यौन धन्दा चलाएको आरोपमा होटल व्यवसायी पक्राउ
परासी : यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका होटल व्यवसायीविरुद्ध प्रहरीले मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको छ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमही बजारमा त्रिदेव रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएका देवबहादुर थापालाई प्रहरीले मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरेको हो। सुनवल नगरपालिका २ घर भएका थापामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए।
थापाकी होटल पार्टनर मध्यविन्दु नगरपालिका १२ की यमुना गुरुङ भने फरार छिन्। गुरुङलाई समेत मानब बेचबिखन तथा ओसार पसारमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ। लामो समयदेखि यौन व्यवसाय सञ्चालन गरेर सामाजिक विकृत फैलाएको भन्दै स्थानीयले विरोध गरेपछि प्रहरीले होटलमा छापा मारेर थापालाई पक्राउ गरेको हो। होटलमा छापा मार्ने क्रममा यौन व्यवसायमा संलग्न तीन युवती समेत पक्राउ परेका थिए।
१८ देखि २० वर्ष उमेर समूहका युवती बुटवल र हेटौंडाका रहेको प्रहरीले जनाएको छ। युवतीलाई माइती नेपालमार्फत अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।