्धि रोक्ने कुनै औषधि छैन तर यसबाट हुने समस्या भने निराकरण गर्न सकिन्छ। त्यसैले ५० वर्ष उमेर लागेपछि प्रोस्टेट जाँच गराउनुहोस्।’
वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्टसमेत रहेका उनले मूत्रनली प्रोस्टेटको भित्र हुने भएकाले यो बढ्दा मुत्रनली च्यापिने जानकारी दिए। ‘प्रोस्टेट बढेपछि यसभित्र हुने मूत्रनली च्यापिन्छ। जसले गर्दा हामीलाई मूत्रत्याग गर्न समस्या हुन्छ’, डा. श्रेष्ठले थपे, ‘यसले प्रोस्टेटको संक्रमणदेखि क्यान्सरसम्म हुनसक्छ। मूत्रथैलीमा समेत समस्या गर्न सक्छ।’ ‘प्रोस्टेट बढे पनि केहीलाई कुनै समस्या नहुनसक्छ’, उनले भने, ‘तर समस्या हुनेलाई तत्काल उपचार गर्न सकिएन भने त्यो जतिको पीडादायी अरु हुँदैन।’
उनका अनुसार छिटोछिटो पिसाब लाग्ने, राति बढी पिसाब लाग्ने, पिसाब लागेपछि रोक्न नसकिने भए यी प्रोस्टेटको समस्याका लक्षण हुन्। त्यस्तै पिसाबको धारा मसिनो हुने, पिसाब रोकी रोकी आउने, पिसाब गर्न समस्या पर्ने तथा पिसाब फेर्दा पूरा नआई बाँकी भएको जस्तो लाग्ने लक्षण देखिए प्रोस्टेट बढेर मूत्रनली च्यापिएको हुनसक्ने उनको भनाइ छ।
‘मूत्रथैलीमा पत्थर वा संक्रमण भए पनि यस्तै लक्षण देखाउँछन्’, डा. श्रेष्ठले थपे, ‘त्यसैले प्रोस्टेटको कारण भएको हो वा मूत्रथैलीको समस्याका कारण भएको हो। उमेर बढेसँगै जाँच गराएर समाधान खोज्नुपर्छ।’
उनले प्रोस्टेट बढेकोलाई समयमै उपचार नगरिए यो क्षयरोग र क्यान्सरसम्म हुन सक्ने भएकाले समयमै सचेत हुनुपर्नेमा जोड दिए। कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योगी व्यवसायीहरुलाई काम सँगसँगै आफ्नो स्वास्थ्यको बारेमा पनि सचेत गराउन उक्त कार्यक्रम गरिएको बताए।
त्यस्तै लायन्स क्लव अफ भक्तपुर समन्वय समितिका अध्यक्ष विष्णुभक्त मारिखूले लायन्स क्लवले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको र त्यसैको निरन्तरता प्रोस्टेट सम्बन्धी अन्तरक्रिया भएको जानकारी दिए। कार्यक्रमका संयोजक एवं भक्तपुर उद्योग वाणिज्य संघका सदस्य रोशन भोयद्योले संघले प्रत्येक महिना एउटा रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने सोच बनाएको सुनाए।
विशेषज्ञ चिकित्सकसँग एकएकजना व्यक्तिले भेट्नुभन्दा सामूहिक रुपमा यसरी अन्तरक्रियात्मक कार्यक्रममा भेटे धेरै लाभदायी हुने उनको भनाइ थियो। सहभागीहरुको जिज्ञासाको जवाफसमेत दिइएको उक्त कार्यक्रममा करिब दुईसय पचासजनाको उपस्थिति थियो।