पाैडेललाई फकाउँदै नवनियुक्त पदाधिकारी
काठमाडौं : महासमिति बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध देश दौडाहा गर्ने तयारी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मनोनीत पदाधिकारीहरूले भेटेर पार्टीभित्रको समस्या छलफलका आधारमा टुंग्याउन आग्रह गरेका छन् ।
सभापति देउवाले मनोनीत गरेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार दिउँसो नेता पौडेललाई भेटी पार्टीभित्रको पछिल्ला विवाद र विधान संशोधनका लागि मस्यौदा समिति बनाउने विषयमा छलफल गरेका थिए । ‘पार्टी विधान संशोधनका लागि मस्यौदा समिति बनाउने विषयमा छलफल केन्द्रित रह्यो’, भेटपछि उपसभापति निधिले भने, ‘यो विषयमा उहाँले केही सुझाव पनि दिनुभएको छ ।’
छलफलमा वरिष्ठ नेता पौडेलले समिति बनाउँदा पार्टीको मर्म बुझेका र कानुन पनि जानेका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने राय पदाधिकारीसमक्ष दिएका थिए । त्यसैगरी, पार्टी विधान संशोधनको विषयमा जिल्ला सभापतिहरूको पनि धारणा समेटिनुपर्ने र पार्टीका विभाग गठन हुनुपर्ने भनाइ नेता पौडेलको थियो ।
पार्टी सभापति देउवाले आफूसँग कुनै सरसल्लाह नै नगरी पदाधिकारी मनोनयनमा एकलौटी गरेको भन्दै आक्रोषित नेता पौडेललाई नयाँ पदाधिकारीले भेट्नुलाई पार्टीभित्र बढ्दै गएको विवाद साम्य पार्ने प्रयत्नका रूपमा लिइएको छ । ‘पार्टी एक भएर अघि बढ्ने बेलामा कतिपय विवाद दलभित्र छलफलका आधारमा टुंग्याउन सकिन्छ’, महामन्त्री खड्काले भने, ‘कतिपय विषयमा केन्द्रीय समितिले छलफल पनि गरेको छ, यो छलफलकै प्रक्रिया हो । पार्टीलाई बलियो बनाउने कुरामा कसैको पनि दुईमत हुन सक्दैन ।’
त्यसैगरी, उपसभापति निधि, महामन्त्री खड्का र सहमहामन्त्री महतले शनिबार नै निर्वाचित महामन्त्री शशांक कोइरालालाई पनि छुट्टैैै भनेर समसामयिक राजनीति र पार्टीभित्रका विषयमा छलफल गरेका थिए । छलफलमा महामन्त्री कोइरालाले सबैलाई समेटेर अघि बढ्न र पार्टीलाई अझै क्रियाशील बनाउन नयाँ पदाधिकारीलाई सुझाव दिएका थिए । लोकतन्त्रका लागि सधैं लड्दै आएको दलले चुनावी गणितमा सफलता प्राप्त गर्न नसके पनि आफ्ना मूल्य र मान्यताबाट टाढा भाग्न नहुने तर्क महामन्त्री कोइरालाको थियो ।
नवनियुक्त पदाधिकारीहरूले फकाउन प्रयत्न गरे पनि नेता पौडेलले पार्टीभित्रको तानाशाही संस्कारविरुद्ध आफूले सधैं आवाज उठाउने प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण पोस्ट्सँग उनले भने, ‘लोकतान्त्रिक दलमा यस्तो प्रवृत्ति सह्य छैन ।’