दमक गोल्डकप : आर्मीको गोल वर्षा
दमक : त्रिभुवन आर्मी क्लब झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक दमक–११ लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
घरेलु मैदानमा दर्शकको उल्लेख्य साथ पाए पनि आयोजक दमक आर्मीसामु निरीह देखियो । आर्मीले आयोजकमाथि गोलको वर्षा नैै ग¥यो । आर्मीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा पनि तीन गोल गरेको थियो । आर्मीको जितमा स्ट्राइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरे ।
खेलको छैटौं मिनेटमै उनले आर्मीका लागि पहिलो गोल गरेका थिए । दोस्रो गोल खेलको २०औं मिनेटमा कप्तान भरत खवासले गरे । उनले दमकका गोलकिपर विकेश माझीसँगको वान भर्सेस वानको अवस्थामा गोल गरेका थिए । भरतले गोल गरेको दुई मिनेट बित्न नपाउँदै २२औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए । सुरुआतदेखि नै आक्रामक खेल पस्किएको आर्मीले दोस्रो हाफमा पनि सोही लयलाई निरन्तरता दिएको थियो ।
५३औं मिनेटमा आर्मीका लागि विमल पाण्डेले चौथो गोल गरेका थिए । त्यस्तै ६८औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गरे । खेलको ८५औं मिनेटमा नवयुगले टोलीका लागि छैटौं तथा व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए । शनिबारको खेलमा आर्मीका अगाडि आयोजक खुलेर खेल्न सकेन । आर्मीले सुरुआतदेखि नै दबाबमा राखेको आयोजक दमकका लागि खेलाडीहरूले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । घरेलु मैदानमा आयोजकले लजास्पद हार बेहोरेपछि दर्शकसमेत निराश बनेका थिए ।
शनिबारको खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । आर्मीले मनाङ मस्र्याङ्दी क्लब र सरस्वती क्लबबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्र्तगत आइतबार थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । वैशाख २८ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता छ ।